अनलाइनबाट हुने ठगी ४ वर्षमा ५ हजार प्रतिशतले बढ्यो, ठगहरुले किन प्रयोग गर्छन् इ-सेवा ?



काठमाडौं । गत महिना काठमाडौंको मैतीदेवी बस्ने काजी न्यौपानेको म्यासेन्जरमा एउटा म्यासेज आयो, ‘भिनाजु, अलिक अर्जेन्ट पर्यो, मलाई १० हजार रुपैयाँ चाहिएको थियो ।’

न्यौपानेसँग उनकी सालीले आफू अस्पतालमा भएको र आफ्नो अनलाइन बैंकिङ नचलेको भन्दै इ-सेवामा १० हजार मागेकी थिइन् । म्यासेन्जरमै आएको क्युआरमा न्यौपानेले १० हजार रुपैयाँ हालिदिए । उनले नबिल बैंकबाट इ-सेवामा पैसा ट्रान्सफर गरेका थिए ।

‘बैंकको एपबाट इ-सेवाको क्युआर स्क्यान गरेर हाल्दा नाम नदेखाउने रहेछ, मैले पनि फोन नम्बर चेक नगरी पैसा हालिदिएँ,’ न्यौपाने भन्छन् ।

त्यो दिन न्यौपानेले ३ पटक गरेर ३३ हजार रुपैयाँ ट्रान्सफर गरिदिए । उनी भन्छन्, ‘सुरुमा पैसा हालेपछि उताबाट पैसा आएको छैन भनेकाले फेरि हाल्दा ३ पटकमा ३३ हजार ट्रान्सफर गरेको थिएँ ।’

पैसा नगएपछि न्यौपानेले इ-सेवामा फोन गरेर पैसा किन गएन भनेर सोधेका थिए । जवाफमा इ-सेवाका कर्मचारीले कहिले काहीँ सिस्टममा समस्या आउँदा पैसा नजाने र अर्को ट्रान्जेक्सन गर्दा जान सक्ने बताएको उनको भनाइ छ ।

३३ हजार ट्रान्सफर गरिसकेपछि भने उनलाई शंका लाग्यो । पछि पत्ता लाग्यो, उनको सालीको फेसबुक एकाउन्टमा अरु कुनै व्यक्तिको अनाधिकृत प्रवेश भएको रहेछ । र, उनले पठाएको रकम सालीको खातामा नभएर अर्कै व्यक्तिको इ-सेवाको खातामा गएको थियो । न्यौपानेले सालीलाई भनेर पैसा हालेको इ-सेवा खातावाल थिए शिव बस्याल ।

न्यौपानेले तत्कालै इ–सेवाको कार्यालयमा सम्पर्क गरेर आफूले रकम ट्रान्सफर गरेको इ-सेवा एकाउन्टलाई होल्ड गर्न र कारोबार नहुने बनाउन आग्रह गरेका थिए । तर, त्यत्ति बेलासम्म उक्त एकाउन्टबाट सम्पूर्ण पैसा निकालिएको थियो ।

‘त्यो दिन मेरो ३३ हजारसँगै अरु दुई जना आफन्तको पनि पैसा ठगिएको रहेछ । सालीको फेसबुक अरु कसैले ह्याक गरेर उसले नै आफ्नो इ-सेवामा पैसा पठाउन लगाएको रहेछ,’ न्यौपाने भन्छन् ।

आफू ठगिएको थाहा भएपछि उनले प्रहरी र इ-सेवा दुबैमा उजुरी दिए । तर, प्रक्रिया पूरा भएर ठगीएको रकम प्राप्त हुने र ठग्ने व्यक्तिलाई पक्राउ गर्ने कहिले हो भन्ने यकिन छैन । र, ती ठग पक्राउ नभएसम्म पैसा फिर्ता हुने संभावना छैन ।

न्यौपानेको घटना त प्रतिनिधि घटनामात्रै हो । दैनिक दर्जनौं यस्ता घटनाहरु भइरहेका छन् । जति जति विद्युतीय माध्यम (अनलाइन)बाट हुने कारोबार तथा प्रयोग बढ्दै गएको छ, त्यही क्रममा यो माध्यमबाट हुने ठगी पनि बढ्दै गएको छ ।

नेपाल प्रहरीमा दर्ता भएका पछिल्लो ४ वर्षका मुद्दाहरु हेर्दा यो अवधीमा ६८ करोड रुपैयाँभन्दा धेरैको रकम ठगए भएको छ । आर्थिक वर्ष २०७६/७७ देखि आव २०७९/८० को चैत्रसम्ममा ६८ करोड ३ लाख ८१ हजार ९६५ रुपैयाँ बराबरको ठगी भएको नेपाल प्रहरीले जनाएको छ ।

