बजार पुँजीकरण बढेसँगै इलोन मस्कको स्पेसएक्सको सेयरमा ३ प्रतिशतले वृद्धि


एजेन्सी । इलोन मस्कको नेतृत्वमा रहेको कम्पनी स्पेसएक्सको सेयर शुक्रबारको ब्लकबस्टर आईपीओपछि बुधबार बजार खुल्नुअघिको कारोबारमा ३ प्रतिशतले बढेको छ ।

यस हप्ता स्पेसएक्सको सेयरमा भएको निरन्तरको बढोत्तरीले मंगलबार यसको बजार पुँजीकरणलाई अमेजनभन्दा माथि पुर्यायो र यो केही समयका लागि माइक्रोसफ्टलाई समेत उछिनेर अमेरिकाको चौथो ठूलो मूल्यांकन भएको कम्पनी बन्यो ।

मंगलबार बजार बन्द हुँदा स्पेसएक्सको बजार पुँजीकरण २६.५ खर्ब डलर थियो ।

लगानीकर्ताहरू संस्थापक तथा सीईओ मस्कको दीर्घकालीन प्रतिफल दिन सक्ने क्षमताको प्रतिज्ञामा ठूलो लगानी गरिरहेका छन् ।

मस्कले आइतबार एक्समा पोस्ट गर्दै कम्पनीले सन् २०३० सम्ममा लगभग १० खर्ब डलर आम्दानी गर्न सक्ने बताएका थिए ।
स्पेसएक्सले सन् २०२५ मा ४.९ अर्ब डलरको खुद नोक्सानी बेहोरेको थियो भने यस वर्षको पहिलो त्रैमासिकमा ४.२८ अर्ब डलर गुमाएको छ ।

आफ्नो स्टारलिंक सेवा र पुनः प्रयोग गर्न सकिने रकेटहरूमार्फत उपग्रह क्षेत्रमा वर्चस्व कायम गरेको यस कम्पनीको उच्च मूल्यांकनले यसको महत्त्वाकांक्षी वृद्धि योजनाहरूमाथि प्रश्न खडा गरेको छ ।

‘लगानीकर्ताहरू यसको कथा, सक्रियता, उत्साह र इलोन मस्कको नाममा कारोबार गरिरहेका छन् तर कुनै विन्दुमा गएर कम्पनीको आधारभूत वित्तीय पक्षले त्यो उत्साहसँग मेल खानुपर्ने वास्तविक चुनौतीको सामना गर्नुपर्नेछ,’ वन पोइन्ट बीएफजी वेल्थ पार्टनर्सका प्रमुख लगानी अधिकारी पिटर बुकभारले सीएनबीसीको स्कक बक्स एसियामा भने ।

उनले थपे, ‘उनीहरूले नतिजा दिन सके भने भविष्य अझै राम्रो छ तर यसको मूल्यांकन यति विशाल छ कि कम्पनीले वास्तवमै त्यो मूल्यांकन अनुसारको प्रगति गरेर देखाउनुपर्नेछ । मलाई लाग्छ, यसका लागि कम्तीमा पनि केही वर्ष लाग्नेछ ।’