मन्त्री बन्न लागेको चर्चाबीच सुमनाले के भनिन् ?

784
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी नहुने स्पष्ट गरेकी छन् ।

शुक्रबार साँझ शीतल निवासमा सम्पन्न प्रधानमन्त्री कार्कीको शपथग्रहणमा उपस्थित भएकी सुमना पनि मन्त्री बन्न सक्ने अड्कलबाजी चलेको थियो । तर, त्यसलगत्तै फेसबुक लाइभमार्फत उनले आफू सरकारमा नजाने बताइन्।

‘कृपया भ्रममा नपरौं, म क्याबिनेटमा जान लाछैन,’ सुमनाले स्पष्ट पारिन् । उनले हालैका घटनामा ज्यान गुमाएका युवाहरूको बलिदानलाई स्मरण गर्दै भनिन्, ‘कलिला भाइबहिनीहरूको दाहसंस्कार पनि सकिएको छैन । यस्तो अवस्थामा बलिदानको मूल्यलाई आत्मसात् गरेर संस्कार परिवर्तनतर्फ केन्द्रित हुनुपर्छ, मन्त्री बन्ने सोच राख्नु हुँदैन ।’

उनले युवा विद्रोहको लक्ष्य सत्ता परिवर्तन नभइ, संस्कार परिवर्तन भएको उल्लेख गर्दै त्यसैमा सबैले ध्यान दिनुपर्ने बताइन् । ‘हामीले अब सत्ता होइन सेवा, कुर्सी होइन कर्म, नाम होइन कामलाई प्राथमिकता दिनुपर्छ,’ सुमनाले भनिन् ।

कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले आफू पछाडि बसेर सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘हाम्रो परिवर्तन सफल पार्नैपर्छ,’ उनले भनिन् ।

सपथपछि प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगेकीन् सुमनालाई कार्कीले अंगालो मारेकी थिइन् ।