किलोवाट घटाएर भन्सार छलेको पाइएपछि श्रीलंकामा ईभीबाट हाइब्रिडमा सिफ्ट भयो बीवाईडी

1.4k
Shares

एजेन्सी । किलोवाट घटाएर भन्सार छलेको पाइएपछि श्रीलंकामा चिनियाँ कार उत्पादक कम्पनी बीवाईडी ईभीबाट हाइब्रिडमा सिफ्ट भएको छ । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले नयाँ प्लग-इन हाइब्रिड मोडल ‘सिलायन फाइभ बिक्रीको उद्घोष गरेको हो ।

श्रीलंकाका लागि बीवाईडीको आधाकारित वितरक जेकेसीजी अटोले आवर न्यु अराइभल भन्दै हाइब्रिड संस्करणको सिलायन कार बिक्रीका लागि राखेको छ । बीवाईडी श्रीलंकाको यो उद्घोष भन्सार विवादपछि आएको हो ।

कम भन्सार तिर्ने उद्देश्यसहित किलोवाट नै कम घोषणा गरेर आयात गर्न थालेपछि अगस्टमा श्रीलंका भन्सारले बीवाईडीका विद्युतीय कारको आयात रोकेको थियो ।

विवाद नटुंगिएपछि कम्पनीले अक्टोबरमा तय भएका डेलिभरी स्थगित गर्दै ग्राहकलाई रकम फिर्ता लिन वा नयाँ हाइब्रिड मोडेल छुटसहित साट्न प्रस्ताव गरेको छ ।

कम्पनीले सुरूमा १५०० सिसी पेट्रोल इन्जिन र विद्युतीय मोटरको संयोजन भएको प्लगइन हाइब्रिड सिलायन फाइभ को विज्ञापन गरेको थियो । अहिले १०९२ किलोमिटर संयुक्त रेन्जको सिलायन सिक्स र सार्क पिकअपको विज्ञापन गरिरहेको छ । जेकेसीजीले आफ्नो वेबसाइटको होमपेजबाट एट्टो थ्री हटाएको छ ।

श्रीलंका भन्सारले चिनियाँ सवारी निर्माता कम्पनी बीवाईडीका २ हजारभन्दा बढी विद्युतीय कारलाई भन्सारमा रोकेपछि श्रीलंकामा बीवाईडीले नयाँ उपाय निकालेको हो । मोटर क्षमता कम देखाएर कर छलेको आरोपमा श्रीलंकाले चिनियाँ कार माथि कडा कदम उठाएको थियो ।

नेपालमा झैं श्रीलंकामा पनि १०० किलोवाट मोटर पिक पावर कार आयात गर्दा सरकारलाई निकै कम राजस्व तिर्नुपर्छ । तर, बीवाईडीको आधिकारिक विक्रेता जेकेसीजी अटोले १५० किलोवाटको कारलाई १०० किलोवाट, ७९ किलोवाटका लाई ४९ किलोवाटको भनेर कर छली गरेको आरोप श्रीलंकामा पनि लागेको छ ।

श्रीलंकामा १०० किलोवाट मोटर भएको गाडीमा २४ लाख श्रीलंकाली रूपि (करिब १२ लाख नेपाली रूपैयाँ) अन्तःशुल्क तिर्नुपर्छ । तर, १५० किलोवाटका लागि अन्तःशुल्क ५४ लाख रूपि पुग्छ ।

कर निर्धारणका लागि आधार मानिने मोटर क्षमतामा गडबडी गरिएको आरोप लगाइएको छ ।

श्रीलंकाली सञ्चारमाध्यम लंकान्युज वेब, इकोनोमि नेक्स्टका अनुसार श्रीलंकामा बीवाईडीमाथि १५० किलोवाटको एट्टोथ्रीलाई कम्पनीले १०० किलोवाटको घोषणा गर्ने गरेको छ । यसरी अन्य क्षमता र पर्फमेन्स बराबर भएको कारलाई कर छल्नकै लागि कम्पनीले कम किलोवाट घोषणा गरेको हो ।

यसैगरी विदेशी बजारमा ७९ किलोवाट क्षमताको डल्फिन डाइनामिकलाई कम्पनीले श्रीलंकामा ४९ किलोवाट, १५० किलोवाटको डल्फिन प्रिमियमलाई ९९ किलोवाट, १२० किलोवाटको एम सिक्सलाई १०० किलोवाट र १५० किलोवाटको सिल डाइनामिकलाई १०० किलोवाटको भनेर बेच्ने गरेको छ ।

सुरूमा झन्डै १ हजारको संख्यामा बीवाईडी एटो थ्री मोडलका गाडी श्रीलंकाको भन्सारमा रोकिएका थिए । अदालतमा मुद्दा विचाराधीन रहँदा आयातकर्ताले बैंक जमानत बुझाएर ती गाडी अस्थायी रूपमा ग्राहकलाई बिक्री गरेको थियो । पछि फेरी त्यतिकै संख्यामा भन्सारमा कार रोकिएका हुन् ।

