के जेनजी आन्दोलन ‘कलर रिभोल्युशन’ हो ? फ्रान्सेली विश्लेषकले राखे धारणा

4.7k
Shares


काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा भूराजनीतिका तीक्ष्ण विश्लेषक अर्नाउ बर्ट्रान्डले नेपालमा सत्ता परिवर्तन हुने गरी भएको आन्दोलनका विषयमा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा बुधवार पोस्ट गर्दै उनले नेपालमा विकसित घटनाक्रमका विषयमा लामो टिप्पणी गरेका छन् ।

उनले लेखे :

म नेपालमा केही महिना बसेको छु । यो निकै सुन्दर देश हो र मेरो हृदयको निकट छ ।

उल्लेख्य रूपमा म सन् २०१५ मा आएको भूकम्पको समयमा नेपालमा थिएँ । जेन्जी विरोध प्रदर्शनका प्रमुख नेता (सुदन गुरुङ, जसले हामी नेपाल नामक संस्था स्थापना गरेका छन्) ले त्यही भूकम्पमा आफ्ना एक सन्तान गुमाए । त्यसले नै उनलाई समाजसेवामा लाग्न प्रेरित गरेको हो ।

मैले नेपालमा भ्रष्टाचार देखेको छु । नेपालमा औपचारिक सरकारी संरचनाले खासै काम गर्दैन । प्रमुख शहरहरूभन्दा बाहिर राज्यको उपस्थिति वास्तविक भन्दा पनि सैद्धान्तिक मात्र छ । भूकम्पको समयमा त्यो झन् स्पष्ट भएको थियो । अरू बेलामा पनि त्यही सत्य हो ।

उदाहरणका लागि, मैलै आफ्नै आँखाले के देखें भने सानो अपराध भयो भने पनि मानिसले प्रहरी बोलाउँदैनन् बरू भीडले नै फैसला गर्न खोज्छ (र त्यो दृश्य सुन्दर हुँदैन) । मानिसहरूलाई आफ्नो हेरचाह आफैं गर्नका लागि छोडिन्छ ।

त्यसका अतिरिक्त, नेपालको भूगोल संसारकै सबभन्दा चुनौतीपूर्ण छ । यसले नेपालको राष्ट्रिय विकासका सबै पक्षलाई आकार दिन्छ । नेपालमा १) संसारको सबभन्दा कठिन भूभाग छ, २) संसारका सबभन्दा ठूला आँधीबेहरी यहीँ आउँछन् (किनकि भारतीय उपमहाद्वीपबाट आउने सबै बादल हिमालमा गएर ठोकिन्छन्) र मैले त्यस्ता कैयौं आँधीबेहरीको अनुभव लिएको छु ।

मलाई विश्वास गर्नुस्, यो स्थिति निकै डरलाग्दो हुन्छ । गाउँका बाटाहरू केही मिनेटभित्रै गडगडाउँदो खोलामा परिणत हुन्छन्, ३) नियमित भूकम्पहरू आइरहन्छन् (हिमालय कसरी बनेका हुन् तपाईंले थाहा पाउनुभएको छ?), ४) देश भूपरिवेष्ठित छ, ५) दुई महाशक्तिबीचको मध्यवर्ती राज्य हो, र ६) लगभग सबै आयात र निर्यातका ालगि भारतको कृपामा निर्भर छ (किनकि चीनसँग हिमालयरूपी ब्यारियर छ) । सन् २०१५ को भूकम्पपछि भारतले नेपालमाथि (संविधानका विषयमा असन्तुष्टि व्यक्त गर्नका लागि) क्रूरतापूर्ण नाकाबन्दी लगाएको बेलामा मैले यो कुरा आफैं प्रत्यक्ष देखेको थिएँ । त्यसले भयानक मानवीय विपतको स्थितिलाई झन् खराब बनाएको थियो ।

यस्तो देशलाई समृद्धिको बाटोमा डोर्याउनका लागि असाधारण शासक आवश्यक रहेको कुरा त भन्नै परेन ।

धेरै मानिसले अहिलेको विरोध प्रदर्शन अमेरिकाको समर्थनमा भएको कलर रिभोल्युशन हो भनिरहेका छन् (तर मैले यसको विश्वसनीय प्रमाण भेटिनँ) । नेपालको भयानक सीमिततालाई हेर्दा मलाई यसमा विश्वास नलागेको हो । यस्तो कठिन भूगोल भएको ठाउँमा कलर रिभोल्युशन गर्नुको के अर्थ ?

विरोधकर्ताहरूले काठमाडौंका मेयर बालेन्द्र शाहप्रति उत्साह देखाएको हेर्दा कलर रिभोल्युशनको सिद्धान्तलाई खारेज गर्छ । उनी भारतविरोधी नेपाली देशभक्त हुन् र पश्चिमसँग उनको कुनै साइनो छैन । उनले सन् २०२२ मा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पद जितेका थिए । काठमाडौंको ढल व्यवस्थापन गर्ने र भ्रष्टाचारका विरुद्ध लड्ने प्रतिज्ञाका साथ उनले चुनाव जितेका थिए।

उनले नेपाललाई पश्चिमसँगको अनुकूल बनाउने प्रतिज्ञा गरेका छैनन् । उनी त ट्राफिक लाइटहरू बल्ने र अवैध भवनहरू भत्काउने प्रतिज्ञा गरिरहेका छन् । उनी यस विरोध कार्यक्रमको नेतृत्व पनि गरिरहेका छैनन् र आफू जेन जीको उमेरवर्गमा नपर्ने दाबी गरिरहेका छन् । छानिएका नेता जो नेतृत्व लिन चाहँदैनन् र जसको देशभक्तिपूर्ण विचार अमेरिकी विदेशनीतिको अनुकूल छैन, उसबाट कलर रिभोल्युशन हुन्छ ? यसमा विश्वास गर्न कठिन छ ।

