‘करोडौँ चन्दा दिन तयार हुने बोर्डिङले ५ विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा किन कोकोहोलो ?’

861
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले करोडौं रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो ।

लिम्बुले अहिले आएको विद्यालय शिक्षा विधेयक प्रगतिशिल रहेको बताए । यसमा कोकोहोला गरिरहन जरुरी नरहेको उनको भनाइ छ ।

सरकार निजी विद्यालयको घाँटी समात्ने गरी अघि नबढेको उनले बताए । नेताहरु एउटै निर्णयमा अडग रहन नसक्दा पनि समस्या आइरहेको उनको भनाइ छ ।

लिम्बूले यसो भने

यो विधेयक प्रगतिशिल छ । शिक्षक साथीहरुले जुन ढंगको कोकोहोला गरिरहनुभएको छ, कतिले कुनै नेतालाई घेरेका छन्, अर्कोले अर्को नेतालाई घेरेका छन् । नेताहरु अडिन नसकेको कारणले पनि यो समस्या खडा भएको छ । एउटा ग्रुप गएर टिचलाई खबरदार भन्यो । नेता लगलग काम्छन् । अर्को नेताकोमा गयो, अर्को पनि लगलग काम्छ । अडिँदै अडिँदैनन् । हामीले नेतालाई भनिसकेका छौँ, मन्त्रीज्यु गर्नुप¥यो भनेपछि मन्त्री पनि लगलग । खुट्टा नकमाइकन हामीले यो काम गर्नुपर्छ । निजी क्षेत्रको साथीहरुलाई विश्वासमा लिएर उत्तरदायी बनाएर जानेकुरामा छौँ । उहाँहरुको घाँटी समात्ने प्रक्रियामा छैनौँ । महंगी बढेको अवस्था छ । आवश्यकता दिनका दिन बढ्दै गएको छ । शुल्क बढाएकै अवस्था छ । त्यत्रो ठूलो आत्तिहाल्नैपर्ने अवस्था होइन । चन्दा दिने बेलामा करोडौँ दिन तयार हुने निजी क्षेत्रका साथीहरु हामीलाई थाहा छ, पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउने कुरामा खुट्टै कमाउनुपर्छ भन्नेकुरा होइन नि ।