लगानीकर्ताको मनोबल कमजोर हुँदै गएकाले समस्या पहिचान गरी समाधान खोजौंः अध्यक्ष श्रेष्ठ


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले क्यापिटल मार्केटको सबैभन्दा महत्वपूर्ण ड्राइभिङ फोर्स नै लगानीकर्ताको विश्वास रहेको बताएका छन् ।

आइतबार क्लिकमान्डु डटकमद्वारा प्रकाशित ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण २०८२’ अध्ययन प्रतिवेदन (क्लिकमान्डु रिसर्च) प्रतिवेदन सार्वजनिक कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको वर्तमान अवस्थामा अब समस्या पहिचान गरी समाधानतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमको सुरुवातमै क्लिकमाण्डुले यति महत्वपूर्ण विषयमा पहल गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले क्यापिटल मार्केटसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले आफू विशेष रूपमा उत्साहित भएको बताए । उनले लगानीकर्ताको विश्वास कायम राख्न तथा बढाउन विभिन्न पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मिडियालाई त्यसको प्रमुख कडीका रूपमा लिएको बताए ।

‘विशेषगरी साना लगानीकर्ताको विश्वास बढाउन मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण छ,’ उनले भने, ‘मिडियाले जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ र क्लिकमाण्डुले यस क्षेत्रमा निरन्तर सकारात्मक योगदान गर्दै आएको मैले बुझेको छु ।’

अध्यक्ष श्रेष्ठले इन्भेस्टर्स कन्फिडेन्स भन्ने विषयलाई प्रायः सेकेन्डरी मार्केटका साना लगानीकर्तासँग मात्र जोडेर हेरिने गरेको भए पनि ठूला लगानीकर्ताका लागि पनि यो उस्तै महत्वपूर्ण रहेको स्पष्ट पारे । पछिल्लो समय ठूला लगानीकर्ताहरूको समेत मनोबल घटेको उल्लेख गर्दै उनले यसको कारण जे भए पनि अब समाधान खोज्नु आजको आवश्यकता भएको बताए ।