१५ करोड लिन प्रशासनिक गोलचक्कर भोग्दै धुर्मुस, कहिले भरतपुर पुग्नुपर्छ त कहिले सिंहदरबार

1.5k
Shares

काठमाडौं । भरतपुरमा बनिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्बन्धमा सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १५ करोड रुपैयाँ भुक्तानी प्रक्रिया झन् जटिल बन्दै गएको छ । पुल्चोक इञ्जिनियरिङ कलेज (इन्जिनियरिङ अध्ययन संस्थान) को प्राविधिक मूल्यांकन पूरा भइसके पनि प्रशासनिक ढिलासुस्ती र एकपछि अर्को कार्यालय जानु पर्ने कारण धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ निरन्तर काठमाडौं-भरतपुर-काठमाडौं धाउन बाध्य भएका छन् ।

असार मसान्तमै संघ सरकारले रंगशाला निर्माणका क्रममा भएको उधारो तिर्न १५ करोड रुपैयाँ छुट्याएर भरतपुर महानगरपालिकाको खातामा पठाइसकेको धुर्मुसका भाइ कुमार कट्टेलले बताएका छन् । तर, भरतपुर महानगरले अर्थ मन्त्रालयको कार्यादेश चाहिने भनेर भुक्तानी दिएन ।

‘पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको मुल्यांकनको आधारमा सिर्जित सम्पत्ति खरिद भनेर केन्द्रीय सरकारले १५ करोड रुपैयाँ छुट्ट्यार भरतपुर महानगरपालिकाको खातामा असार मसान्तमा उक्त रकम आइसकेको छ,’ कट्टेलले भनेका छन्, ‘पुल्चोकले कात्तिक ११ गते भरतपुरमा रिपोर्ट पेस भएपछि धुर्मुस दाइ चितवन पुगेर दायित्व भुक्तानी गर्दिनु भन्दा अर्थ मन्त्रालयको कार्यनिर्देश चाहिन्छ भन्यो ।’ भरतपुरका प्रमुख प्रशासकीय अधिकृतले अल्झाएपछि धुर्मुस् अर्थ मन्त्रालय पुगेर पत्र लिएर भरतपुर पुगे । तर, भरतपुरले पुनः युवा तथा खेलकुद मन्त्रालय लाई आवश्यक सुझाव भनेर पत्र थमाएको कुमार बताउँछन् ।

बिरामी अवस्थामा रहेका धुर्मुस अहिले भरतपुरको पत्र लिएर युवा तथा खेलकुद मन्त्रालय पुगेका छन् । उनले खेलकुद मन्त्रीलाई भरतपुरको पत्र बुझाएका छन् ।

प्रतिवेदन बुझाइ सकेपछि धुर्मुसले महानगर पुगेर अब भुक्तानी दिनुपर्छ भन्दा प्रमुख प्रशासकीय अधिकृतले अर्थमन्त्रालयको कार्यादेश चाहिने र अहिले खेलकुद मन्त्रालयलाई पत्र लेख्नुपर्छ भन्दै पैसा नदिएको कुमारको आरोप छ ।

पुल्चोक इन्जिनियरिङ कलेजका सहायक डीन सह–प्राध्यापक डा. सुरज लामिछानेको नेतृत्वमा तयार गरिएको प्रतिवेदन अनुसार रंगशालामा भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँ बराबरको काम भइसकेको छ । रिपोर्टमा नमूना मैदान, कालोमाटो ढुवानी, दुबो रोपाइँ, मौज्दात सामग्री र स्क्राप मूल्यजस्ता मूल्यांकनमा समावेश नभएकाले वास्तविक भौतिक काम ६० करोडभन्दा माथि पुग्ने निष्कर्ष छ ।

फाउन्डेसनले सुरुवातदेखि हालसम्म ६३ करोड रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।

३८ करोड रुपैयाँ सरकारी तथा गैरसरकारी सस्थासँगै जनस्तरबाट सहयोग उठेको फाउन्डेसनको अडिट रिपोर्टमा उल्लेख छ । धुर्मुसले रंगशाला निर्माणका क्रममा १८ करोड ऋण लागेको भन्दै सरकारसँग तिरिदिन आग्रह गर्दै आएका छन् ।

३ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा धुर्मुसले ६३ करोड रुपैयाँ खर्च गर्दै काम छाडेका थिए ।

सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनको उधारो तिर्न १५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ, जसको अख्तियारी महानगरपालिकामा पुगेको छ ।

पुल्चोक इन्जिनियरिङ कलेज, फाउण्डेसन र भरतपुर महानगरबीच भदौ १६ गते प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय सम्झौता भएको थियो ।

महानगरपालिकाको लेखा परीक्षणमा भने रंगशालामा कुल ५७ करोड ९२ लाख ८५ हजार खर्च भएको देखिन्छ, जसमा १८ करोड ४३ लाख उधारो बाँकी छ । तर सरकारले भुक्तानीका लागि १५ करोड मात्र छुट्याएको छ ।

फाउण्डेसनले सबैभन्दा ठूलो उधारो चितवन रेडिमिक्सलाई ३ करोड ४७ लाख, हामा स्टिललाई २ करोड २ लाख, जगदम्बा इन्टरप्राइजेजलाई २ करोड ३५ लाख र विशेष एन्ड को प्रालिलाई २ करोड १५ लाख तिर्नुपर्ने जनाएको छ ।

केही सप्लायर्सले रकम नपाएको भन्दै धुर्मुसविरूद्ध अदालतमा मुद्दा पनि दायर गरेका छन् । पञ्चकन्या स्टिलले कम्पनीबाट लिएको छडको रकम नदिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । कम्पनीले मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी नपाएको उल्लेख गरेको छ ।

रंगशाला निर्माणका लागि विभिन्न स्रोतबाट ३२ करोड रुपैयाँभन्दा बढी सहयोग जुटाइएको थियो । भरतपुर महानगरले ८ करोड ५ लाख, अन्य सरकारी निकायबाट ११ करोड ७४ लाख, मेची–महाकाली अभियानबाट १ करोड ९ लाख, महायज्ञबाट ९ करोड ४१ लाख, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत ११ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ ।

खर्चतर्फ निर्माण सामग्रीमा ४९ करोड ६० लाख, अन्य सामग्री खरिदमा २ करोड २२ लाख, डिजाइन तथा परामर्शमा २ करोड ५४ लाख र व्यवस्थापनमा ३ करोड ४२ लाख खर्च भएको विवरणमा उल्लेख छ।

रंगशालाको प्राविधिक मूल्यांकन विभिन्न ६ निकायले गरिसकेका छन् । भरतपुर महानगरको अडिटले ५७ करोड ९२ लाख बराबरको काम देखाएको छ भने सघन सहरी तथा भवन निर्माण आयोजनाको प्रतिवेदनले ६३ करोड २२ लाख बराबरको भौतिक काम देखाएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले ३९ प्रतिशत काम सकेपछि २०७८ साउन २२ गते बजेट अभावमा काम रोकेको थियो । ३० हजार दर्शक क्षमताको सो रंगशालाको ३ हजार दर्शक बस्ने प्याराफिट फाउण्डेसनले बनाइसकेको छ।

फाउण्डेसनले २०७८ पुस २ गते महानगरलाई स्वामित्व लिन पत्र पठाएको थियो। त्यसपछि महानगरपालिकाले स्वामित्व लिई ठेक्का प्रक्रियामार्फत बाँकी निर्माण कार्य अघि बढाइरहेको छ।

कहाँ पुग्यो रंगशाला निर्माण ?

२०७८ साउन २२ गते रंगशाला निर्माणको काम रोकिएको छ । त्यतिखेरसम्म निर्माणको काम करिब ३९ प्रतिशत सकिएको फाउण्डेशनको दाबी छ । स्रोत जुटाउन नसकेपछि धुर्मुस-सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते भरतपुर महानगरपालिकालाई पत्र पठाएर निर्माणको स्वामित्व लिइदिन आग्रह गरेको थियो ।

गत कात्तिक २३ गतेको मन्त्रिपरिषदको बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सहकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको कार्य सुरु गरेको छ ।

भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उनले टावरको वाल निर्माण गर्ने कामसमेत भइरहेको बताए । उनका अनुसार टावर तीन तलाको हुनेछ ।

ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उनले बताए ।

धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का लगाइएको महानगरले जनाएको छ ।

पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुई वटा भिआइपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने छ । थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।

त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । यो भरतपुर महानगरपालिका–१५ मा पर्दछ । अन्तरराष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी रङ्गशाला निर्माण भइरहेको हो ।