अक्सनमा सर्वाधिक रकममा बिक्री भएका ४ खेलाडीको विगत कस्तो छ ?

546
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि मिनी अक्सनमा चार खेलाडी १५ लाखमा बिक्री भए ।

‘ए’ क्याटेगोरीमा कुल ९ खेलाडी थिए । तीमध्ये मोहम्मद अदिल आलम, पवन सर्राफ, देव खनाल र अर्जुन साउदका लागि एकभन्दा बढी टोलीले बोली लगाएपछि अधिकतम मूल्यमा बिक्री भए । यी खेलाडीको विगत कस्तो छ त ? केही तथ्यहरू बुझौँ।

दुई खेलाडी खराब लयबाट गुज्रिरहेका छन् भने दुई खेलाडी फरक कारणले लामो समयपछि ठूला प्रतिस्पर्धा खेल्दैछन् । अदिल र सर्राफ दुवै उत्कृष्ट अलराउण्डर हुन् ।

नेपाली यू–१९ क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका देव र अर्जुन ब्याटर हुन् । झन्डै दुई वर्षभन्दा बढी समय प्रतिबन्धमा परेपछि अदिलले पहिलोपल्ट एनपीएल खेल्दैछन् । पवनले पनि चोटका कारण पहिलो संस्करण गुमाएका थिए ।

अर्जुन गत संस्करण लुम्बिनी लायन्सबाट र देवले कर्णाली याक्सबाट खेलेका थिए । तर दुवैलाई अक्सन अगाडि फ्रेन्चाइज टोलीले रिलिज गरे ।

विकेटकिपर ब्याटर अर्जुन पछिल्लो समय राम्रो फर्ममा छैनन् । देवले पनि लय समात्न संघर्ष गरिरहेका छन् । त्यसैले यी दुवैले टोलीमा स्थान बनाउन धेरै मेहनत गर्नुपर्नेछ ।

यता हार्ड हिटरद्वय अदिल र पवनले पनि ठूलो स्टेजमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । २०७९ पछि पहिलोपल्ट आधिकारिक प्रतियोगितामा खेल्न लागेका अदिलका लागि सहज हुनेछैन ।

पवनले भने गत मार्चमा एकदिवसीय फम्र्याटको पिएम कप खेलेका थिए । त्यहाँ उनले दुई अर्धशतक बनाएका थिए । तर स्टार खेलाडीले भरिने टी–२० फम्र्याटको एनपीएलमा उनका लागि सहज भने हुनेछैन ।

मध्यक्रममा ब्याटिङ गर्ने पवन बलिङमा पनि उत्कृष्ट योगदान गर्न सक्छन् । यता अदिल पनि एक समय नेपाली टोलीका उत्कृष्ट अलराउण्डर हुन् । तर उनले त्यो लय फर्काउन समय लगाउन सक्छन् ।

नेपाली टोली हेरिसकेका मोन्टी देसाईले उनको पुनरागमनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । मिनी अक्सनमा यी चारै खेलाडीमाथि सबै फ्रेन्चाइज टोलीले क्षमता देखेर नै सर्वाधिक बोली लगाएका हुन् ।

अक्सनबाट नेपाल प्रिमियर लिग सिजन–२ का लागि पवन सर्राफ १५ लाख रुपैयाँमा गोलाप्रथाबाट कर्णाली याक्समा बिक्री भएका छन् ।

एनपीएल क्रिकेट सिजन–२ को मिनी अक्सनमा अदिल आलम सर्वाधिक रकममा बिक्री हुने खेलाडीमा रहे । उनलाई सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाएको थियो । तर काठमाडौँ गोर्खाज भाग्यमानी बन्दै अदिललाई आफ्नो टोलीमा ल्याउन सफल भयो । ‘ए’ श्रेणीमा रहेका अदिलको न्यूनतम १० लाख मूल्यबाट सुरु भएको थियो ।

सबै ८ टोलीले अधिकतम १५ लाखसम्म बोली लगाएपछि गोलाप्रथामा अदिललाई गोर्खाजले पाएको थियो । गत वर्ष पहिलो संस्करणको अक्सनमा १४ मध्ये लक्की ‘ड्र’ मा १२ पटक अभागी भएको गोर्खाजले यसपालि अक्सनमा सबैभन्दा बढी प्रतीक्षाको खेलाडी बनेका अदिल पाउन सफल भयो ।

