
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपो सार्न नागरिक उडड्यन प्राधिकरण (क्यान) ले अवरोध सिर्जना गरेको छ ।
सिनामंगलको घनाबस्तीबीच अति जोखिम अवस्थामा रहेको विमानस्थलस्थित हवाई इन्धन डिपो सार्नका लागि क्यानले अवरोध सिर्जना गरेको नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन डिपोले आरोप लगाएको छ ।
हवाई इन्धन डिपोका प्रमुख इन्जिनियर प्रदिप यादबले क्यानले गुह्येश्वरीतर्फको गल्फकोर्ष नजिक नयाँ डिपो निर्माण हुने स्थानमा चार किल्ला छुट्टयाएर साइड क्लियरेन्स भएको जग्गा औपचारिक रुपमा ल्याण्ड एग्रिमेन्ट उपलब्ध नगराउँदासम्म डिपोको निर्माण कार्य बढाउन नसकिने बताए ।
साइड क्लिरेन्स गरी जग्गा औपचारिक रुपमा उपलब्ध नभएकाले निगमले पछिल्लो ८ महिनादेखि कुनै काम अघि बढाउन नसकेको आरोप लगाएको छ ।
‘क्यानले मौखिक रुपमा डिपो सार्न मात्र भन्यो, जग्गा पनि मौखिम रुपमा उपलब्ध गरायो, तर सार्ने भनिएको स्थान क्लियरेन्स गरी चार किल्ला तोकेर हामीलाई अहिलेसम्म औपचारिक रुपमा दिइएको छैन,’ प्रमुख यादबले भने, ‘यसले गर्दा हामीले अहिलेसम्म निर्माणस्थलमा केहि कर्मचारी बस्न मिल्ने छाप्रो मात्रै निर्माण गर्न पाएका छौं । यो विषयमा मैले दर्जनौं पटक क्यानको अफिसमा धर्ना दिए । तर आजसम्म कुनै पहल भएको छैन ।’
विमानस्थलको उत्तर पश्चिमको गुहेश्वरीस्थित गोल्फ कोर्स नजिकैको खाल्डो भएको क्षेत्रमा डिपो निर्माण गर्न सरकारले ६० रोपनी जग्गा उपलब्ध गराइएको छ ।
यो स्थानमा निर्माणअघि नबढ्नुमा मुख्य कारण भनेको क्यान र नेपाल आयल निगमबीच प्रस्तावित जग्गाको स्वामित्व तथा जग्गा हस्तानान्तरको मोडालिटी तय नहुनु हो ।
गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सिनामंगलमा रहेको उक्त डिपोका कारण उत्पन्न हुनसक्ने जोखिमबारे चासो प्रकट गरेका थिए ।
त्यसपछि मन्त्रिपरिषद्ले गठन गरेको एउटा कार्यदलले तयार गरेको प्रतिवेदन सरकारले २०८१ साउन २८ गते अनुमोदन गरेको थियो । जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १ वर्षभित्र इन्धन भण्डारण डिपोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि ‘सुरक्षित र सुविधायुक्त स्थानमा’ स्थानान्तरण गर्न निर्देशन दिइएको थियो ।
यादबका अनुसार मन्त्रिपरिषद्को बैठकबाट एक वर्षभित्र सुरक्षित र सुविधायुक्त स्थानमा हस्तानान्तरण गर्न दिइएको निर्देशनको पनि झण्डै ११ महिना लागेको छ ।
‘औपचारिक रुपमा जग्गा हामीले प्राप्त नगरेका कारण हामीले कुनै पनि काम अघि बढाउन सकेनौं,’ यादबले भने, ‘उता मन्त्रालयबाट हामीलाई शीघ्र काम अघि बढाउन ठूलो दवाव परिरहेको छ ।’
क्यानले गौचरस्थित गल्फ कोर्ष क्षेत्रमा ६० रोपनी जग्गा मौखिक रुपमा उपलब्ध गराएको छ । यहि ६० रोपनी क्षेत्रभित्र नेपाली सेनाको भवन र करिब १५ रोपनी क्षेत्रफलमा जंगल पनि छ ।
यादबले सेनाले ओगटेको क्षेत्रफल र भवन नसारेसम्म तथा जंगलमा भएका काठ कटानी गरेर जग्गा प्रयोगका लागि औपचारिक रुपमा कागज उपलब्ध नगराउँदासम्म डिपो निर्माणको काम अघि बढाउन नसक्ने जानकारी दिए ।
हवाई इन्धन डिपो हस्तानान्तण तथा निर्माण आयोजनाका कोअर्डिनेटर इन्जिनियर मानबहादुर सिंहले डिपो निर्माण गर्ने विषयमा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले विस्तृत परियोजना अध्ययन रिर्पोट(डीपीआर) यहि असार २७ गते बुझाउन लागेको छ ।
विद्यमान स्थानबाट डिपो सारेर निर्माण गर्नका लागि आवश्यक पर्ने विस्तृत परियोजना अध्ययन(डीपीआर) सम्बन्धी जिम्मेवारी २०८१ मंसिर ५ गते त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ संस्थानलाई दिइएको थियो ।
उक्त डीपीआरको सहयोगमा तत्कालै निर्माण कार्य सुरु गर्न खोजिए पनि क्यानको तर्फबाट रहेका अवरोध नहटाइँदासम्म निर्माण कार्य अघि बढाउन नसकिने कोअर्डिनेटर सिंहले जानकारी दिए । २०८४ को मंसिरमा उक्त डिपोको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
‘रुख काट्ने जिम्मेवारी पनि क्यानको हो, २०७७ सालमै क्यानले उक्त रुख काट्ने अनुमति पाएको थियो । तर हालसम्म रुखसमेत कटानी गरेर हामीलाई निर्माणको लागि जग्गा उपलब्ध गराइएको छैन, ‘एक वर्षअघिसम्म महिनामा दुई पटकसम्म पत्र पठाएर डिपो सार्न दबाब दिने क्यानले अहिले भने कुनै चासो देखाएको छैन,’ कोअर्डिनेटर सिंहले भने ।
उनकाअनुसार रुख काटेर पशुपति क्षेत्र विकास कोषलाई बुझाउन सरकारले क्यानलाई अनुमति दिसकेको छ । क्यानले हालसम्म निर्माण हुने केहि क्षेत्रमा भएका अग्ला अग्ला ढिस्को फोडेरसम्म पारेको छ ।
क्यानका प्रवक्ता हंशराज पाण्डेले भने केहि प्राविधिक कारणले मात्रै समस्या आएको बताए । यो समस्या समाधान गर्न क्यानले पहल गरिरहेको उनको दाबी छ ।
‘डिपो सार्न कुनै समस्या भएको छैन, आयल निगम र क्यान बीचमा जग्गा प्रयोगको विषयमा मौखिक समझदारी भइसकेको छ, अब कागजी सम्झौता हुन मात्र बाँकी छ, निगमको एउटा सानो प्राविधिक समस्याका कारण मात्रै केही काम अघि बढ्न नसकेको हो, त्यो समस्या पनि हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समाधानको लागि पहल गरिरहेका छौं,’ पाण्डेले क्लिकमाण्डुसँग भने ।
उनकाअनुसार नेपाल आयल निगमको सिनामंगल डिपोले अहिले पनि विद्यमान स्थान (हाल डिपो रहेको स्थान) मा ५ रोपनी जग्गा विमानस्थलबाट भाडामा लिएर माथिल्लो ट्याँक डिपो राखेको छ ।
सिनामंगल डिपोले कूल ३७ रोपनी क्षेत्रफलमा माथिल्लो ट्याँक डिपो, तल्लो ट्याँक डिपो, फ्युल सेन्टर तथा कार्यालय सञ्चालन गर्दैआएको छ । यसमध्ये निगमको स्वामित्व भएको ३२ रोपनी जग्गा छ । बाँकी ५ रोपनी जग्गा भाडामा लिएको छ । तल्लो ट्याँक डिपो भएको जग्गा निगम स्वामित्वको हो ।
विमानस्थलको जग्गा भाडामा प्रयोग गरेबापत निगमले वार्षिक करिब ४१ लाख रुपैयाँ त्रिभुवन विमानस्थललाई तिर्दै आएको छ । यसबाहेक विमानस्थलमा हवाई इन्धन बिक्री गरेवापत निगमले बिक्री मूल्यमा ०.३ प्रतिशत ‘थ्रु पुट’ कर पनि विमानस्थललाई तिर्दै आएको छ ।
‘निगमले हाल विद्यमान स्थानमा रहेको डिपोको केहि जग्गा प्रयोग गरेवापत भाडा तिर्दैआएको छ । यसका साथै निगमले नयाँ स्थानमा निर्माण गर्ने जग्गाको भाडा पनि निर्माण चरणदेखि नै क्यानलाई बुझाउँदा ठूलो घाटा व्यहोर्नु पर्ने हुन्छ भनेर हामीलाई जानकारी गराएको छ,’ पाण्डेले भने, ‘दुई स्थानको जग्गा प्रयोग गरेवापत स्वाभाविक रुपमा भाडा शुल्क निक्कै लाग्ने रहेछ ।’
पाण्डेका अनुसार निगमको उच्च तहले नयाँ स्थानमा डिपो निर्माण गरी तेल बिक्री गर्ने कार्य सुरु नहुँदासम्म उक्त जग्गा प्रयोग गरेवापतको भाडा शुल्क नलिन आग्रह गरेको छ ।
‘नयाँ डिपो निर्माण भएर तेल बिक्री गर्ने काम सुरु नहुँदासम्म जग्गाको भाडा दर छुट दिन निगमको उच्च तहले आग्रह गर्नुभएको छ,’ पाण्डेले भने,‘हामीले पनि यो बिषयमा गृहकार्य गरेर तेल बिक्री गर्ने काम सुरु नहुँदासम्मको लागि छुट दिनुपर्ने बिषयमा मन्त्रालयमा पत्र पठाएका छौं । निकट समयमै मन्त्रालयबाट यो समस्या समाधान हुने निर्णय गर्ने तयारी गरेको छ ।’

दुई कारणले डिपो सारिँदै
सिनामंगलमा ५० वर्षअघि निर्माण भएको हवाई इन्धन डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको हो ।
विमानस्थलको मास्टर प्लानअनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाइदैछ । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल रनवे नजिकै समानान्तर ट्याक्सी वे (प्यारालाल ट्याक्सी वे) निर्माण गर्दैछ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठकन (आइकाओ) र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।
यस्तै अन्तर्राष्ट्रिय मापदण्डअनुसार रनवे र इन्धन डिपोबीचको दूरी कम्तिमा १९१ मिटर हुनुपर्छ । तर हाल विद्यमान डिपो र रनवेबीचको दूरी १५० मिटर मात्रै छ ।
त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप पनि निर्माण गर्दा डिपोको सम्पूर्ण संरचना हटाउनुपर्ने भएको छ ।
ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपका लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो ।
अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगट्ने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तरण नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने औंल्याइएको छ ।
‘समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न अहिले भएको निगमको डिपोको सम्पूर्ण क्षेत्रफल खाली गराउनुपर्ने बाध्यता छ,’ क्यानका प्रवक्ता पाण्डेले भने, ‘त्यो खाली भएको अवस्थामा मात्रै ती दुवैको भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाउन सकिन्छ ।’
ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपको काम कोटेश्वरतर्फबाट हुँदै अहिले सिनामंगलस्थित निगमको हवाई इन्धन कार्यालयको माथिल्लो ट्याँक डिपोनजिक पुगेर रोकिएको छ । माथिल्लो ट्याँक डिपो त्यहाबाट नसारिंदासम्म ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपको निर्माण कार्य अघि बढ्न सक्दैन ।
यस्तै विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको उक्त डिपोका कारण विमानस्थल र जहाजहरु समेत उच्च जोखिममा रहेको बताइएको छ । डिपो नजिकै घना वस्ती रहेको सिनामंगल र जागृतीनगर पनि छ ।
आइकाओ (नागरिक नागरिक उड्डयन संगठन) को सेफ्टी मापदण्ड विपरीत रहेको उक्त हवाई इन्धनको डिपो त्यहाँबाट हटाउन हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले निगमलाई पत्राचार गर्दैआएको थियो ।
