
काठमाडौं । प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरूले जेनजी आन्दोलनको भावना अनुसार संविधानसम्मत ढंगले अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । साथै, पछिल्ला हिंसात्मक घटनाको छानबिन तथा सुशासन कायम गर्न शक्तिशाली आयोगहरू गठन गर्नुपर्नेमा उनीहरूले एकमत प्रकट गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एस, जनता समाजवादी पार्टीका नेता तथा स्वतन्त्र सांसदसहित १६ जनाले संयुक्त वक्तव्य जारी गर्दै आफ्ना दलभित्र लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न नसकेको कमजोरी स्वीकार गर्दै जनतासँग क्षमायाचना गरेका छन् ।
वक्तव्यमा आन्दोलनका क्रममा भएको जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको नोक्सानी र व्यक्ति लक्षित आक्रमणहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न विशेष आयोग गठन गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, भ्रष्टाचार अन्त्य गर्न राज्यको उच्च तहमा बसेकासहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनु पर्ने, संविधान पुनरावलोकन तथा सुधारका लागि आयोग गठन गर्ने र राजनीतिक दलभित्र सुधार ल्याउन कानूनी संशोधन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने नेताहरूमा नेपाली कांग्रेसका मिनेन्द्र रिजाल, एनपी साउद र चन्द्र भण्डारी; नेकपा एमालेका सुरेन्द्र प्रसाद पाण्डे, गोकर्ण विष्ट; नेकपा एसका धनश्याम भुसाल, रामकुमारी झाक्री, प्रकाश ज्वाला; माओवादी केन्द्रका जनार्दन शर्मा, देवेन्द्र पौडेल, सुदन किराती, अमनलाल मोदी; रास्वपाका सन्तोष परियार; जसपाका राजकिशोर यादव तथा स्वतन्त्र सांसद अमरेश सिंह रहेका छन् ।










प्रतिक्रिया