
काठमाडौं । संसद विघटन गर्ने सरकारको पछिल्लो कदमलाई असंवैधानिक भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो कदम संविधान र सर्वोच्च अदालतको व्याख्याविपरीत भएको निष्कर्ष निकालेको हो।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री तथा संसदीय दलका नेताहरू समेत सहभागी थिए। बैठकले भदौ २३ र २४ गते जेनजी युवाहरूको आह्वानमा भएको आन्दोलनका घटनापछि उत्पन्न परिस्थितिको गम्भीर मूल्याङ्कन गरेको थियो।
नेपाली कांग्रेसले यसअघि नै राष्ट्रपति समक्ष संवादमार्फत समाधान खोज्न पहल लिनुपर्ने र जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरिसकेको स्मरण गराएको छ। पार्टीले संविधान संशोधनमार्फत अन्तरिम सरकारलाई वैधानिकता दिने र त्यसपछि नयाँ निर्वाचन घोषणा गर्ने प्रस्ताव अघिसारेको थियो।
बैठकले यो प्रस्ताव सबै पक्षको जित हुने समाधानमुखी विकल्प भएको उल्लेख गर्दै संविधानलाई टेकेरै राजनीतिक निकास खोज्न सकिने परिस्थितिमा संसद विघटन गर्नु दुःखद भएको जनाएको छ।
‘संसद विघटनको यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ र जेनजी आन्दोलनको मर्म र भावना मर्ने हो कि भन्ने आशंका पनि बढेको छ,’ बैठकपछि जारी वक्तव्यमा उल्लेख छ।
बैठकले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको सम्पूर्ण उपचार व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। उक्त घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुगिसकेको छ भने सयौं घाइते छन् । साथै, आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण भएको क्षतिको तत्काल मूल्याङ्कन गरी पुनर्निर्माण योजना बनाउन पनि आग्रह गरेको छ।
नेपाली कांग्रेसले यस्तो चुनौतीपूर्ण अवस्थामा कुनै पनि उत्तेजना नफैलाउन सबै पक्षलाई आग्रह गर्दै, संविधान, लोकतन्त्र र शान्तिको पक्षमा अन्य दल र नागरिक समाजसँग मिलेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।








प्रतिक्रिया