
काठमाडौं । सर्वोच्च अदालतले अनलाइन जुवा, सट्टेबाजी र क्रिप्टोकरेन्सीको गैरकानुनी कारोबारबारेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
कानुन संकायको स्नातक तह बीएएलएलबीमा अध्ययनरत सिद्धार्थ यादव, राजाबाबु साह र सन्तोष कुमार यादवले भदौ ४ गते सर्वोच्च अदालतमा दायर गरेको रिटमा ५ गते सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
रिटमा नेपालमा कानुनद्वारा बन्देज गरिएको जुवा, सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी तवरले अनलाइन माध्यमबाट विभिन्न एप्स र वेबसाइटहरुबाट भइरहेको र विभिन्न माध्यमबाट तिनका प्रचारप्रसार विज्ञापन भइरहेकोले त्यसलाई बन्द गर्न परमादेश जारी गर्न माग गरिएको छ ।
विभिन्न एप्स, वेबसाइटहरु, सामाजिक सञ्जाल लगायत माध्यमबाट व्यापक रुपमा प्रचार गरि गैरकानुनी गतिविधि निरन्तर हुँदै आएको रिटमा जनाइएको छ ।
यस्ता एप्स र वेबसाइटहरुको प्रयोगले देशको आर्थिक सुरक्षामा खतरा, विदेशी मुद्दाको अनियमित बहिर्गमन, किशोर र युवा पुस्तामा गलत प्रभाव तथा साइबर अपारधको वृद्धि भइरहेको रिटमा उल्लेख गरिएको छ । देशको आर्थिक सुरक्षामा खतरा भएकाले विभिन्न देशले यस्ता एप्स र वेबसाइटहरुलाई बन्द गरेको उल्लेख गरिएको छ ।
जुवा सट्टेबाजी र क्रिप्टीकरेन्सी कारोबार गराउने प्लेटफर्महरुले बैंकिङ क्रिप्टो डिजिटल वालेटहरु प्रयोग गरि सजिलै अवैध रकम विदेश पठाइरहेको र यसले विदेशी मुद्दाको निकासी र राजस्व छलिमा प्रत्यक्ष असर पुर्याएको दाबी गरिएको छ ।
यस्ता एपहरुको प्रचारप्रसार डिजिटल प्लेटफर्ममा मात्र नभइ खेलकुद गतिविधि र सञ्चारगृहहरुबाट पनि एप्स र वेबसाइटको नाम लोगो र अन्य विवरणमा परिवर्तन गरी विभिन्न विधिबाट प्रचार भएको पाइएको रिटमा उल्लेख छ ।
रिटमा यस्ता कारोबार गर्ने एप्स र वेबसाइटहरुलाई बन्द गर्न दूरसञ्चार प्रधिकरण, विज्ञापन बोर्डलाई आदेश गर्न माग गरीएको छ ।
आर्थिक अपराधविरुद्ध प्रभावकारी नीति कडाइका साथ निगरानी र सार्वजनिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बाध्यकारी आदेशसहित परमादेशको माग गरिएको छ ।








प्रतिक्रिया