
काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आर्थिक अपराधका घटनाहरु पनि दिनानूदिन बढिरहेका छन् । विभिन्न एप र सामाजिक सञ्जालको स्क्यामबाट करोडौं ठगिएको भन्दै प्रहरीकहाँ दैनिकजसो उजुरी पर्ने गरेको छ । उजुरी नगर्नेहरुको संख्या पनि निकै ठूलो छ । कसरी ठगी भइरहेको छ र जोगिन के गर्ने भनेर यो समाचार तयार पारिएको हो ।
घटना– १
खोटाङका सुरेश राई केही वर्षअघि मलेसिया पुगे । वैदेशिक रोजगारीको शिलशिलामा पुगेका उनी नेपालमा हुँदा सामाजिक सञ्जालमा झुम्मिरहन्थे ।
अझ विदेशमा पुगेपछि उनको सबैभन्दा नजिकको साथी मोबाइल र सामाजिक सञ्जाल बन्यो । जसले गर्दा परिवार साथीभाइहरूसँग नजिक हुने अवसर पाएका थिए।
फेसबुक चलाउँदै गर्दा एकदिन उनको फेसबुकमा जीवन राईको फ्रेण्ड रिक्वेस्ट आउँछ । उनले पनि राई दाजुभाइ ठानेर फेसबुकमा सहजै साथीको रुपमा स्वीकारेर एसेप्ट गर्छन् । केही क्षणमै जीवनले सुरेशलाई म्यासेज पठाउँछन् ।
उनीहरूको ठाउँ, परिवार र विदेश कहिले आएको भन्दै कुराकानी सुरु हुन्छ । उनीहरूको दोहोरो कुराकानी केहीदिनसम्म चल्छ ।
जीवनले सुरेशलाई कुराकानीकै सिलसिलामा सामाजिक सञ्जालबाट सहजै आम्दानी गर्न सक्ने बताउँछन् । सुरेशले पनि उत्सुकताका साथ सोधेपछि जीवनले एसएमसी एपको बारेमा जानकारी दिन्छन्।
उनले चाँसो राखेपछि जीवनले एसएसमी एप डाउनलोड गर्न लगाए । उनले लगत्तै ह्वाट्सएप ग्रुपमा जोडे गराए । उनलाई खाता खोल्न लगाए, जहाँ उनको युजर क्रियट भयो ।
युजर बनेपछि उनको एसएमसी एपमा रिचार्ज अप्सन देखियो । सुरेशले पनि नेपालस्थित सिद्धार्थ बैंकको खाताबाट ३३ हजार ८०० सय रुपैयाँ जम्मा गरे । उनलाई भिडियो हेरेबापत पैसा आम्दानी गर्न सकिने जीवनले सुनाए ।
भिडियो हेरेपछि उनको वालेटमा पैसा बढेको देखिन्छ । हप्तामा एकपटक मात्र पैसा निकाल्न पाइने बताइएको थियो सुरेशलाई। तर उनलाई जसरी पनि पैसा निकाल्नु थियो ।
पैसा निकाल्दा १० प्रतिशत कमिशन तिर्नुपर्ने बताइएको थियो । पटक-पटक पैसा निकाल्न खोज्दा १० प्रतिशत कमिशन उनले तिर्दै गए । बिस्तारै उनले कमिशन तिर्ने तर पैसा प्राप्त नगर्दा भने ठगिएको महसुस गर्न थाले ।
विभिन्न समयमा गरेर उनले ३ लाख ६ हजार ५५३ रुपैयाँ नोक्सान भएपछि आफूले ठगिएको महसुस गरे । सम्पूर्ण विवरण लिएर भोटाहिटीस्थित साइबर ब्यूरो पुग्दा भने उनले आफूलाई ठगिएको पाए।
घटना–२
वनस्थलीकी २८ वर्षीय जानुका मगरले एसएमसीमा लगानी गरिन् । साथीले सजिलै आम्दानी गर्न सकिने बताएपछि उनले ५० हजार लगानी गरिन् । एक सातामा पाँच हजार निकाल्न पाइने शर्तमा लगानी गरिन् । पैसा निकाल्दा कमिशन काटेर पाइने उनलाई पनि जानकारी दिइएको थियो ।
