समग्र आर्थिक क्षेत्र डामाडोल भएको छ, त्यसलाई सुधार गर्ने गरि बजेट ल्याउनु पर्छ: शशिकान्त अग्रवाल

'नेपालमा सधैं उत्कृष्ट बजेट आउँछ तर कार्यान्वयन हुँदैन'



तपाईं पछिल्लो समय विभिन्न व्यापार व्यवसायका साथै बैंकिङ क्षेत्रमा पनि संलग्न हुनुहुन्छ, तपाईंको पारिवारिक पृष्ठभूमि व्यवसायीक नै हो ?

मेरो वुवाले भारतबाट कपडा ल्याएर त्यसको व्यापार सुरु गर्नुभएको थियो । त्यसमा पनि विशेष गरी सुतिको कपडा बढी उहाँले ल्याउनु हुन्थ्यो । विस्तारै उहाँले तेश्रो मुलुकबाट पनि कपडा ल्याएर व्यापार गर्दै जानुभयो । हामी बुबाको व्यापारमा सघाउँथ्यौं ।

कपडाको व्यापारसँगै हामी मोजा बनाउने घरेलु उद्योग पनि सुरु गर्यौं । यो उद्योग पनि ठिक ठाक चल्दै गयो । व्यापार विस्तारै विस्तार हुँदै गएपछि कपडा बनाउने कारखानामा हात हाल्यौं । यो व्यापारले पनि राम्रै प्रतिफल दिँदै गएपछि विस्तारै धागो बनाउने उद्योगमा हाम फाल्यौं । त्यसपछि क्रमिकरुपमा स्टिल उद्योग, चिनी कारखाना र होटेल व्यवसायसम्मको क्षेत्रमा जोडियौं। यसरी हेर्दा हाम्रो व्यापारको सुरुआत कपडा उद्योगबाटै भएको हो ।

नेपालको कुन कुन क्षेत्रमा यहाँको लगानी छ ?

हामी अहिले पर्यटन क्षेत्रमा नयाँ नवप्रवेशी व्यवसायी हौं । अहिले मेरो ठमेलमा फेयरफिल्ड र नक्सालमा मेरियट गरी दुईवटा पाँच तारे होटेल सञ्चालनमा छन् । तेस्रो होटेल निर्माणाधीन छ । एक वर्षपछि त्यो पनि सञ्चालनमा आउँदैछ । हामी तीनवटै होटेलमा संसारको विख्यात चेन मेरियटसँग आवद्ध भएर उसैको व्यवस्थापनमा होटेल व्यवसाय सञ्चालन गरिरहेका छौं । सम्भवत पछिल्लो समय काठमाडौंमा सबैभन्दा राम्रो हाम्रै होटेल सञ्चालन भइरहेका छन् ।

यसबाहेक हाम्रो महोत्तरीमा एभरेष्ट सुगर मिल र सिराहामा हिमालय चिनी कारखाना पनि सञ्चालनमा छ । महोत्तरीको चिनी कारखाना सञ्चालनमा आएको करिब ३० वर्ष भयो । सिराहाको चिनी कारखाना सञ्चालनमा आएको करिब ११ वर्ष भयो । यसैगरी वीरगञ्जमा एउटा स्टिल उद्योग पनि सञ्चालनमा छ । त्यो उद्योगबाट स्ट्रक्चर, पोल, पाइप, झोलुङे पुललगायत स्टिलका विभिन्न सामान उत्पादन गर्दैआएका छौं ।

यस्तै विराटनगरमा रिलायन्स धागो कारखाना पनि सञ्चालनमा छ । धागो निर्यातमा यो उद्योग अग्रस्थानमा पर्छ । यो उद्योगमा ३५ सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । जसमध्ये करिब १७ सय महिला र २ हजार पुरुष कामदार कार्यरत छन् । यो उद्योग सञ्चालन गरेको पनि करिब ३० बर्ष पुग्यो । यो उद्योगमा समय सुहाउँदो नयाँ नयाँ प्रविधि जडानका कारण लागत खर्च बढ्दै गएको छ । नेपालकै अत्याधुनिक प्रविधि यो उद्योगमा जडान गरिएको छ ।

