बिके श्रेष्ठको निधनपछि छोरी प्रतिमालाई राष्ट्र बैंकले दिलाएको व्यावहारिक न्याय, अर्बौंको सेयर नामसारी गर्ने बाटो खुला

23.1k
Shares

काठमाडौं । २०८० कात्तिक ६ गते भेट्रान बैंकर बिके (बिष्णुकृष्ण) श्रेष्ठको निधन भयो । देशकै अब्बल वाणिज्य बैंक मध्येको एक एभरेष्टका संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको निधनबाट नेपाली बैंकिङ जगतले अपुरणीय क्षती बेहोर्‍यो ।परिवारले त झनै ठूलो क्षति व्यहोर्‍यो ।

बिकेको नाममा भएको सेयर नामसारीको विषयले त्यसपछिका दिनमा परिवारलाई पिरोल्यो ।

श्रेष्ठ उनै हुन्, जसले भारतको पञ्जाब नेसनल बैंकलाई नेपाल ल्याए । भारतमा रहेको आफ्नो प्रभाव र बटुलेका साथीभाइलाई नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्न हौस्याए ।

बिके श्रेष्ठ निडर, इमानदार एवं कुशल उद्यमी थिए । उनकै पहलमा नेपालको वित्तीय क्षेत्रमा पञ्जाब नेसनल बैंकको लगानी भित्रिएको हो । नेपालमा भित्रिएका भारतको धेरैजसो लगानी भारतीय पक्षकै सर्तअनुसार आउँछ । तर बिकेले आफूले तय गरेको सर्तमा भारतीय लगानी नेपाल ल्याएका थिए ।

भनिन्थ्यो, पञ्जाब नेसनलमा पनि बिकेको राम्रै चल्छ । बिकेको एक्लो प्रयासमार्फत् एभरेष्टले गतिलो कर्पोरेट कल्चर सिकेको थियो । बैंकमा सीईओ पञ्जाबले पठाउँथ्यो, तर काम गर्ने तौरतरिका बिकेले सिकाउँथे । हरेक फाइल आफैं केलाउँथे । कर्मचारी नियुक्ति आफैं अन्तर्वार्ता लिएर गर्थे । बिके यति टावरिङ पर्सनालिटी थिए कि, उनका अगाडि सबै डराउँथे ।

एभरेष्ट बैंक आज जुन परिस्थितिमा आइपुगेको छ, त्यो बिकेको एक्लो प्रयासले आएको भन्दा अत्युक्ति नहुने बैंककै सिनियर कर्मचारीहरु बताउँछन् ।

बिके श्रेष्ठ २०५२ देखि जीवनकालको अन्तिम दिनसम्म एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्ष थिए । बैंकले २०५१ मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालन अनुमति पाएको थियो ।

ललितपुरको नेवार परिवारमा वि.सं १९८६ सालमा जन्मिएका बिकेले भारतको कलकत्तामा उच्च शिक्षा र अमेरिकाबाट एमबीए गरे । उनी अमेरिकाबाट एमबीए गर्ने पहिलो नेपाली हुन् । अमेरिकी म्यानेजमेन्ट कल्चर सिकेपछि केही ठूला कम्पनीमा काम गरे । पछि उनी भारत पसे ।

श्रेष्ठले भारतमा धेरै उद्योग सञ्चालन गरेका छन् । त्योमध्ये एक हो, एसबीएल ग्लोबल नामको होमियोप्याथी कम्पनी । बिकेलाई भारतको टप होमियोप्याथी बिजनेसम्यान मानिन्छ । होमियोप्याथी औषधि उत्पादनका हिसाबले बिकेको कम्पनी भारतकै ठूलोमध्ये एक हो ।

उनले कलकता, सिक्किम, दिल्लीलगायत सहरमा विभिन्न उद्योग व्यवसाय गरे । २००७ देखि २०१७ सालसम्म राजनीति पनि गरे। बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत नेतासँग उनको राम्रो सम्बन्ध थियो ।

नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई पनि बैंकिङ लाइसेन्स दिने भएपछि बिकेले एभरेष्ट बैंक स्थापनाका लागि आवेदन दिए ।एभरेष्टमा सुरुमा कलकताको युनाइटेड बैंक अफ इन्डिया र नेपाली लगानीकर्ताको संयुक्त लगानी थियो । केही वर्षपछि युनाइटेडको स्वामित्व पञ्जाब नेसनल बैंकले किन्यो । युनाइटेड र पञ्जाबलाई नेपाल ल्याउन बिकेले आफ्नो व्यक्तिगत सम्बन्धको प्रयोग गरेका थिए । बिकेलाई नजिकबाट चिन्नेका अनुसार पञ्जाबमा पनि उनको राम्रै चल्थ्यो । अहिले एभरेष्ट बैंकमा पञ्जाबको २० प्रतिशत सेयर लगानी छ ।