इसेवामा अहिले पनि २० हजारभन्दा बढी केवाइसीका आवेदनहरु पेन्डिङमा छन् । ठगहरुले आफ्नो प्लेटफर्म प्रयोग गरिरहँदा इ-सेवाले यसतर्फ कडाइ गरिरहेको देखिँदैन । जसकारण ठगहरुलाई इ-सेवाको माध्यमले ठगी गर्न सजिलो बनाएको छ । समयमै सरोकारवालाको चासो नजाने हो भने ठगीनेको संख्या दिनानुदिन बढ्ने निश्चित छ ।

४ वर्षमा ५ हजार प्रतिशतले बढ्यो अनलाइन ठगी

प्रहरीकाअनुसार आव २०७६/७७ यता आव २०७९/८० को चैत महिनासम्ममा अनलाइनबाट हुने ठगीमा ५ हजार १ सय ८२ प्रतिशतको वृद्धि आएको छ ।

आव २०७६/७७ मा कुल २८ मुद्दाहरु विद्युतीय माध्यमबाट भएको ठगीमा दर्ता भएका थिए । सो वर्ष ६९ लाख ६५ हजार ७९५ रुपैयाँको ठगी भएको थियो ।

आव २०७७/७८ मा ६० वटा मुद्दा दर्ता हुँदा २ करोड ४५ लाख ६९ हजार ३२८ रुपैयाँ ठगी भएको थियो । त्यस्तै, आव २०७८/७९ मा २८ करोड ९ लाख ४२ हजार ६८७ रुपैयाँ बराबरको ठगीका मुद्दाहरु प्रहरीकोमा दर्ता भएका थिए । उक्त आवमा कुल ६९ वटा मुद्दाहरु दर्ता भएका थिए ।

चालु आर्थिक वर्षको चैतसम्ममा भने ३६ करोडभन्दा धेरैको विद्युतीय ठगीका मुद्दाहरु दर्ता भएका छन् । आव २०७९/८० मा चैत महिनासम्म ५५ वटा मुद्दा दर्ता हुँदा ३६ करोड ७९ लाख ४ हजार १५५ रुपैयाँ बराबरको रकम ठगी भएको छ ।

विद्युतीय कारोबार तथा इन्टरनेटको पहुँच बढ्दै जाँदा यो माध्यमबाट हुने ठगी पनि बढ्दै गएको दृष्टान्त यी तथ्यांकहरुले देखाउँछन् । झन्, पछिल्लो समय विभिन्न वालेट, मोबाइल बैंकिङ, सामाजिक सञ्जालका माध्यमहरुमा सर्वसाधारणको पहुँच बढिरहेको बखत यस्ता ठगीहरु थप मौलाएका छन् ।

कुन माध्यमबाट कति भयो ठगी ? ठगहरुको रोजाइमा इ-सेवा

नेपाल प्रहरीकाअनुसार पछिल्लो चार वर्ष यता गत चैत मसान्तसम्म भएका विद्युतीय ठगीहरुमध्ये सबैभन्दा धेरै मुद्दाहरु सामाजिक सञ्जालको माध्यमबाट भएका ठगीहरुमा रहेका छन् ।

विगत चार वर्षमा २१२ वटा मुद्दाहरु दर्ता भएकामध्ये ५० वटा मुद्दाहरु सामाजिक सञ्जालको माध्यमबाट भएका ठगीहरुका रहेका छन् । सामाजिक सञ्जालबाट भएका ठगीहरुमा विगत चार वर्षमा अन्जादी रकम २ करोड ८५ लाख ५३ हजार ४४५ रुपैयाँको ठगी भएको छ ।

सामाजिक सञ्जालको माध्यमबाट कुनै प्रयोगकर्ताको एकाउन्टमा अनाधिकृत प्रयोग गरेर रकम असुल्ने किसिमले ठगी भइरहेको छ । यसरी सामाजिक सञ्जालको माध्यमबाट हुने ठगीको रकम पनि बढी मात्रामा इ-सेवा (डिजिटल वालेट)को माध्यमबाट ठगी हुने गरेको देखिन्छ । नेपाल प्रहरीका एक अधिकारीकाअनुसार कुनै अनाधिकृत व्यक्तिले अरु कसैको फेसबुकमा प्रवेश गर्दै आफन्त तथा साथीभाई सँग पैसा माग्ने र इ-सेवा वालेटमा त्यस्तो रकम पठाउन लगाउने गर्छन् ।

