ईभीमा कम किलोवाट देखाएर कर छल्ने प्रवृत्ति ‘बन्द’, जाँचपासमा सजग हुन भन्सार विभागको निर्देशन



काठमाडौं । भन्सार विभागले मातहतका कार्यालयहरुलाई विद्युतीय सवारीको जाँचपासमा सजग हुन निर्देशन दिएको छ । बढी मोटर क्षमताका गाडीलाई कागजमा कम देखाएर राजस्व छल्ने प्रवृत्ति बढेको भन्दै विभागले यसमा कडा हुन निर्देशन दिएको हो ।

प्राविधिक रुपमा पुष्टि नभए पनि सञ्चारमाध्यमहरुमा यस किसिमको प्रवृत्तिबारे समाचार सम्प्रेषण हुन थालेपछि भन्सार तातेको हो ।

विभागका प्रवक्ता पूण्यविक्रम खड्काले जाँचपास गर्दा विभिन्न पक्षबाट विचार गर्न र सजग भएर काम गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको बताए ।

क्लिकमान्डुसँग कुरा गर्दै प्रवक्ता खड्काले भने, ‘सञ्चारमाध्यममा विभिन्न तरिकाले कर छल्ने प्रवृत्ति आउने गरेको छ । सोहीअनुसार सचेत हुन मातहतका कार्यालयहरुलाई भनेका हौं ।’

रसुवाकको टिमुरे भन्सार कार्यालय प्रमुख रामप्रसाद पाठक र सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालय प्रमुख दयानन्द केसीले विभागबाट सजग रहन पत्र प्राप्त भएको पठाए ।

तातोपानीका प्रमुख केसी भन्छन्, ‘विद्युतीय सवारी जाँचपास गर्दा विवरण राम्रोसँग जाँच गर्न, सम्बन्धित कम्पनीको वेबसाइट हेर्न लगायत उपाय सुझाइएको छ ।’

चीनबाट आयात हुने बीवाईडी, चांगन, ओमोडालगायत विद्युतीय सवारीसाधन चीनभन्दा कम मोटर क्षमताका छन् ।

उदाहरणका लागि बीवाईडीको एट्टोथ्री चीनमा १५० किलोवाट पिक पावर (मोटरको अधिकतम क्षमता)मा उपलब्ध छ । जबकी नेपाल आउने एट्टोथ्रीको पिकपावर ९९ किलोवाट मात्र छ । कम्पनीले ९९ किलोवाट अनुसारकै कर तिर्ने गर्छ ।

यसैगरी चांगनको दिपाल एल०७ र एल०७ नेपालमा ९९ किलोवाट अधिकतम मोटर क्षमतामा उपलब्ध छन् । कम्पनीले एल७ र एस७ क्रमशः १८५ र १७५ किलोवाट क्षमताको उत्पादन गर्छ ।

यसैगरी नेपाल आउने ओमोडाको ई५ को मोटर क्षमता पनि ९९ किलोवाट नै हो । अन्तर्राष्ट्रिय बजारमा ई५ १५० किलोवाट क्षमतामा उपलब्ध छ ।

नेपाली व्यवसायीहरु भने मोटर क्षमतासहित स्पेसिफिकेसन नै तोकेर चिनियाँ कम्पनीले कार उत्पादन गरिदिने गरेको दाबी गर्छन् ।

भन्सार विभागको पत्रमा विद्युतीय सवारी साधनहरुको जाँचपास गर्दा मोटरको पिक पावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेबसाइटमा उल्लिखित मोटरको क्षमता/पिक पावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गरी यकिन भई कारोबार मूल्य कायम गर्न उल्लेख छ ।

भन्सार विभागको सो पत्रले अब छड्के बाटोबाट कर छल्ने प्रवृत्ति बन्द हुने अपेक्षा गरिएको छ । अब सवारी आयात हुँदा भन्सार कार्यालयहरुले सम्बन्धित कार कम्पनीको वेबसाइट, अन्य देशमा उपलब्ध कारको रेन्जहरु पनि हेरिनेछ ।

विभागले आर्थिक ऐन, २०८० बमोजिमको महसुल असुल गरी यसअघि महसुल छुट भएको भए सो समेत असुल गरी उच्च सतर्कताको साथ जाँचपास गर्न निर्देशन दिएको छ ।

भन्सार ऐन र भन्सार जाँचपास परीक्षण कार्यविधि, २०७८ अनुसार भन्सार जाँचपास पछि पनि परीक्षण हुन सक्छ । यो कार्यका लागि भन्सार जाँचपास परीक्षण कार्यालय स्थपना भएको छ ।

यसअघि वस्तु आयात भएको ४ वर्षसम्म जाँचपासपछिको परीक्षण (पोस्ट क्लियरेन्स अडिट अर्थात् पीसीए) गर्न पाउने व्यवस्था रहेकामा आगामी आवदेखि यो अवधि घटाएर २ वर्ष बनाइएको छ । जसअनुसार सरकारले २ वर्ष यता आयात भएका सवारी साधानको परीक्षण गर्न सक्नेछ ।


क्लिकमान्डु