राजनीतिको नसामा लठ्ठिँदा चरम आर्थिक संकटमा फसे मोतिलाल दुगड, ऋण तिर्न डेढ अर्बमा ‘ड्रिम प्रोजेक्ट’ बेचे


विराटनगर । व्यवसायमा फड्को मारिरहेका बेला अचानक राजनीतिमा प्रवेश गरेका व्यवसायी मोतिलाल दुगड चरम आर्थिक संकटमा फसेका छन् । राजनीतिको नसामा लठ्ठिँदा लठ्ठिँदै दुगडको व्यापार व्यवसाय चौपट्ट भएको छ ।

एकातिर बैंकको ऋण तिर्न सकेका छैनन् भने अर्कातिर साथीभाइसँग लिएको ऋण तिर्न नसकेर करोडौंका चेक बाउन्स भएका छन् । शक्तिशाली सरकारको राज्यमन्त्री भइसकेका अर्बौंको व्यापार गर्ने दुगड अहिले यतिसम्म कमजोर भइसकेका छन् कि ५-१० करोड रुपैयाँको चेक बाउन्सकै मुद्दामा जुनसुकै दिन प्रहरीले पक्राउ गर्ने अवस्था आएको छ ।

आर्थिक संकट थाम्न नसकिने अवस्थामा आएपछि दुगडले अचल सम्पत्ति बिक्री गरेर ऋण तिर्ने योजना बनाएका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिगत ऋणको बोझले थिचिएका दुगडले आफनो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा निर्माण सुरु गरेको होटल सेन्चुरियन तथा मल निर्माणकै क्रममा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई बिक्री गर्ने भएका हुन् ।

‘बैंक वित्तीय संस्था र व्याक्तिगत ऋणको भार थेग्न नसकेर आफनो ‘ड्रिम प्रोजेक्ट’ होटल सेन्चुरियन एवं मल निर्माणकै क्रममा बिक्री गर्न बाध्य भएँ,’ दुगडले क्लिकमान्डुसँग भने, ‘भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई १ अर्ब ५५ करोड रुपैयाँमा बिक्री गरेर ऋण तिर्दै छु ।’

ऋण तिर्न नसकेपछि बैंकले धितो रोक्का गरेको छ भने विभिन्न व्यक्तिलाई दुगडले काटेका चेक बाउन्स भएका छन् । दुगडले होटेलमा पार्टनर बनाउने वा १० प्रतिशतभन्दा बढी प्रतिफल दिने भन्दै ५०-६० करोड रुपैयाँ ऋण लिएका थिए । त्यतिमात्रै होइन, डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रधानमन्त्री ओलीलाई मिलाउँछु भन्दै केही व्यवसायीबाट पैसा उठाएको आरोप उनीमाथि लाग्ने गरेको छ । होटेलले काटेका करोडौंका चेक बाउन्स भएपछि जुनसुकै दिन पक्राउ पर्नसक्ने जोखिममा थिए । यद्यपि व्यवसायीहरुकै पैसा लिएकाले चेक बाउन्स हुँदा पनि दुगडले केही मौका पाए ।

दुगडले मिनबहादुर गुरुङसँग पनि करोडौं रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण तिर्न ताकेता गर्दा दुगडले होटल नै बिक्री गर्ने प्रस्ताव गरेका हुन् । गुरुङसँगै कांग्रेस कोषाध्यक्षसमेत रहेका व्यवसायी उमेश श्रेष्ठ पनि पार्टनर छन् । श्रेष्ठ प्राइम बैंकका ठूला सेयरधनी हुन् । प्राइम बैंकले दुगडको होटेल भएको धितो कम्पनी रजिष्ट्रारको कार्यालयमा रोक्का राखेको छ ।

नयाँ समूहले लिने भएपछि बैंकले पनि सहजीकरण गर्ने बताइएको छ । उक्त परियोजनामा ग्लोबल आइएमइ बैंकको पनि लगानी रहेको छ।