‘इ-सेवामा केवाईसी भेरिफाई गर्न पनि सजिलो हुने रहेछ,’ ती प्रहरी अधिकारीले भने, ‘नक्कली नागरिकतादेखि अरु कसैको फोटोकै आधारमा पनि केवाईसी भेरिफाईड हुने भएकाले धेरैले सामाजिक सञ्जालबाट हुने ठगीको रकम लिन इ-सेवाको प्रयोग गरेको देखिन्छ ।’

‘इ-सेवामा केवाईसी भेरिफाई गर्न पनि सजिलो हुने रहेछ,’ ती प्रहरी अधिकारीले भने, ‘नक्कली नागरिकतादेखि अरु कसैको फोटोकै आधारमा पनि केवाईसी भेरिफाईड हुने भएकाले धेरैले सामाजिक सञ्जालबाट हुने ठगीको रकम लिन इ-सेवाको प्रयोग गरेको देखिन्छ ।’

सामाजिक सञ्जालबाट हुने ठगीमा इ-सेवाजस्ता वालेटको प्रयोग बढ्ने मात्रै होइन, विद्युतीय वालेट (डिजिटल वालेट)हरुको प्रयोग बढ्दै जाँदा यस्ता माध्यमबाट हुने ठगीहरु पनि मौलाएका छन् । हाल इसेवा, फोनपे, खल्तीजस्ता विभिन्न डिजिटल वालेटहरु नेपालमा प्रचलित छन् । यस्ता माध्यमहरुबाट विगत चार वर्षमा ठगी भएको भन्दै ४५ वटा मुद्दाहरु नेपाल प्रहरी कहाँ दर्ता भएका छन् । जसमा ५२ लाख ३९ हजार ४८६ रुपैयाँको ठगी भएको छ ।

त्यस्तै, अनलाइन बैंकिङ ठगीका मुद्दाहरु २२ वटा रहेका छन् । चार वर्षमा यस्तो ठगीबाट ६७ लाख ४९ हजार ९९८ रुपैयाँको ठगी भएको छ ।

अनलाइन सपिङको माध्यमबाट हुने ठगीहरु पनि ठूलो संख्यामा भएका देखिन्छन् । चार वर्षमा दर्ता भएका २१ मुद्दाहरुमा ६२ लाख १४ हजार ५६५ रुपैयाँको ठगी भएको छ।

त्यस्तै, चिठ्ठा परेको भन्दै गरिने ठगी (लटरी फ्रड)का २५ मुद्दाहरु विगत चार वर्षमा दर्ता भएका छन् । जसमा १ करोड २४ लाख ३ हजार ३१५ रुपैयाँको ठगी भएको छ ।

त्यस्तै, पहिचान चोरेर हुने ठगी (आईडेन्डिटी थेफ्ट फ्रड)को एउटा मुद्दा विगत चार वर्षमा दर्ता भएको छ । जसमा ४३ हजार २० रुपैयाँको ठगी भएको छ । त्यस्तै, स्पामबाट भएको ठगीको एउटा मुद्दा दर्ता हुँदा ५४ लाख १० हजार रुपैयाँ ठगी भएको छ भने स्क्याम किसिमको ठगीमा ७ मुद्दा दर्ता हुँदा ९४ लाख २२ हजार ४२५ रुपैयाँको ठगी भएको छ ।

फिसिङका ४ मुद्दाहरु विगत चार वर्षमा दर्ता भएका छन् । यसमा कुल १० लाख ७३ हजार रकम ठगी भएको छ ।

त्यस्तै, अन्य किसिमका अनलाईन ठगीका ३६ मुद्दाहरु विगत चार वर्षमा दर्ता भएका छन् । जसमा कुल ६० करोड ५२ लाख ७२ हजार ७११ रुपैयाँ रकम ठगीको नेपाल प्रहरीको तथ्यांकमा देखिन्छ ।

प्रयोगकर्तादेखि सेवाप्रदायकको लापरबाहीले बढ्दै ठगी

पछिल्लो समय विद्युतीय ठगी मौलाउँदै जानुमा प्रयोगकर्तादेखि सेवाप्रदायकहरु पनि उत्तिकै जिम्मेवार देखिन्छन् ।

‘प्रयोगकर्ताहरु अलिकति शिक्षित नभएकै हो । सतर्क नभएकै हो । यस्तो ठगीको विषयलाई लिएर लटरी पर्यो भनेर कसैलाई विश्वास गर्नु, कुनै लिंकमा थिच्नु, कसैलाई विश्वास गरेर रकम पठाउनु भनेको प्रयोगकर्ताको कमजोरी पनि हो,’ नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक कुबेर कडायत भन्छन् ।