यसअघि आयातकर्ताले भौतिक रूपमा १५० किलोवाटको मोटर भए पनि सफ्टवेयरमार्फत आउटपुट १०० किलोवाट देखाएका थिए । अन्य देशमा १५० किलोवाट मोटर क्षमतामा उपलब्ध हुने ती कारको मोटर क्षमता सफ्टवेयर प्रयोग गरेर कम देखाएको आरोपको खण्डन आयातकर्ता कम्पनीले गरेको थियो । भन्सार अधिकारीहरूले मोटरमा भौतिक रूपमा जडित क्षमताका आधारमा कर निर्धारण हुने बताउँदै कम्पनीको घोषणा अस्वीकार गरेका थिए ।

सन् २०२५ को जुलाईमा श्रीलंकाको एक अदालतले पहिलो चरणमा रोकिएका गाडीलाई अस्थायी रूपमा छोड्न आदेश गरेको थियो । आयातकर्ताले कर छली अनुमान गरिएको करिब ३ अर्ब ६० करोड श्रीलंकाली रूपि (करिब १ अर्ब ८० करोड रूपैयाँ) बराबरको बैंक जमानत बुझाएपछि गाडी भन्सारबाट छाडिएको थियो । अदालतले मोटर क्षमताबारे अध्ययन गर्न मोराटुवा विश्वविद्यालयका विज्ञसहितको समिति गठन गर्न आदेश गरेको छ ।

समितिको प्रतिवेदन नआएसम्म अहिले रोकिएका गाडीहरू पनि जमानत बुझाएर मात्र छोडिने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

श्रीलंकाली बजारमा यसअघि २ हजार ५ सयभन्दा बढीको संख्यामा बीवाईडीका कार बिक्री भइसकेका छन् । तर विवाद बढेपछि नयाँ लटका गाडी अड्किएका हुन् ।

जेकेसीजीले सरकारी आरोप अस्वीकार गर्दै गाडीको मोटर क्षमता चीनस्थित बीवाईडी कम्पनीका आधिकारिक परीक्षण रिपोर्ट र स्वतन्त्र परीक्षण निकायद्वारा प्रमाणित गरिएको बताएको छ । साथै भन्सारलाई भ्रममा नपारेको कम्पनीको दाबी छ ।

श्रीलङ्काले करिब पाँच वर्षपछि २०२५ फेब्रुअरीदेखि पुनः सवारीसाधन आयात खुला गरेपछि बीवाईडीले बजार समातेको थियो । मे महिनासम्म आइपुग्दा कम्पनीले विद्युतीय कार बजारको करिब ९० प्रतिशत हिस्सा र समग्र कार बजारको १० प्रतिशतभन्दा बढी हिस्सा ओगटि सकेको थियो ।

श्रीलंकाको स्वतन्त्र आर्थिक नीति अनुसन्धान संस्था एड्भोकाटा इन्स्टिच्युटका अनुसार २०२५ को जनवरीदेखि अगस्टसम्म श्रीलंकामा विद्युतीय सवारीसाधन दर्ता उल्लेख्य रूपमा बढेको छ ।

एड्भोकाटाको तथ्यांकअनुसार बीवाईडी श्रीलंकामा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय गाडी र एसयूभी ब्रान्ड बनेको छ । तर, भन्सार विवाद नटुंगिँदासम्म कम्पनीको विद्युतीय कार डेलिभरी स्थगित हुने निश्चित भएको छ ।

यसबीच, कम्पनीले बजारमा सीलायन हाइब्रिड ल्याएर बजारमा आफ्नो उपस्थितिलाई निरन्तरता दिने रणनीति अपनाएको हो ।

श्रीलंकाली विशेषज्ञहरू यदि सफ्टवेयरमार्फत मोटर आउटपुट घटाउने प्रवृत्तिलाई श्रीलंकन भन्सारले स्वीकार गरे अन्य आयातकर्ताले पनि त्यो सिक्ने सम्भावना रहेको बताउँछन् । यसबाट राज्यले अर्बौं राजस्व गुमाउने खतरा रहेको उनीहरूले चेतावनी दिएका छन् ।

यस विषयको अन्तिम निर्णय भन्सार र प्राविधिक समितिको प्रतिवेदनले गर्ने बताइएको छ । आयातकर्ता कम्पनीले अदालतमा नेपाल र सिंगापुरका लागि झैं कम्पनीले कम मोटर क्षमताको बीवाईडी कार बनाइदिने गरेको तर्क गरेको छ ।

यता नेपालमा विद्युतीय सवारीमा भन्सार छलीको विषय राजस्व अनुसन्धान विभागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ । मोटर क्षमता कम देखाएर भन्सार छलेको विषयमा अर्थ मन्त्रालय, भन्सार विभागले अनुसन्धान गरिरहेकामा अख्तियारले पनि चासो देखाएको थियो ।

नेपालमा सरकारसँग मोटर क्षमता पुष्टि गर्ने प्रणाली नभएको फाइदा उठाउँदै बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक लगायत आयातकर्ताले ईभीमा ९९ किलोवाट घोषणा गर्दै लाभ लिँदै आएका छन् ।