पछिल्लो समयमा डेडिकेटेड ट्रंकलाइनको विवादले उद्योगी व्यवसायीको आत्मसम्मानमा चोट पुर्‍यायो भनेर निजी क्षेत्रले भन्दै आएका थिए, यो विवादको चुरो कुरो के हो ?

यो बिषयमा मैले बोल्नुपर्ने अहिले खास अवस्था पनि छैन । किनभने मन्त्रीपरिषद्बाट निर्णय भएर सर्वोच्च अदालतको सम्मानीय पूर्वन्यायधिशको संयोजकत्वमा एउटा आयोग गठन भएको थियो । त्यो आयोगले ३-४ महिना लगाएर वास्तविक समस्याहरुको बारेमा अध्ययन गरेर प्रतिवेदन पनि सरकारलाई बुझाइसकेको अवस्था छ ।

अध्ययनको क्रममा आयोगले प्राधिकरण र उद्योगी व्यवसायीसँग भएका सम्पूर्ण कागजातको आधारमा अध्ययन गरेको थियो ।
यो प्रतिवेदनलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेर हुबहु कार्यान्वयनमा ल्याउने कुरा बाहिर आइसकेको छ । उठेका समस्याहरु पनि अब सर्ट आउट हुने भनिएपछि त्यो बिषयमा टिप्पणी गर्नु त्यति सान्दर्भिकता हुँदैन होला । अब त्यो प्रतिवेदन कार्यान्वयनमा गयो भने शंका गर्नुपर्ने कुनै स्थान छैन ।

होटेल क्षेत्रमा प्रवेश गरेको छोटो समयमै मेरियट विदेशी मुद्रा भित्र्याउने होटेलको अग्रसूचीमा परेको छ, कसरी सम्भव भयो ?

होटेल व्यवसायमा लोकेसनले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हामीले अहिले सञ्चालनमा ल्याएको दुई होटेलको लोकेसन पनि निक्कै राम्रो पर्यो । र हाम्रो लागि अर्को प्लस प्वाइन्ट के हो भने मेरियट भनेको संसारको सबैभन्दा ठूलो र फास्टेस्ट ग्रुमिङ भएको चेन हो । यो चेनको व्यवस्थापनमा संसारभर ९ हजार होटेल सञ्चालनमा छन् । प्रत्येक दिन यो चेनको व्यवस्थापनमा संसारभर ३ वटा होटेल खुलिरहेका छन् ।

विश्वभर मेरियटलाई रुचाउने, त्यसको मात्रै मापदण्ड खोज्ने, सेवा सुविधा खोज्ने संसारभर ठूलो जमातमा पर्यटक छन् । मेरियटको आफ्नै कष्टमरको संख्या संसारभर सबैभन्दा बढि छन् । मेरियटको सेवा सुविधा उपभोग गरेका संसारभरका कस्टमर पुनः मेरियटकै सेवा उपभोग गर्ने चाहना राख्छन र उपभोग पनि गर्दैआएका छन् । मेरियटको मार्केटिङ, नेटवर्क, सेवा सुविधा, गुणस्तरतलगायतमा कुनै पनि प्रकारको कम्प्रोमाइज गर्दैन ।

अन्य होटेलमा कस्तो हुन्छ भने एउटा फ्रेन्चाइज हुन्छ र अर्को म्यानेजमेन्ट हुन्छ । धेरै होटेलहरु विदेशी फ्रेन्चाइजमा सञ्चालनमा छन् । हाम्रो भने पूर्ण रुपमा मेरियटले नै व्यवस्थापन गर्दै आएको छ । स-सानो कुरालाई पनि उनिहरुकै अमेरिकन पद्धतीबाट व्यवस्थापन गर्दै आएका छन् ।

