
काठमाडौं । नेपाल प्रहरीले संसद भवनभित्र ३२ जनाको शव फेला परेको भन्ने समाचारलाई भ्रामक भन्दै खण्डन गरेको छ । बुधबार बिहान विज्ञप्ति जारी गर्दै प्रहरीले ‘बेपत्ता भएका ३२ जना मृत भेटिएका’ भन्ने सूचना निराधार भएको स्पष्ट पारेको हो । साथै, यस प्रकारका गलत जानकारीले जनमानसमा डर र त्रास फैलिने भएकाले यस्ता अफवाह फैलाउन वा विश्वास नगर्न अनुरोध गरेको छ ।
सामाजिक सञ्जालहरूमा संसद भवनभित्र ३२ जनाको शव फेला परेको भन्दै सामग्रीहरु सार्वजनिक भएपछि प्रहरीले यस्तो सूचना जारी गरेको हो ।
यसैबीच, नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी भएको र त्यसपछि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू लागु रहने जानकारी दिएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको अपिलअनुसार बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने सो समयपछि कर्फ्यू आदेश प्रभावकारी रहनेछ।
निषेधाज्ञा र कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी मात्र चल्न पाउनेछन्।
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी वा व्यक्तिलक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ।








प्रतिक्रिया