
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई सरूवा गरी प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा लगेर उनको ठाउँमा सिलवाललाई ल्याइएको छ ।
शाक्यलाई यस अघि पनि हटाएर सोही आयोगमै लगिएको थियो भने त्यतिबेला कुलमान घिसिङलाई नियुक्त गरिएको थियो । सरकारले कुलमानकाे पदावधि सकिने बेलामा उनलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो ।
ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा हितेन्द्रलाई हटाएर कुलमानको विश्वासपात्र सिलवाललाई प्राधिकरणको जिम्मा लगाइएको हो ।
घिसिङलाई तत्कालीन सरकारले २०८१ चैत ११ गते कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रलाई प्राधिकरण प्रमुख बनाएको थियो। कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएपछि कुलमानलाई पदबाट हटाइएको थियो ।
सिलवालले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा ‘ब्याक बोन’ बनेर काम गरेका थिए । उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख थिए । प्राधिकरणको नेतृत्वको सफलताका पछाडि यो निर्देशनालयले महत्वपूर्ण भूमिको हुन्छ। सिलवाल पनि घिसिङजस्तै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउनुपर्छ भन्ने मान्यता राख्छन् ।
ऊर्जामन्त्रीका रुपमा कुलमानले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका थिए । उनको यो निर्णयसँगै प्राधिकरणले सञ्चालक समितिको बैठक बोलाइसकेको थियो ।







प्रतिक्रिया