क्याटेगोरी “ए“ का पवनको न्यूनतम रकम १० लाख रुपैयाँ हो । उनीमाथि कर्णाली याक्स, लुम्बिनी लायन्स, विराटनगर किङ्स र चितवन राइनोजले बोली लगाएका थिए । कर्णालीले अक्सनमा पहिलो खेलाडी खरिद गरेको हो । एनपीएलको दोस्रो संस्करणको अक्सनमा अर्का विकेटकिपर अर्जुन साउद गोलाप्रथाबाट चितवन राइनोज पुगे ।

अर्जुन १५ लाख रुपैयाँमा गोलाप्रथाबाट किन्न चितवन भाग्यमानी भएको हो । क्याटेगोरी ‘ए’ का अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किङ्स र चितवनले बोली लगाएका थिए ।

अर्जुनको न्यूनतम रकम १० लाख रुपैयाँ हो । यसअघि देव खनाल र हेमन्त धामी गोलाप्रथाबाट बिक्री भए । देव खनालमाथि १५ लाखको बोली लागेको थियो ।

नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख नै बोली लगाए । त्यसपछि गोलाप्रथाबाट चितवन राइनोजले उनलाई भित्र्याउन सफल भयो । उनी यसअघि कर्णाली याक्समा थिए । दुईवटा खेलमा उनले महत्वपूर्ण इनिङ पनि खेलेका थिए ।

अर्का खेलाडी सूर्य तामाङ १० लाखमा विराटनगर किङ्समा अनुबन्धित भएका छन् । गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा थिए । लुम्बिनीले उनलाई यसवर्ष रिलिज गरेको थियो । क्याटेगोरी ‘ए’ का सूर्यमाथि विराटनगरले न्यूनतम रकम १० लाख रुपैयाँमा खरिद गरेको हो ।

सूर्यमाथि विराटनगरले मात्र बोली लगाएको थियो । नेपाल यू–१९ टिमका कप्तान हेमन्त धामी एनपीएलको दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । क्याटेगोरी ‘बी’ का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो । पोखरा, लुम्बिनी, सुदूरपश्चिम र जनकपुरले हेमन्तका लागि बोली लगाएका थिए । गोलाप्रथाबाट हेमन्त १० लाख रुपैयाँमा बिक्री भए ।

नेपाल पुलिस क्लबका विकेटकिपर दिलीप नाथ दोस्रो सिजनको एनपीएलका लागि लुम्बिनी लायन्समा आवद्ध भएका छन् । उनी १० लाख रुपैयाँमा लुम्बिनी लायन्समा आवद्ध भएका हुन् । उनी पहिलो सिजनमा पोखरा एभेन्जर्सका लागि खेलेका थिए ।

बायाँ हाते अलराउण्डर सन्तोष यादव काठमाडौँ गोर्खाजमा आवद्ध भएका छन् । उनी पनि लक्की ड्रमार्फत काठमाडौँमा आवद्ध भएका हुन् । क्याटेगोरी ‘बी’ का खेलाडी सन्तोष अधिकतम मूल्य १० लाखमा बिक्री भए । काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले अधिकतम मूल्यमा बोली लगाउँदा लक्की ड्रमा काठमाडौँले सन्तोषलाई आफ्नो बनायो ।

एनपीएलको दोस्रो संस्करणका अक्सनबाट जनकपुर बोल्ट्सले आदित्य महतालाई लक्की ‘ड्र’ मार्फत पायो । ‘सी’ क्याटेगोरीका आदित्यका निम्ति जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । त्यसपछि लक्की ‘ड्र’ हुँदा जनकपुरले बाजी मारेको हो ।

त्यस्तै, अक्सनबाट लुम्बिनी लायन्सले विशाल पटेललाई अनुबन्ध गरेको छ । ‘सी’ क्याटेगोरीका विशालका लागि पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले अधिकतम मूल्य पाँच लाख रुपैयाँसम्म बोली लगाएका थिए । त्यसपछि लक्की ‘ड्र’ हुँदा लुम्बिनीले बाजी मारेको थियो । -न्यूज एजेन्सी नेपाल