
काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिकाको बैठकमा गत भदौ २३ र २४ गते भएका आगजनी घटनामा समयमा दमकल परिचालन गर्न नसकिएको विषय उठेको छ ।
मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा वडाध्यक्षहरूले राजधानीका महत्त्वपूर्ण प्रशासनिक भवनहरू जलेर खरानी हुँदा पनि महानगर निष्क्रिय बनेको भन्दै गुनासो गरेका छन् ।
वडा नम्बर २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले बैठकको एजेन्डामा सो घटनाको विषय समावेश नभएकोमा आपत्ति जनाउँदै खेद प्रस्ताव समेत राखे । ‘देशभर क्षति भयो, तर प्रभाव सबैभन्दा बढी काठमाडौंमा रह्यो,’ उनले भने, ‘धेरै सम्पदा जलेर खरानी हुँदा हामी टुलुटुलु हेरेर बस्न बाध्य भयौँ । हामी पनि सुरक्षित थिएनौँ, डराएको जस्तो अवस्था थियो । हत्या, हिंसा, लुटपाट र आगजनीप्रति खेद व्यक्त गर्नुपर्छ ।’
त्यस्तै वडा नम्बर ७ का वडाध्यक्ष विमलकुमार होडाले पनि बैठकमा मृतकप्रति श्रद्धाञ्जली र सम्पदाको विनाशप्रति भर्त्सना समेत नगरेको भन्दै असन्तुष्टि जनाए । ‘यत्रो ठूलो घटना भयो, तर बैठकको एजेन्डामा केही छैन । मृतकलाई श्रद्धाञ्जली र विध्वंसप्रति आपत्ति जनाउने कुरा समेत भएन,’ उनले प्रश्न गरे ।
वडाध्यक्षहरूले आगजनीका बेला महानगरको दमकल समयमै नपुगेको भन्दै पनि आलोचना गरेका छन् । उनीहरूको भनाइमा, रेकर्डअनुसार दमकल समयमै निस्किए पनि ठूला क्षति भइसकेपछि मात्रै घटनास्थलमा पुगेको थियो ।








प्रतिक्रिया