क्रिस्टियानो रोनाल्डो: पोर्चुगलका विरासत कि बोझ?

अधुरो सपना पूरा गर्ने अन्तिम अवसर

245
Shares

एजेन्सी । डिसेम्बर १०, २०२२ को रात । दोहाको अल थुमामा स्टेडियममा खेल सकिएको सिट्टी बज्नेबित्तिकै क्रिस्टियानो रोनाल्डोको गालाबाट आँसु बग्न थाले ।

मोरक्कोसँगको अप्रत्याशित हारबाट उनी यति विक्षिप्त थिए कि उनले आफ्ना समर्थकहरूलाई सम्बोधन समेत गर्न सकेनन् । पीडा असह्य थियो । यति गहिरो कि भोलिपल्ट मात्र उनले सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गर्न सके ।

उनले इन्स्टाग्राममा लेखे, ‘पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो । १६ वर्षको अवधिमा पाँचवटा विश्वकप खेल्दा मैले सधैं महान् खेलाडीहरूको साथ पाएँ र लाखौं पोर्चुगालीहरूको समर्थन पाएँ । मैले मैदानमा आफ्नो सर्वस्व दिएँ । मैले कहिल्यै लडाइँबाट हात झिकिनँ र त्यो सपना कहिल्यै त्यागिनँ । दुर्भाग्यवश, हिजो त्यो सपना समाप्त भयो ।’ तर, वास्तवमा त्यो अन्त्य थिएन ।

आउँदो जनवरीमा ४१ वर्ष पुग्ने भए तापनि रोनाल्डोलाई २०२६ को विश्वकपका लागि पोर्चुगलको टोलीमा समावेश गरिएको छ । र, सफलताको यो अन्तिम प्रयास सायद उनको अहिलेसम्मकै उत्कृष्ट अवसर हुन सक्छ ।

तस्बिरहरू: गेट्टी इमेज

दुःखद अन्त्य

म्यानचेस्टर युनाइटेडमा आफ्नो दोस्रो कार्यकालको शर्मनाक र अस्तव्यस्त अन्त्यपछि रोनाल्डो कतार पुग्दा सधैं झैं आत्मविश्वासका साथ पुगेका थिए । उनले आफ्ना आलोचकहरूलाई चुप गराउन मात्र होइन, आफूले आजसम्म जित्न नसकेको एउटै मात्र ट्रफी चुम्ने लक्ष्य राखेका थिए।

यद्यपि, उनको बहिर्गमन ओल्ड ट्राफोर्डबाट भएजस्तै विवादास्पद रह्यो । उनको छवि सार्वजनिक रूपमा देखाइएको रिस र झर्कोले धुमिल भयो । स्विजरल्याण्ड विरुद्धको अन्तिम १६ को खेलमा बेन्चमा राखिएपछि उनले पोर्चुगाली क्याम्प नै छाड्ने धम्की दिएको खबरहरू बाहिरिए । सो खेल रोनाल्डोको स्थानमा आएका गोन्कालो रामोसको ह्याट्रिकको मद्दतले पोर्चुगलले ६-१ ले जितेको थियो ।

‘म सबैलाई के जानकारी दिन चाहन्छु भने, धेरै कुरा बोलिए, धेरै लेखिए र धेरै अड्कलबाजी गरिए, तर पोर्चुगलप्रतिको मेरो समर्पण कहिल्यै डगमगाएको छैन,’ रोनाल्डोले आफ्नो पोस्टमा लेखेका थिए, ‘म सधैं सबैको साझा लक्ष्यका लागि लड्ने एउटा खेलाडी थिएँ र मैले आफ्ना सहकर्मी र देशलाई कहिल्यै धोका दिने थिइनँ ।’

उनले थप लेखेका थिए, ‘अहिलेका लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल। धन्यवाद कतार। सपना जतिञ्जेल रह्यो, सुन्दर थियो… अब समयलाई नै राम्रो सल्लाहकार बन्न दिऔँ र सबैलाई आफ्नै निष्कर्ष निकाल्न छोडिदिऊँ ।’

पोर्चुगाली फुटबल महासंघ (पीएफएफ) ले नयाँ प्रशिक्षकसँगै ‘नयाँ चक्र सुरु गर्ने सही समय’ भएको निष्कर्ष निकाल्यो-तर टोलीको कप्तान भने परिवर्तन भएन ।

जब ९ जनवरी, २००३ मा रोबर्टो मार्टिनेजलाई सान्तोसको उत्तराधिकारीका रूपमा नियुक्त गरियो, उनीसँग पोर्चुगलका उदीयमान स्टारहरूलाई लिएर एउटा रोमाञ्चक युवा टोली बनाउने सुनौलो अवसर थियो । तर, उनले त्यसो गरेनन् ।

