रंगशालामा धुर्मुस-सुन्तलीले दाबी गरे बराबर नै सरकारी मूल्यांकन रिपोर्ट पेस

3.9k
Shares

चितवन । धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा करिब ६० करोड रुपैयाँ बराबरको काम भएको त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजको प्राविधिक मूल्यांकनको रिपोर्टले देखाएको छ ।

सहायक डीन सहप्राध्यापक डा. सुरज लामिछानेको नेतृत्वको समितिले भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँ बराबरको काम भएको निष्कर्ष निकालेको हो । उक्त रिपोर्ट भरतपुर महानगरपालिकामा पेस भइसकेको छ ।

रिपोर्टमा नमूना मैदान, कालोमाटो ढुवानी, दुबो रोपाइँ, मौज्दात सामग्री र स्क्राप मूल्यजस्ता केही रकम समावेश नभएको उल्लेख गरिएको छ । यी वस्तुहरुको मूल्यसमेत जोड्दा फाउण्डेसनले ६० करोडभन्दा बढीको भौतिक काम गरिसकेको छ ।

फाउन्डेसनले महानगरलाई रंगशाला हस्तान्तरण गर्दा ६३ करोड रुपैयाँ खर्च भएको बताएको थियो । त्यस्तै ३८ करोड रुपैयाँ सरकारी तथा गैरसरकारी सस्थासँगै जनस्तरबाट सहयोग उठेको फाउन्डेसनको अडिट रिपोर्टमा उल्लेख छ । धुर्मुसले रंगशाला निर्माणका क्रममा १८ करोड ऋण लागेको भन्दै सरकारसँग तिरिदिन आग्रह गर्दै आएका छन् ।

३ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा धुर्मुसले ६३ करोड रुपैयाँ खर्च गर्दै काम छाडेका थिए ।

सरकारले चालु आर्थिक वर्षमा फाउण्डेसनको उधारो तिर्न १५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ, जसको अख्तियारी महानगरपालिकामा पुगेको छ ।

पुल्चोक इन्जिनियरिङ कलेज, फाउण्डेसन र भरतपुर महानगरबीच भदौ १६ गते प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय सम्झौता भएको थियो ।

महानगरपालिकाको लेखा परीक्षणमा भने रंगशालामा कुल ५७ करोड ९२ लाख ८५ हजार खर्च भएको देखिन्छ, जसमा १८ करोड ४३ लाख उधारो बाँकी छ । तर सरकारले भुक्तानीका लागि १५ करोड मात्र छुट्याएको छ ।

फाउण्डेसनले सबैभन्दा ठूलो उधारो चितवन रेडिमिक्सलाई ३ करोड ४७ लाख, हामा स्टिललाई २ करोड २ लाख, जगदम्बा इन्टरप्राइजेजलाई २ करोड ३५ लाख र विशेष एण्ड को प्रालिलाई २ करोड १५ लाख तिर्नुपर्ने जनाएको छ ।

केही सप्लायर्सले रकम नपाएको भन्दै अदालतमा मुद्दा पनि दायर गरेका छन् । पञ्चकन्या स्टिलले कम्पनीबाट लिएको छडको रकम नदिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो । कम्पनीले मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी नपाएको उल्लेख गरेको छ ।

रंगशाला निर्माणका लागि विभिन्न स्रोतबाट ३२ करोड रुपैयाँभन्दा बढी सहयोग जुटाइएको थियो । भरतपुर महानगरले ८ करोड ५ लाख, अन्य सरकारी निकायबाट ११ करोड ७४ लाख, मेची–महाकाली अभियानबाट १ करोड ९ लाख, महायज्ञबाट ९ करोड ४१ लाख, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत ११ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ ।

खर्चतर्फ निर्माण सामग्रीमा ४९ करोड ६० लाख, अन्य सामग्री खरिदमा २ करोड २२ लाख, डिजाइन तथा परामर्शमा २ करोड ५४ लाख र व्यवस्थापनमा ३ करोड ४२ लाख खर्च भएको विवरणमा उल्लेख छ।

रंगशालाको प्राविधिक मूल्यांकन विभिन्न ६ निकायले गरिसकेका छन् । भरतपुर महानगरको अडिटले ५७ करोड ९२ लाख बराबरको काम देखाएको छ भने सघन सहरी तथा भवन निर्माण आयोजनाको प्रतिवेदनले ६३ करोड २२ लाख बराबरको भौतिक काम देखाएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले ३९ प्रतिशत काम सकेपछि २०७८ साउन २२ गते बजेट अभावमा काम रोकेको थियो । ३० हजार दर्शक क्षमताको सो रंगशालाको ३ हजार दर्शक बस्ने प्याराफिट फाउण्डेसनले बनाइसकेको छ।

फाउण्डेसनले २०७८ पुस २ गते महानगरलाई स्वामित्व लिन पत्र पठाएको थियो। त्यसपछि महानगरपालिकाले स्वामित्व लिई ठेक्का प्रक्रियामार्फत बाँकी निर्माण कार्य अघि बढाइरहेको छ।

कहाँ पुग्यो रंगशाला निर्माण ?

२०७८ साउन २२ गते रंगशाला निर्माणको काम रोकिएको थियो । त्यतिखेरसम्म निर्माणको काम करिब ३९ प्रतिशत सकिएको फाउण्डेशनको दाबी छ । स्रोत जुटाउन नसकेपछि धुर्मुस-सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते भरतपुर महानगरपालिकालाई पत्र पठाएर निर्माणको स्वामित्व लिइदिन आग्रह गरेको थियो ।

गत कात्तिक २३ गतेको मन्त्रिपरिषदको बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सहकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको कार्य सुरु गरेको छ ।

भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उनले टावरको वाल निर्माण गर्ने कामसमेत भइरहेको बताए । उनका अनुसार टावर तीन तलाको हुनेछ ।

ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उनले बताए ।

धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का लगाइएको महानगरले जनाएको छ ।

पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुई वटा भिआइपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने छ । थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।

त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । यो भरतपुर महानगरपालिका–१५ मा पर्दछ । अन्तरराष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी रङ्गशाला निर्माण भइरहेको हो ।