
काठमाडौं । डेडिकेटेड ट्रंकलाइनको वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक बस्ने भएको छ ।
कुलमान घिसिङले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत वक्यौता उठाउने सम्बन्धी पहिलो निर्णय गरेपछि सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
सोमवार/मंगलवार नै बैठक बसेर बिजुली वक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइने उनको भनाइ छ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने समेत बताए ।
‘वक्यौता सम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौं । विद्युत प्राधिकरणको मन्त्रिज्यू नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ वक्यौता उठाउन लाग्छौं,’ शाक्यले भने, ‘वक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौं । भोली अथवा पर्सीमै बोर्ड बैठक बस्छ ।’
बोर्ड बैठकबाट निर्णय भएपछि वक्यौता उठाउन कुनै समस्या नभएको उनले बताए । कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन भनेर वक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए ।
तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिइएको थियो ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ ।
प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।
उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।







प्रतिक्रिया