‘मोतिजीले पटक पटक समय मागिरहनु भएको छ उहाँको होटेलले दिएको करोडौंका चेक बाउन्स भएका छन्, उहाँले यही बैशाख मसान्तसम्ममा चुक्ता गर्छु भनेर अन्तिम समय दिनु भएको छ, अब पनि पैसा तिर्नु भएन भने प्रहरीकहाँ जानुको विकल्प छैन,’ दुगडलाई पैसा दिएका एक व्यवसायीले भने ।

यसअघि व्यवसायी दिपक मल्होत्राले पनि विराटनगर वसपार्क दक्षिण होटल रत्नासँग जोडिएको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा जमिन झापा विर्तामोड स्थित पाँच तारे होटल किङसवेरीका तत्कालीन सञ्चालक प्रकाश गौतमलाई १ अर्ब २५ करोडमा विक्री गरेर ऋण तिरेका थिए । त्यसपछि गौतमले विर्तामोडको किङसवेरी होटल क्यासिनो व्यवसायी रवि धितालाई १ अर्ब ९५ करोडमा बिक्री गरेर हाल विराटनगरमा किङसवेरी पाँच तारे होटल निर्माण गर्दैछन् ।

अढाई दशकअघि सेन्चुरी मसला उद्योग स्थापना गरेर हाल भान्साका सामानदेखि सेन्चुरी ब्राण्डका नाममा स्पाइसेज, स्न्याक्स, इनर्जी ड्रिंक, सातु लगायतका खाद्य बस्तु उत्पादन गर्दै आएका दुगडले क्यासिनो सहितको पाँच तारे होटल, व्याङक्वेट र मल सञ्चालन गरेर एकै थलोबाट सवै सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा विराटनगर ६ धरान रोडमा रहेको २४ कठ्ठा जमिनमा होटल सेन्चुरियन र मलको शिलान्यास गरेर निर्माण सुरु गरेका थिए । हाल उनको विराटनगरमा होटल ह्यारिसन सञ्चालनमा छ । यो होटल यहाँको राम्रो र महँगोमा गनिन्छ ।

भाटभटेनीका सञ्चालक गुरुङले पनि यो भवनमा पाँचतारे होटलसहित, मल र इन्टरटेनमेन्ट पार्कसमेत सञ्चालन गर्ने तयारी गरेका छन् । सेन्चुरीयन मलभन्दा करिब ५० मिटर दक्षिणमा गुरुङको भाटभटेनी सुपर मार्केट सञ्चालनमा छ । निर्माण सुरु भएको दशकमा पनि होटल सेन्चुरियन र मल निर्माण सम्पन्न हुन सकेन । यो अवधिमा अनेक आरोह, अवरोध, कोरोना कहर र आर्थिक संकट आइलाग्यो ।

‘यो बीचको समय र परिस्थितिले मलाई साथ दिएन, त्यसैले मलाई ऋणमाथि ऋण थपिदै आर्थिकरुपमा कमजोर बनायो । ऋणको यो दलदलकाट निकास लिन आफनो ‘ड्रिम प्रोजेक्ट’ बिक्री गर्न बाध्य भएँ,’ दुगडले भने, ‘मीनबहादुरजीसँग बैनास्वरुप ५० करोड रुपैयाँ लिएर व्याक्तिगत ऋण तिर्दै छु, अब प्राइम बैंक र ग्लोबल आइएमई बैंकको ऋण तिर्न बाँकी छ, १ अर्ब ५५ करोड रुपैयाँले दुवै बैंकसहित सबैको ऋण चुक्ता हुन्छ ।’

दुगडले आफ्नो कुल ऋण तथा प्राइम बैंक र ग्लोबल आइएमई बैंकको कति ऋण हो खुलाउन चाहेनन् । स्रोतको अनुसार प्राइम बैंकको मात्र सेन्चुरीयन समूहलाई २ अर्ब रुपैयाँभन्दा बढी ऋण छ । अन्य बैंक तथा वित्तीय संस्था र व्यक्तिको समेत गर्दा दुगडको ऋण ५ अर्ब रुपैयाँको हाराहारी रहेको छ ।