त्यसकारण हाम्रो क्वालिटी, सर्भिसलगायतमा कुनै पनि प्रकारको कम्प्रोमाइज छैन । त्यो हेरेर पनि एक पटक आउने कष्टमर फेरि दोहोराएर आउँछन् । मेरोमा यस्तो दोहोराएर आउने कष्टमरको संख्या करिब ३५ प्रतिशत छ । यो एउटा होटेलको लागि ठूलो सफलता हो ।

कस्टमरहरु कस्ता हुन्छन भने एकपटक एउटा होटेलमा बसिसकेपछि चेन्ज गरेर अर्को होटेलमा बसौं भन्ने पनि हुन्छन् । तर हाम्रोमा एक पटक बसेपछि फेरि त्यही कष्टमर बस्न रुचाउँछन । यो भनेको हाम्रो सेवा सुविधा र गुणस्तरका कारणले हो । यो हाम्रो लागि ठूलो उपलब्धता हो ।

नेपालमा विदेशी चेन होटेलको लहर आइरहेको अवस्थामा मेरियटले पनि धमाधम नयाँ नयाँ स्थानमा होटेल सञ्चालन गर्ने चासो देखाएको छ, मेरियट मोक्सी कहिले आउँछ ?

मोक्सीको संरचना करिब करिब बनिसक्यो । कोठाहरु बनाउने काम पनि करिब सम्पन्न भइसकेको छ । भित्रको इन्जिनियरिङसम्बन्धी काम हुँदैछ । अबको १२ देखि १३ महिनामा काठमाडौंको कमलादीमा मोक्सी सञ्चालनमा आउने सम्भावना छ । पहिले नै सञ्चालनमा आइसक्नुपर्ने थियो । तर कोभिडका कारण करिब अढाई बर्ष सम्पूर्ण काम ठप्प भएको थियो । त्यो बेला भएकै होटेल चल्छ कि चल्दैन, आफु बाँचिन्छ कि बाँचिदैंन भन्ने ठूलो अन्यौल थियो । यसले गर्दा ढिलो भएको हो। यो समस्या नआएको भए यो होटेल अहिले चलिरहेको अवस्थामा हुन्थ्यो ।

होटेलमा लगानी थप गर्दै हुनुहन्छ ?

जनकपुर र पोखरामा हामीले होटेल सञ्चालन गर्ने भनेर ठूलो इच्छा पनि थियो । त्यो अनुसार अध्ययन पनि गराएका थियौं । तर कोभिड आएपछि ति सबै इच्छा शिथिल भयो । अहिले बल्ल होटेल व्यवसायको अवस्था रिभाइव हुँदैछ । फेरी बिचार गर्छौ । हाल तत्कालै कमलादीको मोक्सी तयारी हुने क्रममा छ र अर्को निर्माणसम्पन्न हुने क्रममा छ ।

अहिले सरकारले दुग्धजन्य पदार्थको आयातमा प्रतिवन्ध लगाएको छ, ठूला होटेलमा आउने पाहुनाहरु अनिवार्यरुपमा स्तरिय र मापदण्ड पुगेको दुग्धजन्य पदार्थ मात्रै सेवन गर्छन्, यो प्रतिबन्धले होटेल क्षेत्रमा कस्तो समस्या पारेको छ ?