पोर्चुगाली प्रशिक्षकको रूपमा आफ्नो पहिलो महत्वपूर्ण कदम चाल्दै मार्टिनेजले साउदी अरब पुगेर रोनाल्डोलाई युरो २०२४ सम्म टोलीको नेतृत्व गर्न मनाए । यो निर्णय पछि गएर घातक सावित भयो ।

टुट्दै गरेको लय

रोनाल्डोले युरो छनोट चरणमा धेरै गोल गरे, तर जर्मनीमा भएको मुख्य प्रतियोगितामा उनले एउटै पनि गोल गर्न सकेनन्-यद्यपि उनले अन्य कुनै पनि खेलाडीभन्दा बढी प्रहार गरेका थिए। अझ खराब कुरा त, गोल गर्ने उनको प्रयासहरू टोलीका लागि सहयोगी हुनुको साटो लज्जास्पद र प्रतिउत्पादक बन्दै गए ।

रोनाल्डोलाई विश्रामको आवश्यकता रहेको स्पष्ट थियो, तर कमजोर इच्छाशक्ति भएका मार्टिनेजले अर्थहीन मानिएको जर्जिया विरुद्धको अन्तिम समूह चरणको खेलमा समेत उनलाई ड्रप गर्न मानेनन् । उनले टोलीको हितभन्दा व्यक्तिको सन्तुष्टिलाई प्राथमिकता दिए ।

नतिजास्वरुप, जर्जियासँगको २-० को अपमानजनक हारपछि कप्तानमाथिको दबाब झन् बढ्यो । स्लोभेनियाविरुद्धको अन्तिम १६ को खेलमा पेनाल्टी मिस गरेपछि रोनाल्डोको धैर्यको बाँध टुट्यो ।

फ्रेन्कफर्टमा खेलको अतिरिक्त समयको मध्यान्तरमा फुटबल इतिहासकै एक उत्कृष्ट खेलाडी रोएको दृश्य अचम्मलाग्दो थियो । कतारमा उनी खेल सकिएपछि रोएका थिए, तर यहाँ त खेल चल्दाचल्दै उनी भक्कानिए ।

अपेक्षाको बोझ ती महान् खेलाडीका लागि धेरै भइसकेको थियो । एउटा जीवित पौराणिक पात्र अब टोलीका लागि भार बन्न थालेका थिए । वर्षौंसम्म आफ्ना सहकर्मीहरूलाई काँधमा बोकेर हिँडेका रोनाल्डोलाई अब सहकर्मीहरूले बोक्नुपर्ने अवस्था आएको थियो । यो कुरा ती अभिमानी पोर्चुगाली खेलाडीका लागि सहन गाह्रो थियो ।

त्यस्तो अवस्थामा रहेका स्ट्राइकरप्रति सहानुभूति जाग्नु स्वाभाविक थियो, तर त्यसपछि सुटआउटमा पहिलो पेनाल्टी प्रहार गर्न अघि सर्नु र गोल गर्नु उनको साहसको प्रशंसनीय पक्ष थियो ।

‘धेरै पोर्चुगल, थोरै रोनाल्डो’

मार्टिनेज कुरा घुमाउन माहिर छन् । उनी खराब प्रदर्शनपछि पनि सधैं राम्रो कुरा गर्छन् । त्यसैले पोष्ट-म्याच प्रेस कन्फरेन्समा उनले रोनाल्डोको खराब प्रदर्शनभन्दा पनि उनको साहसको चर्चा गर्नु स्वाभाविक थियो ।

अझ अचम्मको कुरा त के थियो भने, उनले फ्रान्सविरुद्धको क्वार्टरफाइनलमा पनि रोनाल्डोलाई नै सुरुवाती सेटमा राखेर आफ्नो त्रुटिपूर्ण योजनालाई निरन्तरता दिए ।

एउटै गल्ती बारम्बार दोहोर्‍याउँदा फरक नतिजा आउने सम्भावना थिएन । पोर्चुगल पेनाल्टी सुटआउटमा फ्रान्ससँग पराजित हुँदै बाहिरियो । त्यसपछि मार्टिनेज र रोनाल्डो दुवैलाई टोलीमा राखिरहने निर्णयमाथि राष्ट्रिय बहस सुरु भयो । एउटा चर्चित हेडलाइनले नै भन्यो, ‘धेरै पोर्चुगल, थोरै रोनाल्डो !’

