व्यवसायीको मनोबल बढाउन प्रधानमन्त्रीले मलाई मन्त्री बनाउनु भएको होः उद्योग राज्यमन्त्री दुगडको अन्तर्वार्ता



सेञ्चुरी मसलाको  स्वाद अधिकाशं नेपालीको जिब्रोमा झुण्डिएको छ । सोही मसला उद्योगका संचालक मोतिलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्योग वाणिज्य तथा आपूर्तिराज्यमन्त्रीको जिम्मेवारी दिए । मसला उद्योगमा पाएको सफलतासँगै दुगडले बिराटनगरमा तारे होटल समेत खोलेका छन् । २०६४ सालमा सदभावना पार्टीबाटसांसद् बनेका दुगडले २०७० सालमा नवनिर्माण नेपाल पार्टी नाम गरेको राजनीतिक दल पनि खोलेका थिए । २०७१ सालमा तत्कालीन नेकपा एमाले प्रवेश गरेका दुगड कम्युनिष्ट पार्टीमा प्रवेश गरेको ५ वर्षमा नै राज्यमन्त्री बन्न सफल भए । प्रधानमन्त्री ओलीसँग निकट व्यवसायीमा चिनिने दुगड उद्योगी व्यवसायीको खस्केको मनोबल बढाउन प्रधानमन्त्रीले आफुलाई सो जिम्मेवारी दिएको बताउँछन् । यसै विषयमा केन्द्रित रहेर राज्यमन्त्री दुगडसँग क्लिकमाण्डूले गरेको कुराकानीः

व्यवसायमा संलग्न व्यक्ति सांसद् हुँदै मन्त्री बन्नुभएको छ । कस्तो लागेको छ ?

म उद्योग व्यवसायमा संलग्न भएपनि राजनीतिमा लागेको १० वर्षभन्दा बढी भइसक्यो । २०६४ मा पनि सांसद् थिए । आफ्नो पार्टी पनि बनाए । अहिले मलाई प्रधानमन्त्रीज्यूले विश्वास गरेर उद्योग तथा वाणिज्य आपूर्तिराज्यमन्त्रीको जिम्मेवारी दिनु भएको छ । प्रधानन्त्रीको विकासको ऐजेण्डालाई पुरा गर्न काम गर्ने हो ।

सरकारसँग अहिले धेरै उद्योगी व्यवसायी डराएका छन् । उद्योग/व्यवसाय सञ्चालन गरिरहेको व्यक्ति नै उद्योग राज्यमन्त्री बनेपछि व्यवसायीहरु डराउनुपर्ने अवस्थाको अन्त्य होला कि नहोला ?

जो व्यवसायीले राम्रोसँग व्यवसाय गरेको छ । गलत नियत राखेर व्यवसाय गर्दैन, त्यो व्यवसायी कहिलेपनि डराउनु पर्दैन । म आफु उद्योगी÷व्यवसायी नै भएको हुँदा नेपालका उद्योगी व्यवसीको दुःख पीडा राम्रोसँग बुझेको छु । उद्योगी व्यापारीहरु राम्रो काम गरेर हिँडेमा सरकारले प्रोत्साहन गर्छ । म उद्योगी व्यवसायीलाई सहज हुने बाटो बनाउँछु ।

सरकारसँग उद्योगी व्यवसायीको विश्वासमा संकट देखिएको छ, त्यसलाई बढाउन के गर्नुहुन्छ ?

अहिले उद्योगी व्यवसायीको मनोबल खस्केको साँचो हो । उद्योगी व्यवसायी प्रोत्साहन हुन सकेका छैनन् । नेपालको आर्थिक विकासमा निजी क्षेत्रको सबैभन्दा ठूलो योगदान हुने हुन्छ । उद्योगी व्यवसायीको प्रतिनिधि भएर नै मैले उद्योग तथा व्यवसायीले चाहिने मन्त्रालयमा प्रतिनिधित्वि गर्दै छु ।

मलाई मन्त्री भएर कमाउनुपर्ने केही छैन । मेरो आफ्नो नै व्यवसाय छ । देशको विकास गर्नको लागि नै व्यवसाय भएको व्यक्ति नै राजनीतिमा होमिएको हो । म आफु उद्योगी व्यवसायीको लागि काम गर्छु । मेरो लागि चुनौती पनि छन् । नेपालका इतिहासमा उद्योग र व्यवसाय चलाएको व्यक्ति मन्त्री भएर आएको छु ।

मेरो लागि अपेक्षा गर्नेहरु बढी छन् । र, त्यो अनुसार काम गर्न सकेन भन्ने चुनौती थपिएको छ । मलाई सहयोग गर्नका लागि सबैको सहयोग चाहिन्छ । तपाईहरु संचारमाध्यमको पनि सहयोग चाहिन्छ ।

तपाई मन्त्री बन्नुअघि सांसद् पनि हुनुहुन्थ्यो, सरकारसँग व्यवसायी डराउनुको खास कारण के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकास गर्ने एजेण्डा लिनु भएको छ । त्यसमा साथ दिने हो । कतिपय अवस्थामा सरकार र उद्योगी व्यवसायीबीच ग्याप भएको कारण पनि विश्वासको संकट देखिएको हो ।

नेपालमा उद्योगी व्यवसायीलाई बि ग्रेड मान्ने सोच बढी हाबी छ । सरकार र उद्योगी व्यवसायीबीच समन्वयनको अभाव देखिएको छ । सरकारमा बस्नेहरुको नजरमा जहिले पनि उद्योगी व्यवसायीहरु कालोबजारी गर्छन्, बढी नाफा गर्छन् चोरी निकासी गर्छन् भन्ने छ ।

म आफुले सरकार र निजी क्षेत्रबीच ब्रिजको काम गर्ने छु । म आफुले नै निजी क्षेत्रका समस्या प्रधानमन्त्रीसँग राखेर समाधानको लागि पहल गर्ने छु ।

प्रधानमन्त्रीले देश बनाउने सपना बोक्नु भएको छ । त्यसमा हामीले साथ दिने हो । प्रधानमन्त्रीले नै मलाई उद्योगी व्यवसायीको मनोबल बढाउनको लागि जिम्मेवारी दिनु भएको हो । त्यो जिम्मेवारीलाई पुरा गर्ने काम गर्ने छु ।

तपाईंसँग उद्योगी/व्यवसायीले के अपेक्षा गर्न सक्छन् ?

उद्योगी व्यवसायी म आफंै नै भएको हुँदा उहाँहरुले मसँग आफ्ना समस्या निर्धक्क राख्न सक्नुहुन्छ । त्यो समस्या समाधान गर्न पहल गर्ने हो ।


पुष्प दुलाल