व्याक्तिगत केही ऋणीसहित प्राइम र ग्लोबल आइएई बैंकले निर्माणधीन सेन्चुरियन भवन र जग्गा कम्पनी रजिष्ट्रारको कार्यालयमा रोक्का गरेका कारण भाटभटेनीलाई पास गर्न समय लागेको स्रोतको दाबी छ । भवन र जमिन भाटभटेनीको नाममा मालपोतबाट पास हुन बाँकी रहेको खुलाउँदै दुगडले भने, ‘भाटभटेनीका नाममा पास गर्ने प्रक्रिया भइरहेको र त्यो कार्य चाँडै हुने छ ।’

दुगडलाई दिइएको ऋण जोखिममा

मोतिलाल दुगडले सन् १९९८ देखि मसला उद्योगमा प्रवेश गरेका हुन् । सेन्चुरी मसलाको नामले चिनिने दुगड स्पाइस एण्ड फुड प्रोडक्ट हो। उनले बिराटनगरमा ह्यारिसन सेन्चुरियन होटल सञ्चालनमा छ ।

सन् २०१५ मा कम्पनीले ६० करोड ४० लाखको कारोबार गरेका थियो । कम्पनीको कारोबार सन् २०१६ मा ७७ करोड ३० लाख,सन् २०१७ मा ९६ करोड ९० लाख हुँदै सन् २०१८ मा १ अर्ब ६ करोडको कारोबार गर्न सफल भएको थियो । त्यस्तै कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२३ को तथ्यांक नदिएर असहयोग गरेको भन्दै केयर नेपालले रेटिङ फिर्ता लिएको हो ।

उक्त कम्पनीको बैंकमा करिब १ अर्ब रुपैयाँ ऋण छ ।

५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीको अनिवार्यरुपमा रेटिङ गराउनु पर्ने कानूनी व्यवस्था छ । तर एमाले नेता समेत रहेका दुगडले १ अर्बको हाराहारीमा ऋण भएको दुगड स्पाइसेसको रेटिङ नवीकरण गराएका छैनन् । यसले गर्दा उक्त कम्पनीमा लगानी गरेका बैंकहरुको ऋण जोखिममा परेको हो ।

‘मूल्यांकनहरू निगरानी गर्न केयर रेटिङ नेपालले दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्ससँग २०२४ को जुलाई १५ र १९ मा इमेल र पत्रहरूमार्फत र जुलाई २९ मा धेरै फोन कल मार्फत बारम्बार आग्रह गर्दा पनि कम्पनीले सूचना उपलब्ध गराएको छैन, रेटिङमा ग्राहकबाट कुनै सहयोग छैन,’ केयर नेपालले भनेको छ, ‘नेपाल धितोपत्र बोर्डको विद्यमान निर्देशिका अनुसार दुगड स्पाइसेको रेटिङ फिर्ता लिइएको छ।’

केयर नेपालले दूगड स्पाइसेसलाई असहयोग गर्नेको सूचीमा राखेको छ । अब पनि सहयोग नगरे रेटिङ खारेज गरी कारबाही अघि बढाउँछ। यसअघि गरिएको रेटिङ प्रयोग गर्दा लगानीकर्ता, ऋणदाता र आम सर्वसाधारणलाई सावधान रहन केयर नेपालको अनुरोध छ ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको छ । साथै, कम्पनीको उक्त वस्तु नेपालमा मात्रै विदेशमा पनि बिक्री वितरण गर्दै आएको छ ।

राजनीतिमा लागेर मन्त्री त भए तर बिजनेस बिगारे

दुगड २०६० को दशक सम्ममा विशुद्ध उद्योगी व्यवसायी थिए । सशस्त्र आन्दोलनरत माओवादी शान्तिवार्तापछि खुला राजनीतिमा आएसँगै दुगडलाई राजनीतिमा आउने महत्त्वाकांक्षा बढ्यो । त्यो महत्त्वाकांक्षासँगै मोतिलालको औधोगिक सफलताले आरोलो यात्रा सुरु गरेको उनका सहयात्रीहरुको बुझाइ छ ।

