बैंकहरुले सीएसआरको पैसा अर्थशास्त्रमा पीएचडी गर्ने विद्यार्थीलाई खर्च गर्न मिल्ने

588
Shares

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर को रकम अर्थशास्त्र, कानुन र व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीएसआर सम्बन्धी मार्गदर्शन, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलको विशेष चासोमा अर्थशास्त्र, कानुन र व्यवस्थापन संकायमा अध्ययन गर्न सिएसआरको रकम प्रयोग गर्न मिल्ने बनाइएको हो । गरिब तर जेहेन्दार विद्यार्थी पनि कुशल अर्थशास्त्री बन्न सकोस् भन्ने उदेश्यले गभर्न पौडेलको सक्रियतामा सीएसआरको पैसा यस्तो खाले शिक्षामा खर्च गर्न पाइने व्यवस्था मिलाइएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

संशोधित कार्यविधिमा भनिएको छ, ‘विश्वविद्यालय तथा कलेजमा अर्थशास्त्र, कानून र व्यवस्थापन संकायमा अध्ययनरत गरिब तथा न्यून आय भएका परिवारका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजले सिफारिस गरेको आधारमा स्नातकोत्तर, एमफिल, पीएचडी अध्ययन अन्तर्गत गरिने शोध, अनुसन्धान कार्यका लागि फेलोसिप, रिसर्च ग्रान्टमा हुने खर्च ।’

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफाको १ प्रतिशत सीएसआरमा छुट्याउनै पर्ने व्यवस्था छन् । जसअनुसार यस्तो रकम ८० करोड रुपैयाँको हाराहारीमा हुन आउँछ । बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको रकम जथाभावी खर्च गरेपछि सर्वोच्च अदालदतले गरिबका लागि खर्च गर्न ऐन नै बनाएर कार्यान्वयन गर्न निर्देशनात्मक आदेश दिएको थियो ।