२०२४-२५ को नेसन्स लिगमा राम्रो नतिजा आइरहँदा पनि पोर्चुगाली फुटबल महासंघका नयाँ अध्यक्ष पेड्रो प्रोएन्साले मार्टिनेजलाई बर्खास्त गरेर जोसे मौरिन्होलाई ल्याउन खोजेको हल्ला चल्यो ।

‘शानदार कीर्तिमान’

आफ्नो अन्तर्राष्ट्रिय करियर लम्ब्याउन मद्दत गर्ने मार्टिनेजमाथि भएको टिकाटिप्पणीले रोनाल्डो चिढिएका थिए ।

‘पोर्चुगलका लागि शानदार कीर्तिमान भएका व्यक्तिमाथि प्रश्न उठाउनुले मलाई अलमलमा पार्छ,’ स्पेनविरुद्धको नेसन्स लिगको फाइनलअघि उनले भनेका थिए, ‘यस विषयमा केही सम्मानको कमी देखिएको छ । अरू प्रशिक्षकको बारेमा कुरा गर्नुको कुनै अर्थ छैन । प्रशिक्षकले असाधारण काम गर्नुभएको छ ।’

उनले थपे, ‘जितेको बेला पनि बहस भइरहन्छ, तर यो घरमा बसेर राय दिने ‘सुगा’ हरूको काम हो । हामी प्रशिक्षकको कामबाट धेरै खुसी छौं । उहाँ फरक देशको भएर पनि हाम्रो भाषा बोल्नुहुन्छ र हाम्रो राष्ट्रिय गान भावुक भएर गाउनुहुन्छ, म यसैलाई महत्व दिन्छु । बाँकी कुराको कुनै अर्थ छैन ।’

मैदानबाहिर मार्टिनेजको बचाउ गरेपछि रोनाल्डोले मैदानभित्र उनलाई संकटबाट जोगाए।
उनले नेसन्स लिगको सेमिफाइनलमा जर्मनीविरुद्ध निर्णायक गोल गरे र फाइनलमा स्पेनविरुद्ध पनि गोल गरे, जुन खेल पोर्चुगलले पेनाल्टीमा जित्यो ।

वास्तवमा मार्टिनेजले रोनाल्डोमाथि आफ्नो जागिर र प्रतिष्ठाको दाउ लगाएका थिए र त्यो जोखिमले अन्ततः फल दियो ।

यद्यपि, रोनाल्डोमाथि मात्रै निर्भर रहने कुरामा शंकाहरू अझै हटेका छैनन् ।

घट्दो गतिशीलता

मार्टिनेज रोनाल्डो साउदी अरब गएपछि उनको स्तरमा कुनै गिरावट नआएको बताउँछन् । तर यो कुराले मुख्य मुद्दालाई सम्बोधन गर्दैन ।

यी सुपरस्टारको क्षमता साउदीको अल-नासरमा जानुअघि नै घट्न सुरु भइसकेको थियो र यो कुनै आलोचना होइन ।

रोनाल्डोले ३० वर्षको उमेर नाघेपछि पनि उमेरको प्रभावलाई जसरी रोकेर राखे, त्यो उनको आफ्नो कामप्रतिको अतुलनीय समर्पणको प्रमाण हो ।

मैदानबाहिर उनी जति कडा परिश्रम गर्ने खेलाडी सायदै कोही होलान् । तर समस्या के हो भने, रोनाल्डो अब मैदानभित्र उस्तै कडा परिश्रम गर्न सक्षम छैनन् ।

आजको आधुनिक फुटबलमा रोनाल्डो जस्ता धेरै कम स्ट्राइकर छन् जसले ‘प्रेसिङ’ (विपक्षीलाई दबाब दिने) मा योगदान दिँदैनन् । त्यसैले पोर्चुगलका लागि उनीभन्दा बढी सक्रिय र गतिशील अट्याकर उपयुक्त हुने तर्कमा सत्यता छ ।

विश्वकप छनोटमा अर्मेनिया विरुद्धको ९-१ को जितमा रोनाल्डो नहुँदा टोलीले गरेको प्रदर्शनले पनि यसैतर्फ संकेत गर्छ ।

रिसका झोँकहरू

रोनाल्डो हारलाई घृणा गर्छन्, त्यसैले उनी एक सफल खेलाडी हुन् । तर उमेर बढ्दै जाँदा उनी झन् बढी चिढिने र रिसाउने स्वभावका भएका छन् ।

साउदीको अल-नासरमा उपाधि खोज्ने क्रममा पनि उनले धेरै पटक रिस देखाए । केही समयअघि साउदी प्रो लिगले आफ्नो क्लबविरुद्ध षड्यन्त्र गरेको भन्दै उनले खेल नै बहिस्कार गर्ने चेतावनी दिएका थिए । यसले के देखाउँछ भने, चीजहरू आफ्नो अनुकूल नहुँदा रोनाल्डो अझै पनि सम्हालिन सक्दैनन् र यो पोर्चुगलका समर्थकहरूका लागि चिन्ताको विषय हो ।