२०६४ सालको संविधानसभा निर्वाचन अगाडि धेरै व्यवसायीहरु विभिन्न पार्टीबाट सभासदको उम्मेद्वार बनेका थिए । नेपाली कांग्रेसबाट दिवाकर गोल्छा, एमालेबाट बिनोद चौधरी समानुपातिक सांसद् बनेका थिए । २६ जना मनोनयन गर्ने कोटामा माओवादीबाट पद्म ज्योति तथा मालेको कोटाबाट राजेन्द्र खेतान सभासद् बनेका थिए ।

त्यही बेला मधेश केन्द्रित दल सद्भावना पार्टी आनन्दिदेवीबाट समानुपातिक सांसद् बन्न बिराटनगरका व्यवसायी मोतिलाल दुगड सफल भए ।

सरिता गिरीले नेतृत्वको दलले त्यो बेला २ सिट समानुपातिकबाट पाएको थियो । जसमा सरिता गिरी र दुगड सभासद् भएका थिए ।

सदभावना आनन्दीदेवीबाट सभासद् भएका दुगडले २०७० सालको संविधानसभा निर्वाचनमा आफ्नो पार्टी खोल्ने निर्णय गरे । त्यो बेला थ्रेसहोल्डको व्यवस्था थिएन । समानुपातिक सिटबाट एकजना आउने मत देशभरबाट ल्याउन सके सभासद् बनिने र मन्त्री बन्ने सम्भावना थियो । दुगडले प्रमुख पत्रिकामा फुलपेज विज्ञापन दिएर नवनिर्माण पार्टी खोलेका थिए । सो पार्टीले समानुपातिकमा १ सिट ल्याउनुपर्ने मत ल्याउन असफल भयो । आफ्नो दल खोलेर राजनीति गर्ने दुगडको सपना सपनामै सीमित भयो ।

२०७० सालको संविधानसभा निर्वाचनपछि एमालेमा केपी शर्मा ओली शक्तिकेन्द्रको रुपमा उदाउन थालेका थिए । २०७० सालको संसदीय दलको नेता हुँदै ओली एमाले अध्यक्ष बने ।

मसला उद्योग हुँदै बिरानटगरमा ह्यारिसन होटल खोलेका दुगडको होटलमा ओली बिराटनगर जाँदा बस्ने गरेका थिए । उनको होटलको उद्घाटन नै ओलीले गरेका थिए ।

बिराटनगरका एमालेका नेताहरुको सम्बन्धलाई स्थापित गरेर दुगड ओलीसँग नजिक भए । र, आफ्नो पार्टीलाई एमालेमा विलय गराए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुगड एमालेबाट समानुपातिक उम्मेदवार हुँदै सांसद् बने । प्रधानमन्त्री ओलीले उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्यमन्त्री पदमा नियुक्त गरे ।

उद्योग राज्यमन्त्रीका रुपमा कार्यभार सम्हाल्दै दुगड

नेकपामा भएको विवाद तथा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेसँगै दुगडको राज्यमन्त्रीको पद गुम्यो। राज्यमन्त्रीको पद गुमेपछि प्रधानमन्त्री ओलीले दुगडलाई मन्त्री सहरको आर्थिक सल्लाहकारमा नियुक्त गरे ।

व्यापारी दुगड प्रधानमन्त्री ओलीको किचन क्याबिनेटका शक्तिशाली सदस्य थिए । तर अहिले ओलीले पहिलाको जस्तो भूमिका दिएका छैनन् ।

२०७२ सालको भूकम्पपछि नेकपा एमालेको बल्खुमा रहेको एमालेको मुख्यालय क्षति भयो । एमालेको मुख्यालय धुम्बाराहीमा रहेको पाशाङ ल्यामु शेर्पा प्रतिष्ठानको कार्यालयमा राख्यो । पछि एमालेको कार्यालय थापाथलीमा सर्यो जुन घर दुगडले मिलाएका हुन् ।

ओलीसँगको सम्बन्धपछि शक्ति प्रदर्शनमा लाग्दा व्यापार व्यवसाय भने कमजोर बन्दै गयो । शक्तिको प्रभावमा बैंकबाट र व्यक्तिबाट अत्याधिक ऋण लिएका दुगडलाई अहिले त्यही ऋण गलपासो बनेको छ ।

