काभ्रे बस दुर्घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा ६ सदस्यीय समिति गठन

56
Shares

काठमाडौं । काभ्रेको नमोबुद्ध–२ बुच्चाकोटमा शुक्रबार भएको भीषण बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल प्रहरी प्रधान कार्यालयले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

बीपी राजमार्गअन्तर्गत भएको उक्त दुर्घटनामा परी ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए।

प्रहरी महानिरीक्षकले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन्।

समितिमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल सदस्य रहेका छन्।

त्यस्तै, इलाका प्रहरी कार्यालय देवीटारका प्रहरी हबल्दार बासुदेव खड्का सदस्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

गठित समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण र जिम्मेवार पक्षको पहिचान गरी प्रतिवेदन पेस गर्न ७ दिनको समयसीमा तोकिएको छ। समितिले घटनाको सुक्ष्म अध्ययन गरी सत्यतथ्यसहितको निष्कर्ष प्रहरी प्रधान कार्यालयमा बुझाउनुपर्नेछ।

शुक्रबार भएको सो दुर्घटनाले बीपी राजमार्गको सडक सुरक्षामाथि पुनः प्रश्न उठाएको छ। यो छानबिन समितिले दिने प्रतिवेदनका आधारमा आगामी दिनमा यस्ता सडक दुर्घटना न्यूनीकरणका लागि ठोस कदम चालिने अपेक्षा गरिएको छ।