ट्रम्पको झुकाइ, सीको चिसो व्यवहारः शिखरवार्ताको उपलब्धि के ? (भिडियो)

7
Shares

काठमाडौं । दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच लामो समयदेखिको व्यापार तनाव कम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच दक्षिण कोरियाको बुसानमा करिब डेढ घण्टा भेटवार्ता सम्पन्न भएको छ ।

बैठकमा दुवै पक्षका प्रतिनिधिहरूले पहिले नै धेरै विषयमा सहमति बनाइसकेकाले औपचारिक हात मिलाउने र बयान जारी गर्ने कार्यमा बैठक केन्द्रित रह्यो । तर, ट्रम्पसँग हात मिलाउँदा सीको चिसो व्यवहार र वार्तापछि पत्रकार सम्मेलन नगर्नुले दुवै देशबीचको सम्बन्ध अझै सावधान मुद्रामा रहेको सङ्केत गर्छ ।

वार्ताको मुख्य विषय दुईवटा रहे — भन्सार शुल्क र दुर्लभ खनिज पदार्थ । फेन्टानाइल नामक रासायनिक पदार्थको नियन्त्रणमा चीनले ठोस कदम चाल्ने प्रतिबद्धता जनाएपछि अमेरिकाले चिनियाँ वस्तुमाथिको भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याएको ट्रम्पले घोषणा गरे । चीनले पनि अमेरिकाविरुद्धका अन्य व्यापारिक प्रतिबन्धलाई क्रमशः सहज बनाउँदै लैजाने जनाएको छ ।

दुर्लभ खनिज पदार्थको विषयमा पनि दुवै नेताबीच आंशिक सहमति बनेको बताइएको छ । चीनले निर्यातमा लगाएको प्रतिबन्धलाई एक वर्षका लागि खुकुलो बनाउने निर्णय गरेको छ, जसले अमेरिकी उद्योग, विशेषगरी सेमीकन्डक्टर र विद्युतीय गाडी क्षेत्रलाई राहत दिनेछ । यस कदमलाई चीनले आफ्नो सेमीकन्डक्टर उद्योगलाई प्रतिस्पर्धाको वातावरणमा टिकाइराख्ने रणनीति पनि मानेको छ ।

विश्लेषकहरूले यस अवस्थालाई आर्थिक डिटरेन्सको रूपमा व्याख्या गरेका छन् । जसरी शीतयुद्धका समयमा आणविक हतियारले युद्ध रोकेका थिए, त्यस्तै अब भन्सार शुल्क र दुर्लभ खनिज पदार्थले आर्थिक सन्तुलन कायम राख्नेछन् ।

ट्रम्प प्रशासनले जापान र अस्ट्रेलियासँग पनि दुर्लभ खनिज आपूर्ति शृङ्खलामा सहकार्य बढाउने प्रयास गरिरहेको छ, जबकि चीनले अमेरिकी बजारमा निर्भरता घटाउन विविधीकरणको बाटो लिँदैछ । दुवै देशले आ–आफ्नो आर्थिक सुरक्षालाई मजबुत पार्दै अस्थायी स्थिरताको चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।