
काठमाडौं । नेपाल र भारतबीचको सीमापार रेल्वे लिंक विस्तार र रेल्वे क्षेत्रमा द्विपक्षीय सहयोग सुदृढ गर्ने उद्देश्यका साथ १०औं आयोजना निर्देशक समिति (पीएससी) र ८औं संयुक्त कार्य समूह (जेडब्लुजी) को बैठक काठमाडौंमा सम्पन्न भएको छ।
जेठ २८ र २९ गते चलेको दुई दिने बैठकमा निर्माणाधीन रेल्वे आयोजनाहरूको समीक्षा र भावी योजनाबारे घनीभूत छलफल भएको छ।
बैठकमा भारत सरकारको अनुदान सहयोगमा अघि बढिरहेका जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोडगेज रेल्वे लाइनको कार्यान्वयनको वर्तमान अवस्थाबारे दुवै पक्षले समीक्षा गरेका थिए।
बैठकको मुख्य एजेन्डा जनकपुर र भारतको अयोध्या जोड्ने रेल सेवा रहेको थियो। दुई देशका अधिकारीहरूबीच जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि आवश्यक ‘स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर’ का विषयमा विस्तृत छलफल भएको छ।
यसैगरी, बहुप्रतिक्षित रक्सौल–काठमाडौं ब्रोडगेज रेल्वे लिंकको ‘अन्तिम स्थान सर्वेक्षण’ प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल भयो।
नेपालको पूर्व–पश्चिम रेलमार्गका लागि आवश्यक प्राविधिक सहयोग र अन्य थप सम्भावित रेल्वे लिंकहरूका बारेमा समेत दुई पक्षीय संवाद भएको थियो।
बैठकको अन्त्यमा दुवै देशका प्रतिनिधिहरूले रेल्वे क्षेत्रमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउन र आपसी कनेक्टिभिटीलाई सुदृढ गर्न निरन्तर संवाद र सहकार्यमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकले नेपाल र भारतबीचको यातायात सञ्जाललाई थप मजबुत बनाउन र आर्थिक–सामाजिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।









प्रतिक्रिया