
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकलाई स्थायित्व र विकासतर्फ अघि बढाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा सम्बन्धित मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै घिसिङले मुलुकलाई पुनःनिर्माण, राजनीतिक स्थिरता र समृद्धितर्फ अघि बढाउन आफू कटिवद्ध रहेको बताए।
जेनजी पुस्ताले अपनाएको हिंस्रक बाटो छोडेर समाधानतर्फ लाग्नुपर्नेमा समेत उनले जोड दिए। उनले विगतका कमजोरीलाई नदोहोर्याउन आग्रह गर्दै जिम्मेवारी लिने संस्कृतिको विकास गर्न समेत सबैलाई आग्रह गरे ।
‘अब हिंसा होइन समाधान हाम्रो बाटो हो । हामीले जे गर्यौं त्यसलाई अब रोकौं । अब हामीले पुनः निर्माणतिर लाग्नुपर्ने हुन्छ । देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेछ । राजनीतिक स्थिरता पनि ल्याउनुपर्नेछ । देश रहेमात्र हामी रहन्छौं । उडेर मात्रै हुँदैन अब सही अवतरण गर्नुपनि हाम्रो दायित्व हुनेछ । जिम्मेवारी लिने हो भाग्ने होइन । जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ । मुलुकलाई सही दिशामा अगाडि बढाउने काम तपाईहरुको सहयोगबिना सम्भव छैन,’ उनले भने ।
यसअघि पदभार सम्हाल्दै मन्त्री घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता रकम असुल्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका थिए । उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वक्यौता असुल्ने प्रयास गरेका थिए । तर तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।







प्रतिक्रिया