अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो ‘तेरी मेरी कहानी’

0
Shares

काठमाडौं । निस्वार्थ प्रेमको अतुलनीय उदाहरण बनेका सिर्जना सुवेदी र विवेक पंगेनीको सम्मानमा बनेको हिन्दी गीत ‘तेरी मेरी कहानी’को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । अर्जुन कटुवालले निर्माण गरेको म्युजिक भिडियो आइतबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धेरै मन पराएका थिए । बिरामी विवेकलाई सिर्जनाले दिएको प्रेमलाई धेरैले निस्वार्थ प्रेमको उदाहरणका रुपमा लिएका छन् ।

मानव कौलको शब्द रचनामा तयार भएको गीतको संगीत संयोजन गरेका कटुवालले गीतमा स्वर पनि दिएका छन् । गीतमा कटुवालसँगै पम्फा चाम्लिङ र सोनिया उपाध्यायको पनि स्वर रहेको छ ।

चर्चित टिकटकर वर्षा श्रेष्ठ र निमेष श्रेष्ठको मोडलिङ रहेको म्युजिक भिडियो निर्देशन आयुष महर्जनले गरेका हुन् ।

सिर्जना र विवेकको प्रेमकथाले निस्वार्थ प्रेमको अतुलनीय उदाहरण प्रस्तुत गरेकाले अरुलाई पनि यसले प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो गीत बनाएको निर्माता, संगितकार र गायक कटुवालले बताए ।

‘उहाँहरूको प्रेम नेपालमा जस्तै भारतमा पनि चर्चित रहेको कारण मैले हिन्दीमा गीत गरेको हुँ,’ अर्जुन भन्छन्, ‘भविष्यमा यसलाई नेपालीमा पनि बनाउने सोचिरहेको छु ।’

सिर्जनाले भोगेको दु:ख केही मात्रामा भए पनि दर्शकले महशुस गरुन् भन्ने चाहना रहेको उनले बताए ।

वरिष्ठ गायक तथा संगीतकार आनन्द कार्कीले गीतको म्युजिक भिडियोले आफ्नो मन छोएको भन्दै प्रशंसा गरे ।

कटुवाल बलिउडमा काम गरिरहेका नेपाली युवा संगितकार हुन् । उनले रिसव सेठ्ठीको चर्चित भारतीय चलचित्र कान्तारा लगायतका चलचित्रमा पनि काम गरिसकेका छन् । यस्तै, हद से, हक हे तेरा लगायत आधा दर्जन हिन्दी गीत पनि दर्शकसामु ल्याइसकेका छन् ।