निषेधको राजनीति, नीति, व्यापार कहिले पनि गर्नु हुन्न । अहिले त सरकारले निषेधको व्यापार गरेको छ । स्वदेशी किसान र उद्योगलाई सुरक्षित बनाउनु पर्छ भन्ने बिषयमा दुई मत छैन । स्वदेशी किसान र उद्योगलाई टिकाउनका लागि विभिन्न सेवा सुविधा राज्यबाट उपलब्ध गराइनुपर्छ, यो बिषयमा कुनै बिमति छैन । तर निषेधको व्यापार कदापी हुनु हुँदैन ।

म होटेल व्यवसायीको नाताले भन्नुपर्दा हाम्रै होटेलमा विभिन्न प्रकार खाद्यजन्य पदार्थ तयार गर्न ठूलो परिमाणमा बटर र चिज खपत हुन्थ्यो । बिहान खाजासँग वटर र दुध खाइन्छ । पर्यटकहरुले उपभोग गर्ने मापदण्डको चिज र वटर नेपालमा तयार हुन्न । म आफै विहान टोस्ट खान्छु, त्यो टोस्टमा बटर लगाएर सेवन गर्छु । नेपालमै तयार भएको वटर मलाई मिठो लाग्दैन ।

पर्यटकहरु पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मात्रै चिज बटर उपभोग गर्न रुचाउँछन् । कसैमाथि यहि खाउ भनेर दबाब दिन सकिन्न । पैसा खर्च गरेपछि त्यो अनुसारको जसले पनि सेवा सुविधा र गुणस्तर खोज्छ । एकातिर पर्यटन प्रवद्र्धनको नीति लिएका छौं । अर्कोतर्फ पर्यटकले रोजेको वटर र चिज पनि उपलब्ध गराउन सकेनौं भने त्यो नाराको कुनै अर्थ रहँदैन । विदेशी पाहुनाले रोजे अनुसारको खाद्य पदार्थ उपभोग गर्न पाएन भने यसले नकारात्मक सन्देश पनि प्रवाह हुन्छ ।

अहिले आयातमा प्रतिबन्ध लाग्दा हामीलाई होटेल सञ्चालन गर्न समस्या परेको छ । स्वदेशी किसान र उद्योगलाई सुरक्षा प्रदान गर्न भन्सार शुल्क बढाउनु पर्छ । उदाहरणको लागि भन्सार शुल्क १० लाई बृद्धि गरी २० गरेपनि हुन्छ नि । तर, दुग्धजन्य पदार्थको आयात खुला गरिदिनुपर्छ ।

भन्सार बृद्धि भएपछि हाम्रो स्थानीय उद्योगीलाई पनि मापदण्ड सुधार गर्ने अवसर प्रदान हुन्छ । यो बिषयमा सरकारले गम्भिर रुपमा ध्यान दिन आवश्यक छ । म धागो बनाउँछु भने धागोको आयातमा प्रतिबन्ध लगाउ भनेर कहिले भन्दिन । उद्योगीले भारत, बंगलादेश वा चीनको कपडाको आयातमा प्रतिबन्ध लगाउ भनेर कहिले भन्दैंन । तस्करी रोक्नुपर्छ । भन्सार दरमार्फत स्वदेशी उद्योगलाई जगेर्ना गर्नुपर्छ ।

जनकपुर मिथिला कला, संस्कृति र खानपानको खानी भएको स्थानको साथै हिन्दु धर्मालम्बीहरुको अराध्यदेवी जानकीजी जन्मस्थल रुपमा प्रख्यात छ, यो स्थानमा डिस्टिनेशन म्यारिज हव सञ्चालन गर्न कतिको सम्भव हुनेछ ?

निक्कै महत्वपूर्ण प्रश्न गर्नुभयो । जनकपुरलाई मिथिलाञ्चल पनि भनिन्छ । मेरो पनि त्यो मिथिलाञ्चलबाट केही दानापानी आउँछ । भारतको अयोध्यामा राम मन्दिर त्यत्रो भव्य बनाइएको छ । जनकपुरमा सीता माताको जन्मस्थल छ । यो दुबैलाई जोडेर ब्यापक प्रचार प्रसारको खाँचो छ । राममन्दिरको प्रख्यात पंडित र बाबालाई आमन्त्रित गरेर जनकपुरमा ल्याएर सीताको जन्मस्थलको दर्शन गराउनुपर्छ । किनभने सियारामको पहिलो शब्द सिया अर्थात सिता हो । सिताको दर्शनबिना रामको दर्शन गर्नु सफल हुन्न । यसको लागि अन्तर्राष्ट्रिय मिडियालाई पनि जनकपुर बोलाएर सबैकुरा बुझाउन सक्नुपर्छ ।