भिडियोको विज्ञापन क्षण-क्षणमा हेरिरहनुपर्ने र हेरेबापत बोनस बढ्ने बताएपछि उनी एसएमसीप्रति आकर्षित भइन् । लगत्तै चिनेको एजेण्टको खातामा पैसा जम्मा गरिन् । तीन सातासम्म पाँच हजारको दरले आम्दानी पनि गरिन् ।
उनी जोडिन तयार भइन् । ह्वाटसएपमा उनी पनि जोइन भइन् । त्यस ग्रुपमा उनीभन्दा अगाडि धेरै जना जोडिएको देखिएपछि उनलाई यो एसएमसीप्रति अझ बढी विश्वास जागेर आयो ।
जानुकाले साथीले भनेजस्तै एसएमसी नेपालको एपमा विज्ञापन हेरिरहन्थिन् । उनको खातामा बोनस पनि बढ्दै गयो । लगानी उक्सनेमा उनी ढुक्क थिइन् । तर, त्यसको केही सातामै उनको आशा निराशामा बदलियो । लगानीसमेत फिर्ता गर्न नसेकोमा उनी चिन्तित देखिन्थिन् । ‘चिनेको मानिसलाई विश्वास गरेर लगानी गर्दा पीडित बन्यो,’ उनले आफ्नो दुःखेसो पोखिन् ।
ब्यूरो परिसरमा भेटिएकी उनी भन्छिन्,’ तेस्रो किस्ता निकालेपछि पुनः चौथो किस्ता निकाल्न खोज्दा पैसा नपाएको र सम्पर्क गर्दा पनि वास्ता नगरेकाले आफू ठगिएको महसुस गरेँ ।’
घटना-३
ब्यूरो परिसमा भेटिएका अर्का व्यक्ति ३० वर्षीय राम लामा पनि जानुका जस्तै ठगिए । घरमा बसिरहेको बेलामा उनलाई साथीले एसएमसी डाउनलोड गर्न सल्लाह दिन्छन् । उनले साथीको लहैलहैमा लागेर एसएमसी डाउनलोड गरे ।
घरमा बसेर सजिलो पैसा कमाइने प्रलोभनमा उनले ८० हजार लगानी गरे । भिडियो हेर्ने र बोनस बढ्ने भएपछि उनी सबैभन्दा बढी त्यसैमा आकर्षित भए । बिस्तारै लगानी बढाउने शर्तमा सुरुवाती चरणमा ८० हजार जम्मा गरे ।
उनले पनि जानुका जस्तै गरेर चिनेको एजेण्टको खातामा पैसा हाले । तीन पटक गरेर ८० हजार पुर्याएका थिए ।
‘मैले पाँच पटक गरेर पाँच हजारको दरलै पैसा पाए । त्यसपछि झन् विश्वास बढ्दै गयो,’ उनले क्लिकमान्डुसँग भने, ‘अरुले पनि ह्वाटसएपको ग्रुपमा पैसा माग्दा नपाएको गुनासो गरेको देखेँ । र, मैले पनि पैसाको माग गर्दा खातामा नआएपछि आफू ठगिएको महसुस भयो ।’ जसको खातामा पैसा हालेको थिए उसैलाई उजुरी दिन आएको उनले बताए ।
त्यसैगरी, साइबर ब्यूरोको मुद्दा फाँटका एक अनुसन्धान अधिकृतले केही दिनयता सबैभन्दा बढी एसएमसीबाट पीडित हुनेहरू उजुरी लिएर आउने गरेको बताए । दैनिक जसो करिब ५० जना पीडितहरू आउने गरेको उनले जानकारी दिए ।
‘विभिन्न पेशामा आबद्ध भएका महिला, पुरूष र गृहिणी महिलाहरू यसबाट पीडित भएका छन्,’ ति प्रहरी अधिकृत भन्छन्,’ साना-साना रकमदेखि लाखौ रुपैयाँ लगानी गरेर पीडित बनेकाहरू उजुरी दिन आएका छन् ।’
उनका अनुसार ५० हजारदेखि २५ लाख रुपैयाँसम्म लगानी गरेका पीडितहरू उजुरी दिन आएका छन् । ठूला-ठूला पुँजी लगानी गर्नेहरू काठमाडौंका स्थानीय र व्यवसायीहरू पनि छन् ।
ब्यूरोले पनि सामाजिक सञ्जालबाट पीडित बनेकाहरूभन्दा पनि आर्थिक कारोबारबाट पीडित बनेकालाई प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । तीव्रताका साथ पीडितको निवेदनलाई कार्यान्वन खोजिरहेको उनको भनाइ छ ।

