
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएकी छन्।
बिहीवार काठमाडौंमा सम्पर्क कार्यालयको उद्घाटनमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको टिप्पणी गरिन् ।
आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको उनको जिकिर छ । व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको भण्डारीको भनाइ छ ।
उनले राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको बताइन् ।
‘हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । आयातमा आधारित भन्सारमा चलिरहेको छ । त्यसले व्यापार सन्तुलन भइरहेको छैन । व्यापार घाटा भइरहेको छ । वैदेशिक ऋण बढिरहेको छ । दलाल पुँजी फस्टाइरहेको छ । राष्ट्रिय पुँजी फस्टाउन सकिरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो,’ उनले भनिन् ।
पूर्वराष्ट्रपति भण्डारीले युवाहरुलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताइन् । नवपुस्ताहरुको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया