
काठमाडौं । पेट्रोलियम पाइपलाइन अन्तर्गत दोस्रो परियोजनाअन्तर्गत नेपाल आयल निगमले अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइनको निर्माण प्रक्रिया सुरु गरेको छ ।
गत शुक्रबार राप्ती नदी किनारनजिकै रहेको लोथरमा उक्त पाइपलाइनको भौतिक पूर्वाधार निर्माणको प्रक्रिया औपचारिक रुपमा सुरु भएको हो ।
अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइनका प्रोजेक्ट प्रमुख प्रदिप यादबले लोथरमा पाइपलाइन कार्यालयको औपचारिक रुपमा उदघाट्न गरी निर्माण कार्यको सुरुआत गरेका हुन् ।
निगमले २०७३ असारमा राप्ती नगरपालिका वडा नम्बर १ स्थित नदी किनारसँगै ७१ करोड ९ लाख ५८ हजार ६८४ रुपैयाँमा २३ विगहा १२ कट्ठा ३ धुर जग्गा खरिद गरेको थियो ।
सोहि जग्गामा निगमले अमलेखगञ्जबाट ६२ किलोमिटर दूरीमा पाइपलाइन ओछ्याएर चितवनको लोथरसम्म ल्याइनेछ । लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण गृहसहित ग्रिन फिल्ड टर्मिनल निर्माण गर्ने योजना छ ।
परियोजना प्रमुख यादबका अनुसार पाइपलाइन निर्माणका विषयमा इण्डियन आयल कर्पोरेशन (आईओसी) ले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ ।
तयार भएको डिपीआरअनुसार ओछ्याइने पाइपलाइनको व्यास १०.७५ इन्चको हुनेछ । यो पाइपलाइनको चाप १७३.५ किलो प्रति वर्ग सेन्टिमिटर हुने उल्लेख छ । यस्तै पाइपलाइनबाट आउन इन्धनको गति २ सय ७३ किलोलिटर प्रतिघण्टाको हुनेछ ।
पाइपलाइन, भण्डारण गृह र ग्रिन फिल्ड टर्मिनल निर्माणमा कूल ८ अर्ब ८१ करोड भारतीय रुपैयाँ (१४ अर्ब ९ करोड ६० लाख नेपाली रुपैयाँ) खर्च हुनेछ । डीपीआरअनुसार लोथरमा १६० वर्गमिटर क्षेत्रफलमा पाइपलाइन स्टेशन निर्माण गरिनेछ ।
‘यो पाइललाइन निर्माणपछि आन्तरिक रुपमा अमलेखगञ्जबाट चितवनसम्म ट्याँकरमार्फत हुने पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन वापत ढुवानी खर्च जोगिनेछ भने इन्धन चोरीको घटनामा नियन्त्रण हुनेछ,’ यादबले भने,‘हामीले यो परियोजना सकेसम्म तीन वर्षभित्र सक्ने लक्ष्य राखेका छौं ।’
निगम र आईओसीबीच भएको बीटुबी सम्झौताअनुसार सम्झौता भएको ५४ महिना परियोजनाअन्तर्गत सम्पूर्ण निर्माण कार्य सक्नु पर्नेछ ।
भारतको सिलगुढी–झापा(चारआली) र बाराको अमलेखगन्ज–चितवन (लोथर) दुई पाइपलाइन निर्माण गर्ने विषयमा निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट र आईओसीका निर्देशक सेन्थल कुमारबीच भारतको नयाँ दिल्लीमा २०८१ असोज १७ गते सम्झौता भएको थियो ।
भारतको सिलगुढी –चारआली र बाराको अमलेखगन्ज– चितवनको लोथरसम्म दुईवटा पाइपलाइन र ग्रिन फिल्डसहितको भण्डारण गृह निर्माण गर्ने बिषयमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेको वेला समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसमेतको उपस्थितिमा २०८० जेठ १८ गते ३ बुंदे सरकारद्वारा सरकारलाई (गर्भमेन्ट टु गर्भमेन्ट –जीटुजी) समझदारी भएको थियो ।
दाहाल र भारतीय समकक्षी मोदीको उपस्थितिमा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
कति लाग्छ खर्च ?
नेपालको निगम र भारतको इण्डियन आयल कर्पोरेशन(आईओसी) बीच भएको बीटुबी (बिजिनेस टु बिजिनेस) सम्झौताअनुसार अमलेखगञ्ज–लोथर पाइपलाइन ओछ्याउन लाग्ने खर्च भारतले व्यहोर्नेछ भने ग्रिनफिल्डसहितको भण्डार गृह निर्माणमा भारतको प्राविधिक सहयोग र निगमको आर्थिक सहयोग हुनेछ ।
सम्झौताअनुसार अमलेखगञ्ज–लोथर पाइपलाइन ओछ्याउन लाग्ने खर्च २ अर्ब ६८ करोड भारतीय रुपैयाँ(४ अर्ब २८ करोड ८० लाख नेपाली रुपैयाँ) आईओसीले व्यहोर्ने छ भने ग्रिन फिल्डसहितको भण्डारण गृह निर्माणमा लाग्ने खर्च ६ अर्ब १३ करोड भारतीय रुपैयाँ(९ अर्ब ८० करोड नेपाली रुपैयाँ) निगमले व्यहोर्नु पर्नेछ ।
९१ हजार ९ सय किलोलिटरको भण्डारण गृह
भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जमा आइपुगेको पाइपलाइन स्टेशनबाट पाइपलाइन जोडेर चितवनको लोथरसम्म पुर्याइनेछ । लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको भण्डारण गृह निर्माण हुनेछ ।
जसअनुसार पेट्रोलतर्फ ११ हजार किलोलिटर क्षमताको तीनवटा गरी ३३ हजार किलोलिटर, डिजेलतर्फ १५ हजार ५ सय किलोलिटर क्षमताको तीनवटा गरी ४६ हजार ५ सय किलोलिटर, मट्टितेलतर्फ ८ सय किलोलिटर क्षमताको २ वटा गरी १ हजार ६ सय र हवाई इन्धनतर्फ ३ हजार ६ सय किलोलिटर क्षमताको तीनवटा गरी १० हजार ८ सय किलोलिटर क्षमता भएको भण्डारण गृह निर्माण हुनेछ ।
यसबाहेक दुईवटा ट्रान्समिक्स ट्याँक पनि निर्माण हुनेछ । यो ट्रान्समिक्स ट्याँकको क्षमता २५०–२५० किलोलिटर क्षमताको गरी कूल ५ सय किलोलिटर क्षमताको हुनेछ । यस्तै चारवटा अन्डरग्राउण्ड ट्याँकसमेत निर्माण हुनेछ ।
पेट्रोलतर्फ ५० किलोलिटर, डिजेलतर्फ ५० किलोलिटर, मट्टितेलतर्फ ५० किलोलिटर र हवाईइन्धनको ५० किलोलिटर गरी २ सय किलोलिटर क्षमताको अण्डरग्राउन्ड ट्याँक निर्माण हुनेछ ।







प्रतिक्रिया