
काठमाडौं । एमएस ग्रुप अफ कम्पनिजले काठमाडौंको कमलादीमा बनाउँदै गरेको मोक्सी होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब २ अर्ब रुपैयाँमा बन्दै गरेको चार तारे प्रिमियम होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
एमएस ग्रुप अन्तर्गतको इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटलले निर्माण गरिरहेको होटलको व्यवस्थापन मेरियट इन्टरनेन्सनलले गर्नेछ । यो होटल मेरियटअन्तर्गतको चेन होटल मोक्सी ब्रान्डमा सञ्चालन हुनेछ । कमलादीमा बन्दै गरेको होटलमार्फत् नै मोक्सीले नेपालमा डेब्यु गर्दैछ ।
यो होटल १ अर्ब ८५ करोड रुपैयाँ लागतमा बन्दैछ । जसमध्ये ७३ करोड रुपैयाँ बैंकबाट ऋण लिने बाँकी १ अर्ब १२ करोड रुपैयाँ स्वपुँजीमार्फत् जुटाइएको छ । जसअनुसार डेब्ट–इक्विटी अनुपात ४०ः६० रहेको छ ।
सन् २०१७ मा प्राइभेट कम्पनीको रुपमा दर्ता भएकोमा सन् २०२२ को जुनमा पब्लिक कम्पनीको रुपमा परिणत भइसकेको छ । १.२० हेक्टर क्षेत्रफलमा फैलिएको होटलमा १ सय १० वटा कोठा हुनेछन् ।








कम्पनीले होटल निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराउँदा बीबीप्लस रेटिङ पाएको छ । ७३ करोडमध्ये दीर्घकालीन कर्जा ६४ करोड र अल्पकालीन कर्जा ९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले होटलमा विभिन्न आधुनिक सुविधाको सेवा दिनेछ । होटलमा स्वीमिङ पुल, हेल्थ क्लब, ब्यूटी स्पा र सैलुन सेवा हुनेछ ।
कम्पनीमा सात जना निर्देशक छन् । गौरव अग्रवाल कम्पनीको अध्यक्ष हुन् । उनी शिखर इन्स्योरेन्सको पनि अध्यक्ष हुन् । होटलको प्रबन्ध निर्देशक सुमित कुमार अग्रवालले एमएस ग्रुप अन्तर्गतका होटल हेर्छन् । उनी मेरियट होटल (एभरेस्ट हस्पिटालिटी एन्ड होटल) को अध्यक्ष तथा फेयरफिल्ड बाइ मेरियट (नेपाल हस्पिटालिटी एन्ड होटल) का निर्देशक पनि हुन् ।
राजधानीको कमलादीमा बन्दै गरेको मेरियट ब्रान्डको सुविधा सम्पन्न चौथो होटल हुनेछ ।
फेयरफिल्ड, काठमाडौं मेरियट, अलफ्ट काठमाडौं पछिको चौथो होटल हो, मोक्सी । काठमाडौं अलफ्ट मेरियटको अलफ्ट ब्रान्डको चेन होटल हो भने बाँकी २ मा मेरियटको व्यवस्थापन छ । मोक्सीमा मेरियटको व्यवस्थापन हुनेछ । अर्थात्, मेरियटको व्यवस्थापनमात्र भएको मोक्सी तेस्रो होटल हो ।
एमएस ग्रुप देशकै चलेका व्यवसायी शशीकान्त अग्रवालको हो । होटल सन् २०२५ सम्ममा निर्माण भइ सञ्चालनमा आउने पूर्वनिर्धारित योजना थियो । कोरोना महामारीले काम थोरै प्रभावित पारे तापनि योजनाअनुसार काम सकिएको व्यवसायी अग्रवालले क्लिकमान्डुलाई बताए । उनले भने, ‘केही साना काम बाँकी छन्, हामीले दशैं अघि नै सञ्चालन गर्ने तयारी गरेका छौं ।’ सम्भवतः भदौ नसकिँदै होटल सुरू हुने उनले अपेक्षाा गरे ।
विशेष गरी युवाहरूलाई लक्षित गरेर निर्माण गर्न लागिएकाले परम्परागत होटल भन्दा फरक र ह्यापेनिङ हुने बताइएको छ । होटलमा बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतको सेवाहरू समावेश गरिनेछ । त्यस्तै फिटनेस सेन्टर, आउटडोर पुल पनि रहनेछन् ।







प्रतिक्रिया