
बर्दिबास । शुक्रबार रातिदेखि तनावग्रस्त बनेको बर्दिबास नगरपालिका–१२, विजलपुरा क्षेत्रस्थित डाँडाटोलमा अवस्था थप तनावपूर्ण बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार बिहान अवस्था थप तनावपूर्ण बनेपछि करिब १० बजे प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा तोडफोड र अराजकता बढेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको हो।
उनले भने, ‘अहिले बिजलपुराको अवस्था तुलनात्मक रूपमा सामान्य भएको छ। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।’
अश्रुग्यास प्रहारपछि भिड केही समय तितरबितर भए पनि पुनः भिड जम्मा भएको छ। भिड बढ्दै जाँदा प्रहरीलाई घटनास्थलको मुचुल्का गर्नसमेत कठिनाइ भएको छ।
विवाहित महिलाको शङ्कास्पद रूपमा घरभित्रै पासो लगाएर मृत्यु भएको घटनालाई लिएर शुक्रबार रातिदेखि डाँडाटोल तनावग्रस्त बनेको हो।
राति नै घटनास्थल पुगेका माइती पक्षले ढुङ्गामुढा, तोडफोड तथा आगजनी प्रयास गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो।
प्रहरी र सशस्त्र प्रहरीको टोलीले रातिदेखि नै घटनास्थललाई सुरक्षा घेरामा राखेको छ।
प्रहरीका अनुसार शुक्रबार करिब ८ बजे डाँडाटोल निवासी शशी सिंहकी २५ वर्षीया श्रीमती रिङ्कुकुमारी सिंह आफ्नै दुईतले पक्की घरको सुत्ने कोठामा सिलिङ फ्यानमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेकी हुन्।
माइती पक्षले भने रिङ्कुको घरका सासु, ससुरा र श्रीमान्ले कर्तव्य गरी हत्या गरेको आरोप लगाएका छन्। मृतक रिङ्कुको एक काखे छोरी रहेको छ।
जानकारी पाएलगत्तै गौशाला नगरपालिका–११ कान्तिबजारबाट घटनास्थल पुगेका माइती पक्षले ससुरा रामबाबु सिंह, श्रीमान् शशी सिंह र सासुलाई पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए। माइती पक्षको विरोधमा स्थानीयसमेत उत्रिएपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।
आक्रोशित भिडले ससुरा रामबाबु सिंहको घरमा रहेको प्र ०४–००१ च ०३१० नम्बरको कार, एउटा स्कुटरमा तोडफोड तथा आगजनी प्रयास गरेको तथा दुई तले घरमा ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ।
स्थितिलाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि समेत ढुङ्गामुढा भएपछि केही सुरक्षाकर्मी सामान्य घाइते भएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार घटनास्थलबाट मृतकका श्रीमान् शशी सिंहलाई नियन्त्रणमा लिइएको छ।
तर माइती पक्ष तथा स्थानीयले फरार रहेका सासु र ससुरालाई पक्राउ नगरिएसम्म शव उठाउन र मुचुल्का गर्न नदिने अडान लिएका छन्। ।
वडाध्यक्ष रामकिशोर साहले घटनाले गम्भीर प्रश्न उठाएको बताए।
उनले भने, ‘यस्ता दुखद घटना धेरै घरमा भएका छन्। हामी अवस्था सामान्य बनाउन प्रयासरत छौं। तर घटनापछि परिवारका सदस्य फरार भएपछि शङ्का स्वाभाविक रूपमा बढ्छ।’
स्थानीयका अनुसार मृतक रिङ्कुकुमारीलाई वर्षदिनअघि श्रीमान् शशी सिंहले लुकीछिपी दोस्रो विवाह गरेपछि मानसिक तथा शारीरिक यातना दिँदै आएको आरोप छ। यही कारण परिवारमा विवाद र कलह बढेको तथा विरोध गर्दा हत्या गरिएको माइती पक्षको दाबी छ।









प्रतिक्रिया