आसाममा भारतीय सेनाको विमान दुर्घटना, पाइलटको मृत्युको आशंका

406
Shares

काठमाडौं । भारतको आसाम राज्यमा भारतीय वायुसेनाको एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ।

शनिबार बिहान जोरहाटस्थित रौरिया एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा ‘आईएएफ एएन ३२’ मोडलको ट्रान्सपोर्ट विमान दुर्घटनामा परेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, धावनमार्गमा अवतरण गर्ने क्रममा विमान अनियन्त्रित हुन पुगेको थियो। दुर्घटना लगत्तै विमानमा भीषण आगलागी भएको र प्रभावका कारण विमान दुई टुक्रा भएको बताइएको छ।

सैन्य फौज र बन्दोबस्तीका सामान ओसारपसारका लागि प्रयोग गरिने यो विमान दुर्घटनामा परेपछि उद्धार कार्य तिव्र पारिएको छ। विमानका पाइलटको घटनास्थलमै मृत्यु भएको हुनसक्ने आशंका गरिएको भए पनि यसबारे आधिकारिक घोषणा हुन बाँकी छ।

भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ। वायुसेनाले विस्तृत विवरण सङ्कलन भइरहेको र छिट्टै यथार्थ जानकारी सार्वजनिक गर्ने बताएको छ।

दुर्घटनाका कारण एयरबेसको नियमित उडान र अवतरण केही समयका लागि प्रभावित भएको छ।