सार्वजनिक सम्पत्तिको क्षति अनुमानै गर्न नसकिने अवस्थामा, स्थलगत अनुगमनपछि मात्रै विवरण आउने

14
Shares

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण सार्वजनिक सम्पत्ति कहाँ के कति क्षति भयो भनेर अहिले अनुमान नै गर्न नसकिने अवस्था रहेको भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले बताएका छन् ।

उनका अनुसार मंगलबार एक दिनको ध्वंसात्मक गतिविधिबाट उपत्यकामा मात्रै निकै ठूलो क्षति भएको छ ।

सर्वोच्च अदालत, जिल्ला अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, संसद भवन, सिंहदरवार भित्रका मन्त्रालयसहितका सरकारी भवनमा ठूलो क्षति पुगेको छ ।

मंगलबार जेनजी पुस्ताको आन्दोलका नाममा देशैभरका व्यवस्थापिका, कार्यापालिका र न्यायपालिकाको सबैजसो भौतिक संरचना ध्वस्त भएको छ ।

देशैभर भएको उक्त क्षतिको अवस्था शान्त भएपनि अनुगमनपछि मात्रै भन्न सकिने भवन निर्माण विभागका महानिर्देशक महर्जनले बताए ।

‘अहिले नै कहाँ के कति क्षति भयो भनेर अनुमान नै लगाउन सकिएको छैन् । देशैभर भएको क्षति, सरकारी बहुतले भवनमा भएको आगजनी र तोडफोडका कारण स्थलगत अनुमगनबाट मात्रै यकीन विवरण संकलन गर्न सकिन्छ,’उनले भने ।

उनले भने ‘विभाग अन्तर्गत मात्रै काठमाडौं सहरी विकास तथा भवन निर्माण विभागको मुख्य कार्यालय रहेको बहुतले भवनसहित झापा, सप्तरी, मोरङ, चितवन र कैलालीका ६ जिल्लामा भएको संरचना धेरै ठूलो क्षति भएको छ । अरु जिल्लामा पनि क्षति भएको भन्ने जानकारी आइरहेकोले सबैतिरको एकीन विवरण भने पाउन नसकिएको उनले बताए ।

भवन निर्माण विभागको मात्रै ४० वटा गाडी बहुतले भवनसहितका संरचनामा क्षति भएको छ । कति मूल्यको क्षति भयो र कति लाग्न अब पुनरनिर्माणको खर्च भन्ने विषयमा भने अनुगमनपछिको मूल्यांकनबाट मात्रै भन्न सकिने पनि महर्जनले बताए ।