बैंकमा बिकेको ९.१८ प्रतिशत अर्थात् ९८ लाख २१ हजार ५ सय ११ कित्ता सेयर स्वामित्व थियो । प्रतिकित्ता १ सय रुपैयाँका दरले ९८ करोड र बजारमा कारोबार पछिल्लो मूल्य (संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँ)का आधारमा करिब डेढ अर्ब रुपैयाँ उनको सम्पत्ति बैंकमा थियो ।

पारिवारिक स्रोतका अनुसार उनले शेषपछि आफ्नो सम्पत्ति कसको हुने भन्ने खुलाएका थिएनन् । आफू मरेपछि बैंकको सेयर कसको नाममा हुने भने गोप्य बकश गरिदिएका थिए । बकशपत्र एउटा खाममा शीलबन्दी गरिएको थियो र ‘म मरेपछि मात्र यो खाम खोल्नु’ भनेकाले कसैले पनि बिकेले बकसपत्रमा के लेखेका छन् भनेर हेर्ने आँट गरेनन् ।

जीवनको उत्तरार्धमा आइपुग्दा बिके शारिरीक रुपमा निकै कमजोर बनिसकेका थिए । तर, उनी बैंकको काममा भने सक्रिए नै थिए । उनका एक छोरा र दुई छोरी थिए । तर, बिके बितेर गएपछि उनको स्वामित्व कसको हुन्छ ? भन्ने कसैलाई थाहा थिएन । त्यो नितान्त बिकेको एकल निर्णय थियो ।

९४ वर्षमा बिकेको निधन भयो ।

केही समयपछि बिकेले गोप्य बकशमा के लेखेका रहेछन् ? आफ्नो उत्तराधिकारी को हुन्छ ? भन्ने घोषण गरेका रहेछन् भनेर बुझ्ने बेला भयो ।

पारिवारिक स्रोतका अनुसार उनले गरेको बकशपत्र खोल्दा थाहा भयो कि ‘आफ्नो शेषपछि बैंकमा रहेको सबै स्वामित्व छोरी प्रतिमा श्रेष्ठको नाममा होस्’ भनेर लेखेका रहेछन् ।

प्रतिमा श्रेष्ठ

अब पर्‍यो फसाद । प्रतिमाको नाममा पहिल्यै एभरेष्टको १४.७७ प्रतिशत अर्थात् १ करोड ७३ लाख ८६ हजार ७ सय २२ कित्ता सेयर थियो । उनी पञ्जाब नेसनलपछि सबैभन्दा धेरै स्वामित्व रहेको व्यक्ति हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) ले ज्वाइन्ट भेन्चरका विदेशी बैंकबाहेक कम्पनीसँग कुनै एउटा बैंकमा १५ प्रतिशतभन्दा बढी स्वामित्व हुने नपाउने व्यवस्था गरेको छ । बाफियाको दफा ४१ ले यस्तो व्यवस्था गर्दा दफा ९९ को उपदफा ३(क) ले यदी कसैले राष्ट्र बैंकको निर्देशन अटेर गरेमा सेयर जफत वा रोक्का वा अन्य व्यक्तिलाई बिक्री गर्न सञ्चालक समितिलाई निर्देशन दिन सक्ने प्रबन्ध गरिएको छ ।

तर, बिके बितेर गइसके । उनले देशको बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्ने हो भने उनले भने अनुसार गर्नु नै भलो हुने कुरो उठ्यो ।

बिकेको बकशअनुसार एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्यो । पत्रको विवरण थियो, ‘स्वर्गीय बिके श्रेष्ठको स्वामित्वमा रहेको बैंकको हिस्सा उहाँकै इच्छाअनुसार छोरी प्रतिमाको नाममा नामसारी गरिपाउँ’ भन्ने ।

सुरुमा बैंकले माग गरेअनुसार निर्णय राष्ट्र बैंकले गर्न सकेन । किनकी, बिकेको नाममा रहेको ९.१२ प्रतिशत स्वामित्व छोरी प्रतिमाको नाममा नामसारी गर्दा प्रतिमाको कुल हिस्सा २३.९५ प्रतिशत पुग्थ्यो । जुन सरासर बाफियाको प्रबन्ध विपरित हुन्थ्यो । यदी बैंकले भनेअनुसार गरिदिने हो भने निर्णय गर्ने अधिकारीले अख्तियारीको दुरुपयोग गरेको ठहरिन्थ्यो ।

