जीवन बिमा कम्पनीको सुपरीवेक्षण गर्दै प्राधिकरण, ‘डमी एजेन्ट’ बनाएर क्यास ब्याक भएको आशंका

3.7k
Shares

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुमा ‘क्यास ब्याक’ (बिमा गर्नेलाई कमिसन) दिने गैरकानुनी अभ्यासको डरलाग्दो स्थिति देखिएपछि नियामक बिमा प्राधिकरणले जीवन बिमा व्यवसायको पनि सुपरीवेक्षण गर्ने भएको छ ।

निर्जीवन बिमा कम्पनीले ‘क्यास ब्याक’ दिने गरेको र बिमा क्षेत्र ध्वस्त बनाएको गुनासो बढेपछि प्राधिकरणले स्थलगत निरीक्षण तथा सुपरीवेक्षण सम्पन्न गरिसकेको छ ।

हालैमात्र १४ वटा निर्जीवन बिमा कम्पनीको स्थलगत सुपरीवेक्षण सम्पन्न गरेको प्राधिकरणले अधिकांश बिमा कम्पनीमा ठूलो मात्रामा क्यास ब्याकको धन्दा चलिरहेको फेला पारेको छ । निर्जीवन बिमा कम्पनीको गैरकानुनी धन्दा फेला पारेपछि प्राधिकरणले जीवन बिमा कम्पनीमा पनि यहि किसिमको अवस्था हुनसक्ने आँकलनसहित निरीक्षण तथा सुपरीवेक्षणको तयारी गरेको हो ।

‘निर्जीवन बिमा कम्पनीको अनुगमनका क्रममा बिमा व्यवसाय क्यास ब्याकका कारण ध्वस्त भएको फेला पर्यो । बिमकले भित्रभित्रै यति ठूलो मात्रामा गैरकानुनी काम गरिरहेका छन् भन्ने अनुमान हामीले पनि गरेका थिएनौं,’ प्राधिकरण स्रोतले क्लिकमान्डसँग भन्यो, ‘निर्जीवनमा यो अवस्था भेटिएपछि जीवन बिमातर्फ पनि चुप बस्ने अवस्था छैन ।’

स्रोतले जीवन बिमा व्यवसायतर्फ भने डमी एजेन्ट खडा गरेर क्यासब्याक हुने गरेको गुनासो बढी मात्रामा आइरहेको जानकारी दियो ।

निर्जीवन बिमामा क्यास ब्याकवापतको रकम बिमा गर्ने व्यक्तिसम्म नै पुगेको देखिएको छ । जीवन बिमामा भने बिमितसम्म भन्दा पनि कर्मचारीहरुको तहसम्म मात्रै क्यास ब्याकवापतको रकम फिर्ता हुने गरेको आशंका प्राधिकरणले गरेको छ ।

खासगरी, जीवन बिमा कम्पनीहरुले डमी एजेन्ट खडा गरेर उनीहरुलाई खर्च गरेको देखाई क्यास ब्याक गर्ने गरेको स्रोत बताउँछ ।

‘जीवन बिमातर्फ डमी एजेन्टमार्फत् व्यवसाय ध्वस्त बनाइएको छ । अर्थात् जीवन बिमामा पनि निर्जीवनमा जस्तै गैरकानुनी रुपमा पैसा फिर्ता हुने स्थिति देखिन्छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘अब यहि साउनभित्र नै जीवन बिमा कम्पनीहरुको सुपरीवेक्षण गर्ने योजनामा प्राधिकरण छ ।’ स्रोतले निर्जीवनमा क्यास ब्याकमा अनुगमन गरेजस्तै जीवन बिमामा पनि डमी एजेन्टको विषयमा केन्द्रीत भएर अनुगमन गर्ने तयारी भइरहेको जानकारी दियो ।

व्यवसाय ल्याएबापत् बिमा अभिकर्ताले निश्चित प्रतिशत कमिसन पाउने व्यवस्था प्राधिकरणले नै गरेको छ । तर, नियम भन्दा बाहेक कुनै बिमा कम्पनीले व्यवसाय ल्याएमा यति प्रतिशतसम्म क्यास ब्याक दिन्छु भनेर लोभ देखाउँछ र आफूतर्फ आकर्षित गर्छ । उक्त क्यास ब्याक पाउने लोभमा सो कम्पनीमा बिमा गराइन्छ र बिमा कम्पनीले त्यसबापत क्यास ब्याक दिने गर्दछन् जुन अवैधानिक हो ।

यसरी, क्यास ब्याक गरिएको खर्च नदेखियोस् भनेर जीवन बिमा कम्पनीहरुले सर्भेयर शुल्क बढी देखाउनेदेखि डमी कर्मचारी खड (नभएको कर्मचारी देखाउने) गरेर भुक्तानी गरेको प्राधिकरणको भनाइ छ । यो स्थितिलाई रोक्नका लागि अनुमन तथा निरीक्षणको काम गर्ने योजनामा प्राधिकरण अगाडि बढेको हो । हालको बाह्य मूल्यांकनबाट प्राधिकरणले बिमा कम्पनीले डमी एजेन्ट खडा गर्ने र उनीहरुलाई तलब तथा अन्य सुविधा दिएको देखाएर क्यास ब्याकको रकम फिर्ता गर्ने गरेको अनुमान गरेको छ ।