आर्थिक प्रलोभन ठगीको फन्दा
पछिल्लो समय साइबर ब्यूरोमा वित्तीय अपराधको घटना बढेको भन्दै दैनिक सयौं पीडितहरू पुग्न थालेका छन् । ब्यूरोका अनुसार सामाजिक सञ्जालको विभिन्न ‘एप’ बाट पीडित बनेर पुग्नेहरूको संख्या बढ्दै गएको छ । आर्थिक प्रलोभनमा परेर लाखौं रुपैयाँ गुमाएर पीडितहरू पुग्ने गरेको ब्यूरोले उल्लेख गरेको छ।
सामाजिक सञ्जालको विभिन्न एपमार्फत आर्थिक प्रलोभनमा परेर बढी पीडित हुनेहरूको संख्या बढीरहेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । अपरिचित मानिससँग संवाद र विभिन्न एप चलाएर सहजै आम्दानी गर्ने भन्ने विज्ञापनबाट आकर्षित भएपछि ठगिनेहरूको संख्या बढेको उनले बताए ।
अवस्थीका अनुसार बैंकिङ खाता, कनेक्ट आईपीएस, इमेल, इसेवा ओटीपी, फेसबुक ह्याक गरेर, इन्स्टाग्राम ह्याक गरेर, खल्ती, एसएमसी, टेलिग्राम, टिकटक, भाइबर, वीच्याट, युट्युब र ह्वाटसएप ह्याक गरेर ठगिएका पीडितहरू ब्यूरोमा आइपुग्छन् ।
‘चिठ्ठा परेको भन्दै, अपुताली थर मिलेको भन्दै सम्पत्तिमा हकदाबी गर्नेहरू, एपहरुमा लगानी लगाउने, खरिद गरेको सामान नपठादिने गरेका पनि वित्तीय अपराध सम्बन्धी निवेदन दर्ता हुन थालेको छ’ अवस्थीले भने, ‘यसरी स्क्याममा पर्नेहरूमा पुरूषहरू बढी रहेका छन् । बढी १८ देखि २५ वर्ष उमेर समूहका छन् । ठगिनेमा ६० वर्षका पनि रहेका छन् ।’
सामाजिक सञ्जालमा देखिएका विभिन्न विज्ञापनको भरमा परेर लगानी गर्दा ठगिनेहरूको बढी संख्या रहेको उनले जानकारी दिए ।
‘स्क्याममा परेर ६४ लाखसम्म ठगिएकाहरू ब्यूरोका सम्पर्कमा आएका छन्,’ साइबर ब्यूरोका प्रबक्ता अवस्थीले थपे, ‘विदेशबाट बसेर यस्ता गतिविधि गर्छन् । धेरैजसो दुवईबाट परिचालित छन् । नेपालमा खाता भएकाहरूलाई उनीहरूले प्रयोग गर्छन् । निश्चित कमिशन पाउने लोभमा परेर नेपाली युवायुवतीहरूले खाता प्रयोग गर्न दिन्छन् ।’
प्रवक्ता अवस्थीले लगानी गर्नुपर्नेमा कम्पनीको खातामा तथा चिनजान भएका मानिसहरू मात्र कारोबार गर्नुपर्ने सुझाव दिए । लगानी गर्नका लागि भनेर व्यक्तिगत खातामा कहिले पनि पैसा जम्मा गर्न नहुने उनले सुझाव दिए । उनका अनुसार सामाजिक सञ्जालमा आएका जुनसुकै लिङ्कलाई क्लिक नगर्ने, कसैले मोबाइलमा बैंकिङ कारोबारको ओटिपी माग गरेमा नदिने र आवश्यक पर्दा मात्र सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ ।
पछिल्लो समयमा काम ‘इजि मनी’मा मानिसहरूको आकर्षण बढेका कारण पनि ठगिने क्रम बढेको अवस्थीको बुझाइ छ ।
ठगिने रकम बढ्दै
ब्यूरोले गत तीन वर्षदेखि वित्तीय अपराधको मुद्दा हेर्न थालेको हो । ब्यूरोमा तीन आर्थिक वर्षसम्ममा विभिन्न सामाजिक सञ्जालको एपबाट १५ करोड, ८९ लाख २ हजार ४७८ रुपैयाँ ठगिएको मुद्दा परिसकेको छ ।
ब्यूरोले उपलब्ध गराएको तथ्यांकअनुसार प्रत्येक आर्थिक वर्षमा पीडित हुनेहरूको संख्या बढ्दो छ । आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ९४ लाख १४ हजार ८२८ रुपैयाँ । आर्थिक २०८१/०८२ मा ९ करोड २६ लाख ६९ हजार १६२ रुपैयाँ ठगि भएको छ। त्यसैगरी आर्थिक वर्व २०८२ मंसिर २ गतेसम्म सम्ममा ४ करोड अठसठ्ठी लाख १८ हजार ४८८ रुपैयाँ ठगिएको निवेदन परिसकेको छ।
‘उद्योग कारखाना नहुँदा मोबाइलबाट वित्तीय अपराध बढ्दै‘
विकसित मुलुकमा जस्तो नेपालमा रोजगारीको उपलब्धता नभएका कारण पनि मानिसहरू इजी मनितर्फ आकर्षित भएर वित्तीय अपराधमा आकर्षित भइरहेको पाइएको समाजशास्त्री डा. दिनेश प्रसाईं बताउँछन्।
मुलुकमा प्रशस्त उद्योग कलकारखाना भएका भए आपराधिक कर्ममा सरिक हुन नपाउने उनको तर्क छ । समाजमा सबैभन्दा राम्रो कुरा के हो भनेर राज्यले सधैँ मार्गनिर्देश पनि गर्नुपर्ने उनले उल्लेख गरे ।
‘दण्डहीनताले प्रश्रय पाएका र ठग्दा केही पनि हुन्न भन्ने भावना विकास भइरहँदा पनि यस्तो घटना बढिरहेको छ । सामाजिक रुपमा ठग्ने कार्यलाई सामान्य मानेकाले गम्भीर अपराधमा लागेको पाइएको छ,’ समाजशास्त्री प्रसाईंले भने,’ नियमन गर्ने निकायले कडा कारबाही गर्नुपर्छ । सामाजिक सञ्जाल के को लागि चलाइएको हो त्यसलाई बुझ्नुपर्छ । हर कुराको उद्देश्य राखेर प्रयोग गर्दा पीडित हुने सम्भावना एकदमै कम हुन्छ ।’
वित्तीय अपराध तथा साइबर अपराधबाट सुरक्षित रहन अपनाउनुहोस् यी उपाय
-अप्रत्यासित लिंक तथा चिट्ठा पर्यो भनि आएका मेल/लिंकहरूको विश्वासमा परी क्लिक नगर्ने ।
-विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भनि गिफ्ट/आइफोनको फोटो देखाए रकम माग गरेमा समेत विश्वासमा नपर्ने।
-आफ्नो गोप्य फोटो/भिडियो, तथा व्यक्तिगत जानकारी जो कोहीसँग सेयर नगर्ने।
-आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलाग्ने ।
-फेसबुकमा ‘स्पोनसर्ड’ भनि आउने अनलाईन जागिर तथा प्रलोभनको पछि नपर्ने ।
-चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी यकीन गर्ने । ह्याक भएको आईडि हुन सक्छ ।
-सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय-समयमा परिवर्तन समेत गर्ने गरौँ।
-सम्भव भएसम्म अनलाईन खाताहरूमा २ एफए वा एमएफए (मल्टि-फ्याक्टर अथेन्टिकेशन) प्रयोग गर्ने । यो भनेको पासवर्ड सँगै ओटीपी समेत हो ।
-सार्वजनिक स्थानमा उपलब्ध फ्रि वाइफाइमा बैंकिङ कारोबार वा संवेदनसिल जानकारी आदनप्रदान नगर्ने ।
-कम्प्युटर/ल्यापटपलाई समय समयमा अपडेट गर्ने, विश्वसनीय एन्टी भाइरसप्रणालीहरू प्रयोग गर्ने । जरूरी विवरण तथा डाटाहरूको नियमित ब्याकअप गर्ने ।
-बालबालिकाहरू, घर परिवारका सदस्यहरू प्रविधिको प्रयोग तथा अनलाईनमा हुन सक्ने खतराहरूको बारेमा कुराकानी गर्नुपर्छ ।








प्रतिक्रिया