
काठमाडौं । केही उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम तिरेका छन् ।
विद्युत् उपयोग गरेका उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई किस्ता बुझाउन थालेका छन् ।
सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले बक्यौता रकमको किस्ता बुझाएका हुन् ।
उनीहरूले अघिल्लो वर्ष किस्ताबन्दी सुविधा लिएका थिए तर गत वैशाखदेखि किस्ता बुझाउन रोकेका थिए ।
प्राधिकरणका अनुसार सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइन प्रयोगबापतको कुल ३ करोड ७७ लाख रुपैयाँ बक्यौता रकमलाई २८ किस्तामा तिर्ने सहमति गरेको थियो ।
प्रत्येक किस्ता १३ लाख ४९ हजार रुपैयाँको रहेको उक्त उद्योगले सुरुवाती चार किस्ता बुझाएपछि किस्ता तिर्न रोकेको थियो । हाल उद्योगले एकैपटक तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ ।
असारदेखि असोजसम्मका ११ किस्ता बुझाउनु पर्नेमा उद्योगले सात किस्ता मात्र बुझाएका थिए । बाँकी चार किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ तिर्न उद्योगलाई पुनः पत्राचार गरिएको र उनीहरू बाँकी रकम बुझाई किस्ता नियमित गर्ने प्रतिबद्धता जनाएका छन् ।
रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता रकमलाई मासिक ३ लाख ५४ हजार रुपैयाँका २८ किस्तामा बुझाउने सहमति गरेको थियो ।
उद्योगले पहिलो चरणमा ६ किस्ता बुझाएपछि तिर्न रोकेको थियो । पछिल्लो समय पाँच किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेर उद्योग पुनः नियमित किस्ता तिर्ने अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ । अब उद्योगका १७ किस्ता बाँकी रहेका छन् ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले १२ किस्ता बराबर १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल विद्युत प्राधिकरणले असोज १२ गते सूचना प्रकाशित गर्दै २१ दिनभित्र बक्यौता नतिरे बिजुलीको लाइन काट्ने भनिसकेको छ । प्राधिकरणको सूचना अनुसार आगामी कात्तिक ३ गतेभित्र उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने हुन्छ । कात्तिक ३ भित्र बक्यौता नतिरे उद्योगहरूमा लाइन काट्ने प्राधिकरणको तयारी छ ।







प्रतिक्रिया