दुगडले गराएका थिए २३५ व्यवसायी एमाले प्रवेश

२०७७ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार रहेका दुगडले माडबारी भोजको आयोजना गरेर २३५ व्यवसायीलाई ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गराए । जसमा ठूलो व्यवसाय नभएका उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा दुई पटकसम्म बरिष्ठ उपाध्यक्षको निर्वाचन हारेका किशोर प्रधान सहितका व्यवसायी थिए । एमाले प्रवेश गरेको दुईसातामा नै किशोर प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको संचालक पदमा नियुक्त गर्यो । प्रधानले पाएको लाभले अरु व्यवसायीहरु समेत लोभिएर एमाले प्रवेश गर्न थाले ।

पार्टी प्रवेश गर्ने केही व्यवसायीको कारोबार ठूलो छ अरु भने सामान्य खाले व्यवसाय गर्ने व्यापारी हुन् । तर, दुगडले व्यवसायीहरुलाई कर लगायतका अन्य लफडामा सरकारले सहयोग गर्ने भन्दै पार्टी प्रवेशका लागि दबाब दिन्थे ।

‘कर सरका लफडा मिलाइदिन्छु एमाले प्रवेश गर्नुहोस्,’ दुगडको भनाइ उदृत गर्दै अर्का व्यवसायीले भने, ‘नत्र पछि सहयोग पाइएन भन्न पाइँदैन नि ।’

दुगडको यो धम्कीपूर्ण आग्रहले व्यवसायीहरु आजित भए पनि मुखै खोलेर भन्न भने सकेका थिएनन्।दुगडले खासगरी माडवारी समूदायलाई लक्षित गरी पार्टी प्रवेश गर्न दवाव बढाएका थिए ।

उद्योग व्यवसायमा फष्टाउँदै गरेका दुगड एकाएक राजनीतिमा आर्कषित भएसँगै उनका उद्योग व्यवसाय आरोलो लागेको उनी निकट उद्योगीहरु बताउँछन् ।

‘राजनीतिमा लागेर एमाले अध्यक्ष ओली वरपर फन्को लगाउँदा उनमा अहमता बढ्यो । त्यो अहमताले आफनो कर्मथलो उद्योग र व्यापारलाई बिर्सियो उनलाई नजिकबाट चिन्ने एक उद्योगी भन्छन्, ‘ओलीसँगै उठबस गर्दा हामीलाई समेत नचिनौला झैं गर्थे मोतिलाल ।’

ती उद्योगीका अनुसार मोतिलालको आर्थिक व्यवहार यतिसम्म बिग्रिँदै गयो कि साथीभाई र बैंकले पनि उनलाई नपत्याउने स्थिति भइदियो। उनले भने, ‘मोतिलालले राजनीतिमा लागेर आफ्नो नामका अगाडी पूर्वराज्यमन्त्रीको पगरी त थपे तर फष्टाउँदै गरेको आफ्नो उद्योग व्यापार चौपट्ट पारे ।’

को को व्यवसायी प्रवेश गरेका थिए एमाले ?

किशोर प्रधान, हितेश गोल्छा, अजय सराबगी, ललित अग्रवाल, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सिताराम अग्रवाल वकिल, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, ओम प्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत, सूचीमा दिलिप जैन, नरेश कुमार सरिया, पाइला समूहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान लगायतका व्यवसयाीहरु एमाले प्रवेश गरेका थिए।

त्यसैगरी, आशुतोष पटुवारी, राकेश कुमार जालान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिव कुमार शर्मा, रमेश पन्सारी, दधिराम सापकोटा, दिपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्र बथवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे, उषा धनावत पनि एमाले प्रवेश गरेका थिए ।

त्यस्तै, चिराग लोहिया, जिवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठ अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर लगायत पनि एमाले प्रवेश गरे ।

यस्तै पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, अजय सराबगी, ओम प्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत, दिलिप जैन, नरेश कुमार सरिया, पाइला समुहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान, आशुतोष पटुवारी, राकेश कुमार जालान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिव कुमार शर्मा, रमेश पन्सारी, दधिराम सापकोटा, दिपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्र बथवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे छन् ।

उषा धनावत, अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर, चिराग लोहिया, जिवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठ एमाले प्रवेश गरेका थिए ।