बस्ती र जहाजको सुरक्षाको हिसावले उक्त डिपो अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपोका प्रमुख प्रदिप यादवले पनि स्वीकार गरेका छन् । ‘उक्त डिपो घना वस्ती र आइकाओको सेफ्टी मापदण्ड विपरीत स्थानमा रहेकाले तत्कालै सार्नुपर्ने हुन्छ,’ डिपो प्रमुख यादवले भने,‘डिपोका कारण भवितव्यमा कुनै घटना भयो भने त्यसले स्थानीय बस्तीमा ठूलो जनधनको क्षति पु¥याउनुका साथै जहाजहरुलाई समेत प्रभाव पार्न सक्छ ।’
गत साउनमा सौर्य एयरको जहाज अहिले भएको डिपोको ठीक विपरीत पूर्वी क्षेत्रमा खसेर दुर्घटना भएको थियो । त्यो जहाज दक्षिणी क्षेत्रमा खसेको भए ठूलो घटना निम्तिन सक्थ्यो ।
डिपोको विषयलाई सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने औंल्याइएको छ । त्रिभुवन विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय विमानको भयानक दुर्घटना भएको थियो । टर्किस एयरलाइन्स र विमान बंगलादेशको जहाज दुर्घटना भएको थियो ।
टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठूलो क्षति हुन सक्थ्यो ।
यादवका अनुसार विश्वमा सबैभन्दा बढी विमानस्थलको रनवे (एयरपोर्ट) निर्माण गरेको जर्मनीको हंसा कन्सलटेन्टले समेत त्रिभुवन विमानस्थलको रनवेसँगै टाँसिएको हवाई इन्धन डिपोका कारण विमानस्थल उच्च जोखिममा रहेको छ ।
उनका अनुसार अधिकांश विमान दुर्घटना टेकअप र ल्याण्डिङ्गको क्रममा चिप्लेर दायाँ–बाँया पुगेर हुने गर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसँगै टाँसिएको डिपो छ ।
हाइड्रेन्ट सिस्टमसहित १५ हजार किलोलिटरको फ्युल डिपो
सुरक्षाको दृष्टिकोणले हंसा कन्सलटेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानअनुसार विमानस्थलको उत्तर पश्चिमको गुहेश्वरीस्थित गोल्फ कोर्स नजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानेको छ ।
गहिरो स्थानमै भर्टिकल ट्यांकीसहितको डिपो निर्माण गर्ने निगमको तयारी छ । अहिलेको रनवेबाट ५ सय मिटर गहिराईमा त्यो ट्यांकीसहितको डिपो निर्माण हुने भएकाले भविष्यमा कुनै पनि प्रकारको जोखिम निम्तन नसक्ने निगमको दाबी छ ।
विमानस्थलको मास्टर प्लानमा अहिले डिपो निर्माणको लागि छुट्याइएको जग्गाको ठिक दक्षिणी भागमा अन्तर्राष्ट्रिय उडानका विमानहरु राख्न पार्किङ्ग निर्माण गर्ने योजना समावेश गरिएको छ । त्यहाँ अत्यन्त महत्वपूर्ण व्यक्तिहरुको लागि भीभीआईपी कक्षसहित अन्तर्राष्ट्रिय विमान टर्मिनल निर्माण गरिनेछ ।
उक्त क्षेत्रमा हवाई इन्धनको माग र खपत अत्यधिक हुने भएकाले सोही स्थानमा निगमको डिपो निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । मास्टर प्लानले फ्युल हाइड्रेन्ट सिस्टमसहित फ्युल डिपो निर्माण गर्नुपर्ने योजना तयार छ ।

नयाँ स्थानमा ३–३ हजार किलोलिटर क्षमताको ५ वटा ट्याँक गरी कूल १५ हजार किलोलिटर क्षमताको डिपो निर्माण हुनेछ ।
हाल सञ्चालनमा रहेको विद्यमान हवाई इन्धन डिपोमा ७६ लाख ४० हजार लिटर क्षमताकोे डिपो छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरको ३, ७ सय ६० किलोलिटरको ३ र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन भण्डारण गर्ने भाँडो छ ।
प्रतिक्रिया