निर्जीवन बिमामा गहिरो मात्रामा रहेका क्यास ब्याक लगायतका अन्य विकृती र गैरकानुनी गतिविधि जीवन बिमा कम्पनीमा छैनन् भनेर बस्न सक्ने स्थिति नरहेकाले उनीहरुमाथि पनि निरक्षण गर्ने योजनामा प्राधिकरण अगाडि सरेको हो । प्राधिकरणले जीवन बिमा कम्पनीको निरीक्षणका क्रममा डमी एजेन्ट खडा गरेको विषयमा केन्द्रीत भएर अन्य विषयलाई पनि नियाल्ने योजना बनाएको छ ।

बिमा प्राधिकरणको सम्पति बिमा निर्देशन, २०८० मा बिमालेखको बिमा शुल्कमा कुनै प्रकारको छुट (डिस्काउन्ट), रिहायत, कटौति वा सहुलियत दिन नपाइने व्यवस्था छ । तर, बिमा अभिकर्ताको प्रयोग नगरी सिधै बिमालेख बिक्री (प्रत्यक्ष बिमा) गरिएको अवस्थामा पाँच प्रतिशत वा अभिकर्ता प्रयोग गर्दा अभिकर्ताले पाउने रकम बराबरको रकम छुट प्रदान गर्न भने बाधा नपुग्ने उल्लेख छ ।

यद्यपि, प्राधिकरणले क्यास ब्याकको परिकल्पना भने गरेको छैन । त्यसैले यसलाई प्राधिकरणले गैरकानुनी र एक किसिमको अपराधिक गतिविधिको रुपमा बुझ्ने उल्लेख गर्दै आएको छ । निर्जीवन व्यवसायको निरीक्षणबाट बिमा कम्पनीले फर्जी बिल प्रस्तुत गर्ने, नभएका कर्मचारी देखाइ खर्च देखाउने र सर्भेयर शुल्कको समेत मनपरी विवरण तयार पार्ने कार्य गरी क्यास ब्याकवापतको रकम भुक्तानी दिने गरेको फेला परेको थियो ।

क्यास ब्याकको रकम सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन बिमा कम्पनीले व्यवस्थापन खर्च, गेस्ट इन्टरटेनमेन्ट (आगन्तुकमा लाग्ने खर्च) र व्यवसाय प्रवद्र्धनका शीर्षकमा बढी लागत देखाउने, बिमितसँग मिलेमतो गरेर बढी दाबी देखाउने गरेको भेटिसकेको छ।

यस्तै, काल्पनीक कर्मचारी सिर्जना गरेर खर्च देखाउने, सर्भेयर शुल्कका नाममा रकम तान्ने, भेन्डरहरूसँग मिलेर नक्कली बिलमार्फत् रकम बाहिर लैजाने अवस्था निर्जीवन बिमा कम्पनीहरुमा देखिएकाले यो अवस्था जीवन बिमा कम्पनीमा पनि हुने आँकलन प्राधिकरणको छ । तथापि, यसको पनि स्थलगत अध्ययन तथा सुपरीवेक्षणबाट वास्ताविक तथ्य बाहिर आउने देखिन्छ।

बिमा क्षेत्रमा यी र यस्ता किसिमका गैरकानुनी गतिविधिहरु धेरै मात्रामा हुने गरेको भन्दै प्राधिकरणमा गुनासा तथा उजुरीहरु पुग्ने गर्दछन् । नेपाली बिमा कम्पनीहरुमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा, आफ्नो व्यवसाय र क्लाइन्ट (बिमा गर्नेको संख्या) बढी देखाउने होडबाजीका कारण पनि यो किसिमको समस्या देखिने गरेको छ ।

साथै, बिमा प्राधिकरणले पनि गलत गरेकालाई कारबाही नगर्ने, कुन कम्पनीले कस्ता गल्ती र लापरबाही गरेको छ भन्ने कुरा बाहिर नल्याउने गर्दा पनि यस कार्यमा बिमकहरु हौसिएका देखिन्छन् । अझ, राष्ट्रिय बिमा कम्पनीले पुनर्बिमा नै नगरेर नागरिकको लगानीमाथि बदमासी गरिरहेको विषय पनि प्राधिकरणले निर्जीवन बिमा कम्पनीको सुपरीवेक्षणका क्रममा हालैमात्र फेला पारेको छ ।

यो स्थितिबाट पनि नियामक प्राधिकरण नियमनमा कमजोर रहेको देखिन्छ । ‘प्राधिकरणले हरेक बिमा कम्पनीको निरीक्षण गर्ने र कारबाही गर्ने काम गर्दै आएको छ । तर, हामी त्यसको जानकारी बाहिर नल्याउने भएर केही नगरेको जस्तो लागेको मात्रै हो,’ प्राधिकरणकै एक उच्च अधिकारीले भने, ‘अन्यथा, प्राधिकरणबाट बिमा क्षेत्रमा भएका हरेक गलत गतिविधिको निगरानी र कारबाही गर्ने काम हुँदै आएको छ ।’