त्यसैले बैंकले पठाएको फाइल राष्ट्र बैंकका सम्बन्धित अधिकारीको ड्रयरमा महिनौं थन्कियो ।

झट्ट हेर्दा वा सुन्दा प्रतिमा र बैंकमाथि अन्याय भएको हो । यो सरासर संविधानले प्रत्याभुत गरेको सम्पत्ति सम्बन्धी हकको उपयोगबारे अधिकार विपरित थियो । बिकेलाई लाग्यो, छोरीलाई दिउँ । आफ्नो सोचअनुसार बकस पनि गरे । छोरीको अधिकार पनि हो, बुबाले दिन्छु भनेको दानबकस लिनु ।

अर्कातर्फ बाफियाले प्रष्टैसँग १५ प्रतिशतभन्दा बढी स्वामित्व हुने नपाउने व्यवस्था गरेको थियो ।

त्यसैले राष्ट्र बैंकले एउटा यस्तो उपायको खोजी गर्नु थियो, जुन उपायले प्रतिमालाई सेयर दिलाओस् र बाफिया विपरित पनि नहोस् ।

महिनौं भइसकेको थियो । बैंकले राष्ट्र बैंकलाई के छ प्रगति भनेर सोधिरहन्थ्यो । राष्ट्र बैंक ‘हुँदै छ’ मात्र भन्थ्यो । राष्ट्र बैंकका अधिकारीहरु के गर्ने भन्ने कानुनी राय लिन थाले ।

देशको बैंकिङलाई अद्वितीय योगदान दिएका बिकेको सेयर जफत गर्नु वा उनको भावना विपरित काम गर्नु राष्ट्र बैंक र त्यहाँका अधिकारीहरु चाहँदैन थिए । राष्ट्र बैंकलाई संविधानले दिएको सम्पत्ति सम्बन्धी अधिकारबारे पनि अवगत थियो ।

त्यसमाथि सेयर ट्रान्स्फरको प्रस्ताव फेरेर ल्याउनु भन्न पनि मिलेन । किनकी, जसले छोरीलाई सेयर दिन चाहे, उनी यस धर्तीमै छैनन् ।

फिट एन्ड प्रपर टेस्ट गर्दा प्रतिमालाई दिन नमिल्ने पनि भन्न राष्ट्र बैंकले पाएन । किनकी, उनी पनि साबिककै सेयरधनी हुन्, त्यसमा पनि सबैभन्दा ठूलो । बैंकको निवेदन सच्याएर ल्याउनुस् भन्न पनि मिलेन ।

पारिवारिक स्रोतले पनि राष्ट्र बैंकलाई त्यसै भन्यो, ‘जुन बेला बिकेले बकस गरेको खाम खोलियो, उनी संसारमै थिएनन् ।’

कानुनी पाटो केलाउने क्रममा २०७५ मंसिरमा सर्वोच्च अदालतले गरेको एउटा फैसला भेटियो । सिद्धार्थ नगरमा रजिस्टर्ड कार्यालय रहेको नाम पनि एभरेष्ट नै रहेको फाइनान्स कम्पनीमा यस्तै घटना घटेको रहेछ ।

रणबहादुर शाह नाम गरेका एक व्यक्तिले आफ्नो सेयरमध्ये २१ हजार कित्ता छोरी मिता शाह (राणा) लाई बकस गरिदिएका रहेछन् । तर, राष्ट्र बैंकले दान बकस लिनेदिने उल्लेखनीय सेयरधनी (५ प्रतिशत स्वामित्व भएको)ले सम्बन्धित संस्थाको सेयर किनबेच गर्न नपाउने सर्त राखिदिएको रहेछ । यस्तो सर्त राखेकाले शाहले सर्वोच्च ढकढक्याएका रहेछन् । सम्पत्ति राख्ने सम्बन्धी मौलिक हकमै ठाडो आघात परेको भनेपछि सर्वोच्चले पनि निवेदकको मागअनुसार बिनासर्त सेयर ट्रान्स्फर गरिदिएको रहेछ ।

सर्वोच्चको सो नजीरले राष्ट्र बैंकलाई सजिलो भयो । बाफियाले नदिनु भने पनि संविधानले रोकेन । ऐनभन्दा संविधान नै माथि छ। सर्वोच्चले पनि त्यस्तै ब्याख्या गरिदिएको छ ।