तर तर्ककै लागि भए पनि यो सत्य हो भनी मानौं । यसबाट अमेरिकाले के लाभ पाउँछ त ? उपनिवेशकालमा बेलायतले संसारभरिका देशको भूमि कब्जा गर्ने गर्थ्यो । तर, नेपालसँगको युद्ध जितिसकेपछि पनि बेलायतीहरूले नेपाललाई उपनिवेश बनाएनन् जबकि उनीहरू आन्ध्र महासागरका पत्थरहरूलाई पनि उपनिवेश बनाएर तिनमा आधिपत्य जमाएका थिए । उनीहरू गोर्खा सैनिकहरूसँग प्रभावित थिए र आजको मितिसम्म पनि बेलायती सेनामा गोर्खा रेजिमेन्ट छ । यसले नेपालको अर्को कमजोरी पनि उजागर गरेको छ । त्यो के भने नेपालका उम्दा योद्धाहरू अर्को देशका लागि लड्ने सम्झौतामा बाँधिएका छन् ।

ओक्काम्स रेजर नामक दार्शनिक विचारले कुनै कुराको सबभन्दा सजिलो व्याख्या नै ग्रहणयोग्य हुन्छ भन्छ । त्यसको कसीमा राखेर भन्दा, नेपालमा रहेको प्रणालीगत बेथितिका लागि विदेशीको हस्तक्षेप आवश्यक नै छैन, नेपालकै परिस्थितिले त्यसको सुनिश्चितता गर्छ ।

त्यो कुरा पनि त्यति महत्त्वपूर्ण छैन किनकि कलर रिभोल्युशन सफल भएछ भने पनि त्यसमा संलग्न सबैजनाका लागि क्षतिपूर्ण विजय हो ।

राम्ररी शासन चलाउन नसक्ने सरकारमाथि प्रभाव पारेर अमेरिकाले के पाउँछ ? नेपालमा अमेरिकाले अर्थपूर्ण सैन्य सामग्री राख्नुको औचित्य छैन । नेपालमा बसेर चीनको कुनै पनि भूभागमा शक्तिप्रदर्शन गर्न पनि सकिँदैन (किनकि सीमामा ८ किलोमिटर अग्ला हिमालहरू छन्) ।

भारतलाई शासन परिवर्तनसँग चासो नै छैन । आफूलाई मन नपरेको नेपाली सरकारलाई भारतीयहरूले कुनै पनि बेलामा आर्थिक रूपमा घाँटी निमोठ्न सकिहाल्छन् ।

हिमालयको पर्खालका पछाडि रहेको चीनले यसलाई वास्तै गर्दैन ।

अनि नेपालीहरू भोलि बिहान पनि यही कठिन भूगोलको वास्तविकतालाई बेहोर्न बाध्य छन् । भारतप्रतिको त्यही निर्भरता, देशको त्यही कठिन भूगोल ।

तर, यसो भनेर नेपाल सधैंका लागि पीडामा बस्न बाध्य छ भनेर निराशाजनक कुरा गर्न म चाहन्नँ ।

मैले भेटेका नेपालीहरू उत्थानशील, प्रतिभाशाली र न्यानोपन भएका मानिस थिए । उनीहरू भूगोलले निम्त्याएका सबै कठिनाइलाई हाँसीहाँसी सहन्छन् । असम्भव परिस्थितिलाई सामान्य कठिन परिस्थितिमा परिणत गर्न सक्ने कुनै मानिस छन् भने ती नेपाली नै हुन् ।

उनीहरूले गरिरहेको विरोधको जस्तोसुकै कारण भए पनि तमाम कठिनाइका बावजूद युवा पुस्ताले नेपालको भविष्य अझै पनि उज्ज्वल छ भनी विश्वास गर्छ । त्यो नै यी विरोध प्रदर्शनहरूको सबभन्दा महत्त्वपूर्ण तथ्य हो । यी विरोध कार्यक्रम कसले आयोजना गरेका हुन् वा यसका बारेमा विदेशी शक्तिहरूले के सोच्छन् भन्ने कुरा भन्दा पनि त्यो आफैंमा महत्त्वपूर्ण कुरा हो । त्यो जोशलाई राम्रो निकास दिइएमा त्यो नै नेपालको बहुमूल्य सम्पत्ति हुनेछ र त्यो भूगोल वा भूराजनीतिमा निर्भर रहने छैन ।

अन्तिममा भन्न चाहन्छु : नेपाल घुम्न जाऔं । सगरमाथाको आधारशिविर जाऔं । बुद्धको जन्मस्थल हेर्न जाऔं । अन्नपूर्ण क्षेत्रमा रहेका लालीगुराँसका जंगलहरूमा पदयात्रा गरौं । एसियाका अन्तिम जंगली गैंडा हेरौं । स्वादिष्ट ममहरू खाऔं ।

तपाईंले पर्यटकका रूपमा खर्चेका डलरहरूले नेपालका संरचनागत समस्याको समाधान गर्दैनन् तर तिनले नेपालमा वास्तविक जीवन बिताइरहेका वास्तविक मानिसलाई सार्थक सहयोग गर्छन् । त्यसक्रममा तपाईंले जीवनकै अनुपम यात्राको अवसर पाउनुहुन्छ ।

भूगोलले गर्दा नेपाललाई विकासमा कठिनाइ आएको होला तर त्यसले नै नेपाललाई संसारको असाधारण क्षेत्र र नेपालीलाई असाधारण मानिस बनाएको हो ।