अर्कातिर, विभिन्न विद्युतीय वालेटका सेवाप्रदायकहरुले पनि ‘केवाईसी (नो योर कस्टुमर)’ प्रमाणिकरणमा ध्यान नदिँदा जो सुकैले एकाउन्ट खोल्न मिल्नेजस्ता कुराहरुले पनि ठगी बढि भइरहेको छ । सामाजिक सञ्जालमै खुलम खुल्ला इ–सेवाका आईडीहरु प्रमाणिकरण हुने भन्दै विज्ञापन र नागरिकतासहितका फोटोहरु पोस्ट भइरहँदा पनि सेवाप्रदायक निकायहरु मौन देखिन्छन् ।

जो सुकै व्यक्तिले पनि नक्कली नागरिकता बनाएर वा अरु कसैको जानकारीको आधारमा एकाउन्ट खोल्नेजस्ता क्रियाकलापहरु भइरहँदा डिजिटल वालेटको माध्यमबाट ठगी हुने क्रम बढ्दै गएको छ । इ-सेवाजस्ता सेवाप्रदायकहरुले केवाईसी प्रमाणीकरणको विषयमा कडाई नगर्दा ठग्ने व्यक्तिहरुले पनि यो माध्यमहरुको प्रयोग गरिरहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता कडायतकाअनुसार अनलाइनबाट हुने ठगीको विषयलाई लिएर प्रहरीदेखि अन्य निकायहरुले समेत चेनतामुलक कार्यक्रम चलाइरुहेका छन् । तर, पनि प्रयोगकर्ताहरु सतर्क नहुँदा यस्ता घटनाहरु बढिरहेको उनी बताउँछन् ।

‘यसलाई न्यूनिकरण गर्ने भनेको प्रयोगकर्ता सतर्क र सजक हुने हो’, उनी भन्छन्, ‘आफूले कुनै लिंकहरु खोल्न भएन, नचिनेको व्यक्तिले केही भनेमा गर्नु भएन, सामाजिक सञ्जाल चलाउँदा सतर्क हुन पर्छ । प्रहरीदेखि अन्य निकायले पनि सतर्कताका लागि कार्यक्रमहरु चलाइरहेको छ । यसतर्फ ध्यान दिनुपर्छ । कसरी ठगी भइरहेको छ, कुन कुन माध्यमको प्रयोग भइरहेको छ भन्ने जस्ता कुराहरुमा ध्यान दिएर प्रयोगकर्ता नै सतर्क हुनुपर्छ ।’

कडायतकाअनुसार अनलाइनबाट भएको ठगीमा रकम फिर्ता हुने वा ठग्ने व्यक्तिहरु पक्राउ हुने विषय पनि गाह्रो विषय हो । उनकाअनुसार नेपालबाटै भएका ठगीहरुमा व्यक्तिलाई पक्राउ गर्न केही सहज भएपछि नेपालबाहिरबाट भएको ठगी छ भने त्यसलाई पत्ता लगाउन केही गाह्रो हुन्छ ।

‘नेपालबाटै संलग्न भएका वा नेपालबाटै ठगी गरिएको भएमा रकमहरु फिर्ता पनि भएको छ,’ उनी भन्छन्, ‘तर, नेपालबाहिरबाट गरिएको छ भने अलिक समय लाग्ने र गाह्रो हुन्छ । कुनै नेपालकै व्यक्तिलाई बाटो वा माध्यम बनाएर विदेशको मान्छेले काम गराएको हुन्छ । उनीहरुलाई पनि थाहा हुँदेन । यस्तो केसमा पैसा फिर्ता हुन पनि गाह्रो हुन्छ।’

सँगै कतिपय अवस्थामा ठग्नेले इ-सेवाजस्ता डिजिटल वालेटमा पैसा पठाउन लगाउने र त्यो पैसा पठाएको एकाउन्ट नै नक्कली कागजातको आधारमा केवाईसी प्रमाणिकरण गरि खोलिएको हुने हुँदा रकम फिर्ता हुने र ठग्ने व्यक्ति पक्राउ पर्ने सम्भावना पनि कम रहने गरेको छ ।

इसेवामा अहिले पनि २० हजारभन्दा बढी केवाइसीका आवेदनहरु पेन्डिङमा छन् । गठहरुले आफ्नो प्लेटफर्म प्रयोग गरिरहँदा इ-सेवाले यसतर्फ कडाइ गरिरहेको देखिँदैन । जसकारण ठगहरुलाई इ-सेवाको माध्यमले ठगी गर्न सजिलो बनाएको छ । समयमै सरोकारवालाको चासो नजाने हो भने ठगीनेको संख्या दिनानुदिन बढ्ने निश्चित छ ।


युवराज भट्टराई