
काठमाडौं । पैचो पसल प्रालिले देशभरका सेल्स प्रतिनिधिबीच ‘नेसनल सेल्स समिट २०८३’ तथा डिलर मिट सम्पन्न गरेको छ ।
‘बसे पनि सहर, गाउँकै खाने रहर’ नारालाई आत्मसात् गर्दै आएको कम्पनीले नेपालको उत्पादनलाई प्रवर्द्धन र स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनलाई राज्यले समेत प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
पैचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले स्वदेशी उत्पादनप्रति उपभोक्ताको रोजाइ बढ्दै गएको भन्दै प्रतिस्पर्धी बजारमा पैचोले फरक र मौलिक स्वाद दिँदा उपभोक्ताले पैचोका उत्पादन मन पराइरहेको बताए । उनले भने, ‘कृषि सम्बन्धी उद्योगमा लगानी निकै कम छ । कृषि क्षेत्रको विकासको लागि स्वदेशी उत्पादनको बजारीकरणको आवश्यकता छ । पछिल्लो समय नेपाली उत्पादन स्वदेश तथा विदेशका विभिन्न स्थानमा पुगिरहेको अवस्थामा नेपालको मार्केट (बजार) समेत विस्तार भइरहेको छ । अब राज्यले लगानी प्रवर्द्धनका लागि वातावरण बनाउनुपर्छ ।’
पैचो पसल प्रालिका मुख्य कार्यकारी अधिकृत (सिइओ) केशवराज न्यौपानेले पछिल्लो समय नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम भएको बताए । उनले भने, ‘राज्यले अझै पनि कृषि उद्योगलाई प्राथमिकता दिन नसक्दा अर्बौँको कृषि उत्पादन आयात भइरहेको छ । त्यसलाई रोक्न र ग्रामीण अर्थतन्त्रलाई अगाडि बढाउनका लागि पैचोले गाउँमै उद्योग खोलेर बजार विस्तार गरिरहेको छ ।’
पैचो पसल प्रालिका बजार विभाग प्रमुख लक्ष्मण गैरेले भने, ‘नेसनल सेल्स समिट तथा डिलर मिटले नेटवर्क र ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाएर अगाडि बढाउने छ । बजारमा प्रतिस्पर्धी बन्न टिमको आवश्यकता रहेको भन्दै बलियो टिमका साथ पैचोले काम गरिरहेको छ।’

स्वदेश तथा विदेशमा रहेका उपभोक्तालाई सहज रूपमा पैचोका गुणस्तरीय उत्पादन पुर्याउने काम मार्केटिङ विभागले गरिरहेको उनले बताए । कार्यक्रममा पैचो पसल प्रालिको बजार विभागमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा ‘उत्कृष्ट कर्मचारी सम्मान–२०८१’ द्वारा रिजनल म्यानेजरतर्फ संगम पोखरेल र ‘उत्कृष्ट सेल्स सुपरभाइजर सम्मान–२०८१’ बाट हरिहर खड्कालाई सम्मानित गरिएको थियो । यस्तै ‘उत्कृष्ट डिएसआर सम्मान–२०८१’ बाट रञ्जिता राउत, विक्रम भण्डारी र रञ्जिता बस्याल पुरस्कृत भए ।
डिलरहरूले पैचोसँग जोडिएर काम गर्दा अपनत्व महसुस भएको बताएका थिए । उनीहरूले आफ्नो व्यावसायिक अनुभव, कम्पनीले अवलम्बन गर्नुपर्ने रणनीति र अवसरहरूबारे छलफल गरेका थिए । पैचोले ग्रामीण कृषकले उत्पादन गर्ने कृषि उपजबाट टमाटो केचअप, जाम, विभिन्न प्रकारका अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, मह लगायत १०० भन्दा बढी वस्तु उत्पादन गर्दै आएको छ ।








प्रतिक्रिया