यसपछि जनकपुर र अयोध्याबीच सिधा हवाई सेवा सुरु गर्नुपर्छ । सीताको विवाह पनि माइति अर्थात जनकपुरमै भएकाले जनकपुरमा विवाह गर्नु ठूलो महत्व र अर्थ राख्छ । त्यहाँ ठूलो म्यारिज डेस्टीनेशन बनाउन सकिन्छ । यसको लागि स्थानीय निकायको ठूलो सहयोग चाहिन्छ । हावापानी राम्रो भएर काठमाडौं पनि ग्रेट म्यारिज डिस्टीनेशन बन्न सक्छ ।

तर बाधा के छ भने हाम्रोमा एयरलाइन्सको खर्च नै निक्कै महँगो छ । हवाई सेवाको भाडा दर सस्तो बनाउनुपर्छ । म्यारिज डेस्टीनेशनमा सहभागी हुन अधिकाँश भारतीय आउँछन् । पैसा पनि उनीहरुको अत्यधिक खर्च हुन्छ । ३-४ दिनको वेडिङ सेरेमनी हुन्छ, ३-४ करोड खर्च हुन्छ । तर उनीहरु यस्ता कार्यक्रममा सहभागी हुन आउँदा निक्कै समस्या झेल्नुपरिरहेको छ ।
विवाहोत्सवमा सहभागी हुन आउँदा त गहना लगाएरै आउने हो । भारतीयहरुले गहनामा लगानी गर्नुभनेको विवाह ब्रतबन्धमा लगाएर देखाउनु हो । आफ्नो आर्थिक अवस्था झल्काउनु पनि हो । त्यो संस्कृति पनि हो । अहिले कस्तो समस्या देखापरेको छ भने गहना लगाएर आउँदा नाकामै सुरक्षाकर्मीले त्यो गहना त्यहि खोलाएर पठाउने समस्या देखापरेको छ । यो समस्याले गर्दा भारतीयहरु नेपालमा वेडिङ सेरेमनीमा सहभागी हुन आउन अहिले हच्किरहेका छन् ।

नेपाल र भारतबीच सुनको मूल्यमा २-४ हजार तलमाथि होला । ५०-७० हजार रुपैयाँ टिकट खर्च गरेर भारतीय नेपाल आउँछन। त्यसपछि होटेलमा बस्दा थप खर्च गर्छन् । विवाहोत्सवमा सहभागी हुन आउने एउटा कपलको खर्चमात्रै ३ देखि ४ लाख रुपैयाँ हुन्छ ।

यहाँ सुन सस्तो हुँदा यतावाट किनेर उता लान्छन वा उता सस्तो हुँदा उताबाट किनेर नेपालमा ल्याउँछन भनेर विवाहोत्सवमा सहभागी हुन आउने यस्ता कपलमाथि आरोप लगाउने जस्ता हाम्रो संकिर्ण सोच परिवर्तन नगर्दासम्म म्यारिज डेस्टीनेशन बनाउन सहज हुन्न ।

थाइल्याण्डमा म्यारिज डेस्टीनेशनमा सहभागी हुने अन्य मुलुकका पाहुनालाई उच्च सम्मान दिने व्यवस्था छ । हामीलाई म्यारिज डिस्टीनेशन आवश्यक छ । जनकपुर, पोखरा, काठमाडौंलगायतका स्थानमा यस्तो म्यारिज डेस्टीनेशन बनाइनुपर्छ ।

नेपालको धागो उद्योगको अवस्था कस्तो छ ?