याद रहोस्, गत नोभेम्बरमा आयरल्याण्डविरुद्धको खेलमा दारा ओ-सियालाई हिर्काएको कारण रातो कार्ड पाएका रोनाल्डो विश्वकपका सुरुवाती खेलहरूमा उपलब्ध हुनुहुने थिएन । तर फिफाले उनको तीन खेलको प्रतिबन्धलाई घटाएर एक खेलमा झारिदिएपछि उनले डीआर कंगो र उज्वेकिस्तान विरुद्ध खेल्न पाउने भएका छन् । पोर्चुगलले नेपाली समय अनुसार बुधबार राति पौने ११ बजे २०२६ को पहिलो खेल कंगोसँग खेलेर सुरू गर्दै छ ।

यद्यपि, नकआउट चरणको कठिन मोडमा उनको यो भावुकता र हतारो टोलीका लागि समस्या बन्न सक्ने आशंका छ ।

अन्तिम अवसर

मिडियाले जति नै चर्चा गरे पनि रोनाल्डो आफैंले आफूलाई सबैभन्दा बढी दबाबमा राख्छन्। उनी एक पूर्णतावादी हुन् र उनको लागि जित बाहेक अरू केही स्वीकार्य छैन ।

साउदी लिगको उपाधि सुरक्षित गर्दा उनको आँसु झर्नुले पनि यो देखाउँछ कि उनी अझै पनि जितका लागि कति भोका छन् ।

जारी विश्वकप उनको लागि निकै महत्वपूर्ण छ, किनकि यो विश्वको सबैभन्दा ठूलो मञ्चमा उनको ‘अन्तिम अवसर’ हुनेछ । सन् २०३० मा आफ्नो छोरा क्रिस्टियानो जुनियरसँग खेल्ने हल्ला चले पनि यो नै उनको प्रतिष्ठा बचाउने अन्तिम अवसर हो ।

रोनाल्डो सर्वकालीन महान् खेलाडी हुन्, तर पाँच पटकका ब्यालोन डी’ओर विजेताले अहिलेसम्म विश्वकपको नकआउट चरणमा एउटै पनि गोल गरेका छैनन् । त्यसैले उनको विश्वकप विरासत अहिले दाउमा छ ।

तर एउटा राम्रो पक्ष के छ भने, यो भार उनले एक्लै बोक्नुपर्ने छैन । अहिलेको पोर्चुगाली टोली इतिहासकै सबैभन्दा बलियो टोलीमध्ये एक हो ।

सुखद अन्त्य ?

भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेजको रूपमा पोर्चुगलसँग विश्वकै उत्कृष्ट मिडफिल्ड छ। रक्षापंक्तिमा रुबेन डियास र नुनो मेन्डेज जस्ता खेलाडी छन् भने गोलपोस्टमा भरपर्दा डिएगो कोस्टा छन् । बर्नार्डो सिल्भा जस्ता अनुभवी खेलाडीको साथले टोली थप मजबुत छ।

धेरै कुरा अझै पनि रोनाल्डोमै निर्भर छ । उनले छनोट चरणमा गोल गरिरहेका छन्, तर ४१ वर्षको उमेरमा उच्च स्तरको फुटबलमा उनी कत्तिको खरो उत्रन सक्छन् भन्ने नै मुख्य चुनौती हो।

पोर्चुगललाई अहिले गोल गर्ने रोनाल्डो मात्र होइन, आफ्नो भावनालाई नियन्त्रणमा राख्न सक्ने कप्तानको पनि आवश्यकता छ ।

रोनाल्डोको जित्ने तीव्र इच्छा खराब कुरा होइन । उनको यही जोसले टोलीका अन्य सदस्यहरूलाई पनि प्रेरित गर्छ । भिटिन्हाले भने जस्तै टोली ‘रोनाल्डोसँग र रोनाल्डोका लागि विश्वकप जित्न’ एकजुट छ ।

एउटा व्यक्तिलाई यति धेरै महत्व दिनु कति सही हो भन्ने बहसको विषय हुन सक्छ, तर रोनाल्डो पोर्चुगलका लागि केवल एक खेलाडी मात्र होइनन्, उनी एक प्रतीक हुन् ।

उनले यो अन्तिम सपनाका लागि आफ्नो शरीर र मनलाई निकै कष्ट दिएका छन् । उनको यो त्यागले कस्तो नतिजा ल्याउँछ, त्यो त समयले नै बताउनेछ । तर एउटा कुरा निश्चित छ, रोनाल्डोको यो सपना जसरी टुंगिए पनि, मैदानमा आँसु भने पक्कै खस्नेछन्।

(गोल डटकममा प्रकाशित मार्क डोयलको लेखको अनुवाद)