अब, बिकेको सेयर प्रतिमाको नाममा सार्न दिने निष्कर्षमा राष्ट्र बैंक पुग्यो । तर, बाफियाको व्यवस्था संरक्षण र कार्यान्वयन गराउनु राष्ट्र बैंकको दायित्व पनि हो । त्यसैले १५ प्रतिशत ननाघ्ने गरी सेयर ट्रान्स्फर गर्न दिने उपाय निस्कियो ।

अब बिकेको सेयर क्रमैसँग प्रतिमाको नाममा ट्रान्स्फर हुनेछ । तर, प्रतिमाको सेयर हिस्सा १५ प्रतिशत नाघ्नु भएन । यसबीचमा बैंकले वितरण गर्ने लाभांशको हक पनि प्रतिमालाई नै लाग्ने भयो ।

बुबाको सेयर आफ्नो नाममा सार्न प्रतिमाले आफ्नो नामको सेयर विस्तारै बेच्नुपर्ने भयो । आफ्नो हिस्सा घटेपछि १५ प्रतिशत ननाघ्ने गरी सेयरको प्रतिमाको खातामा सर्छ ।

प्रतिमाको खातामा त सार्ने तर कहिलेसम्म ? प्रतिमाले बेच्छु भन्नेवित्तिकै कोही खरिदकर्ता भेटिएला त ? यी दुई प्रश्नले राष्ट्र बैंकलाई पुनः सोच्न बाध्य बनायो ।

कोही व्यक्तिले सेयर बेचेर ऋण तिर्छु भन्दा पनि सेयर बिक्री भएको छैन । त्यति धेरै अर्थात् १ करोड कित्ता सेयर कसले किन्छ ? खरिदकर्ता कहाँ खोज्ने ? यहाँ धेरै बैंकका संस्थापकले सेयर बेच्न खोज्दा किन्ने मान्छे पाइरहरेका छैनन् ।

त्यसमाथि बाफियाले त यति समयभित्र बेचिसक्नु भनेर कहीँ कतै भनेको छैन । संविधानको मर्म र सर्वोच्चको नजीरका आधारमा बाफियाभन्दा फरक उपाय निकालिएको हो । यसमा राष्ट्र बैंकले आफ्नो बिक्री गर्न नदिएर कसैलाई अन्याय गर्न नुहने निष्कर्ष निकाल्यो । त्यो पनि कसको भन्दा नेपालमा बैंकिङ कल्चर सिकाएको, सबैले गनेमानेको व्यक्तिको ।

राष्ट्र बैंकले निकालेको व्यवहारिक सोल्युसन थियो, ‘प्रतिमाले नामको बिक्री गर्दै जाने, बुबाको नामको सेयर पनि क्रमैसँग ट्रान्स्फर गर्दै जाने र बाफियाले भनेअनुसार १५ प्रतिशत पनि नकटाउने ।’

बिके श्रेष्ठको निधन र त्यसपछि सिर्जना भएको यो समस्यालाई नजिकबाट हेरेका केन्द्रीय बैंकका एक उच्च अधिकारीले क्लिकमान्डुसँग भने, ‘बाफियाको दफा ४१ को उपदफा ३ र ४ अनुसार हुने गरी स्वामित्व राख्ने गरी सुविधा दिएका छौं । तर, कति समयमा सेयर बेचिसक्नुपर्छ भनेर तोकेका छैनौं ।’

उनका अनुसार यो कार्यको प्रगति राष्ट्र बैंकको सुपरीवेक्षण विभागले हेर्नेछ ।

‘समय तोक्ने कुनै अधिकार राष्ट्र बैंकलाई छैन । बाफियामा केही भनेको छैन । सेयर बेच्न प्रक्रिया सुरु गरेको हुनुपर्छ । बैंकले सम्भावित ग्राहक खोजेको हुनुपर्छ । त्यसपछि मात्र प्रतिमाको नाममा ल्याउने प्रक्रिया राष्ट्र बैंकले स्वीकार्नेछ,’ ती अधिकारीले भने। यदी त्यसो भएन भने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्नेछ ।

यो व्यवहारिक न्याय दिँदा राष्ट्र बैंकले बाफिया, संविधान र सर्वोच्चको ब्याख्या भुलेको छैन । किनकी, होल्ड गर्न पाउने सीमा बाफियाको दफा ४१ को उपदफा ३ बमोजिम हुन्छ, बुबाले छोरीलाई दिएको उपहार छोरीले पनि पाउँछिन् र राष्ट्र बैंकले पनि यो विषयलाई सुझबुझ तबरले सल्ट्याएको छ ।

तर, प्रतिमाले आफ्नो नाममा भएको सेयर अहिलेसम्म पनि बिक्री नगरेको हुँदा बुबाको सेयर उनको नाममा नामसारी भने भएको छैन ।