धागो उद्योगमा अन्तर्राष्ट्रिय रुपमै मन्दी छाएको छ । मान्छेको पहिलो प्राथमिकता खानपान हो, त्यसपछि मात्रै कपडाको कुरा आउँछ । पैसा नभएपछि ल ठिकै छ नि, यो बर्ष भएन, अर्को बर्ष नयाँ कोट हालौंला भन्ने हुन्छ । त्यो बर्ष पनि भएन भने अर्को बर्ष हाल्छन । अहिले टेक्सटाइलमा अन्तर्राष्ट्रिय मन्दी छ । नेपालमा बिशेष गरी धागो उद्योगको अन्तिम रुप भनेको कपडा हो ।

अहिले नेपालमा चीन र भारतबाट यति ठूलो कपडाको तस्करी हुन्छ, त्यसको कुरै नगरौं । हुँदाहुँदै अहिले बंगलादेशबाट समेत तस्करी भएर आउन थालेको छ, यसले गर्दा नेपालका सम्पूर्ण कपडा उद्योग धरासायी बनेको छ । कपडा उद्योग नै धरासायी भएपछि निश्चित नै धागो उद्योगको अस्तित्व पनि संकटमा पर्छ । यहि हाल छ अहिले हाम्रो धागो उद्योगको । हामीले निर्यात गरेको करिब २ बर्षको धागोको नगद अनुदान ४ प्रतिशत समेत सरकारले उपलब्ध गराएको छैन । हामीले यो अनुदान प्राप्त हुन्छ भनेर लागत मूल्यमा जोडेर निर्यात त गर्यौं । त्यो अनुदान प्राप्त नहुँदा हामी धागो उद्योगीलाई निक्कै मार परेको छ ।

सरकारले जेठ १५ (भोलि) बजेट सार्वजनिक गर्दै छ, उद्योगी, व्यसायीको रुपमा कस्तो अपेक्षा गर्नु भएको छ ?

मलाईं के विश्वास छ भने, जसरी पछिल्लो समयमा नेपालको समग्र आर्थिक क्षेत्रहरु डामाडोल भएको छ, त्यसलाई सुधार गर्ने उद्देश्य राखेर नै अर्थमन्त्रीजीले बजेट ल्याउनु हुन्छ । विभिन्न कार्यक्रममा उहाँसँग भेट हुँदा र छलफल हुँदा बजेटको बिषयमा साकारात्मक धारणा रहेको पाएको छु ।

अन्य मुलुकको तुलनामा नेपालमा उत्कृष्ट बजेट आउँछ तर कार्यान्वयन कहिले हुँदैन । वर्तमान अर्थमन्त्रीज्यूले कार्यान्वयन हुने खालको उद्योगी, व्यवसायी, सर्वसाधारण सबैलाई समेट्ने गरी बजेट ल्याउने जानकारी दिनुभएको छ, हामीलाई उत्कृष्ट र कार्यान्वयन हुने खालको बजेट आउने अपेक्षा गरेका छौं ।

एउटा विषय जोडिहालौं । हाम्रो धागो उद्योगबाट निर्यात गरेको धागोको ४ प्रतिशतका दरले निर्यात प्रोत्साहन अनुदान हालसम्म पाएका छैनौं । यो बजेटले त्यो बिषयलाई पनि सम्बोधन गर्नुपर्छ । बजेटमा घोषणा भएको बिषयलाई अर्थमन्त्रीले फलो अप गरिदिए त्यो सफल हुन्छ । घोषणा गरेको बिषयलाई कार्यान्वयनमा लैजान आवश्यक पर्ने नीति, नियमहरु पनि सरकारले समय रहँदै परिवर्तन गरिदिनुपर्छ । अर्थमन्त्रीले नै कडाईका साथ बजेटलाई कार्यान्वयनमा ल्याउनुपर्छ मेरो मान्यता हो ।


क्लिकमान्डु