चाउचाउ, कुकिज उत्पादनमा थप ८० करोड लगानी गर्ने दुगड ग्रुपको तयारी



काठमाडौं । दुगड ग्रुपद्वारा सञ्चालित दुगड स्याइसेस एन्ड फुड प्रोडक्ट प्रालिले ८० करोड थप लगानी गर्ने भएको छ । कम्पनीले ८० करोड लगानीमा विभिन्न प्रकारका वस्तु उत्पादन गर्ने गरी थप लगानी गरेको हो ।

दुगड ग्रुपले हालै मात्रै ८० करोड लगानीमा मोरङको बुढीगंगा गाउँपालिकामा उद्योग दर्ता गरेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार ८० करोड लगानीमा वार्षिक १५ सय मेट्रिक टन विभिन्न प्रकारका मसला, ३ हजार मेट्रिक टन स्न्याक्स, १४० मेट्रिक टन विभिन्न प्रकारका अचार, ५० मेट्रिक टन टोमाटो केचअप, ३० मेट्रिक टन ओट्स फ्लेक्स, ३० मेट्रिक टन कर्न फ्लेक्स, ३० मेट्रिक टन चोको फ्लेक्स, ४ सय मेट्रिक टन रोस्टेड पिज, २ हजार मेट्रिक टन चाउचाउ र ५० मेट्रिक टन कुकिज उत्पादन गर्ने गरी लगानी तयारी भएको हो ।

कम्पनीले उक्त उद्योगमार्फत् २६५ जनालाई रोजगारी दिने जनाएको छ । उद्योगले आफैं फलफूल तथा सागसब्जी उत्पादन गर्नेछ । त्यसका लागि २० देखि २५ बिघा पुर्ख्यौली जमिनको प्रयोग गरिनेछ । उत्पादित फलफूल तथा सागसब्जीलाई अत्याधुनिक प्रविधिको प्रयोग गरेर प्रशोधन गरी सेन्चुरीलगायतका विभिन्न ब्रान्डका भान्सामा चाहिने वस्तु उत्पादन गरी बिक्री गरिने कम्पनीले जनाएको छ ।

उद्योगले फलफूलको जुसदेखि सुकाएर बनाउने विभिन्न आइटम र भान्सामा चाहिने तरकारीलगायत उत्पादन गर्नेछ भने ती वस्तु पूर्णरुपमा प्रांगारिक हुने पूर्वराज्यमन्त्री मोतिलाल दुगडले बताएका थिए ।

नेपालमा कृषिको ठूलो सम्भावना हुँदाहुँदै पनि नेपाल पछि पर्नु दुर्भाग्य भएको उल्लेख गर्दै उनले आफूहरु देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन लागिपरेको बताएका थिए । साथै, उनले कम्पनीले वस्तु उत्पादन गरेर खाद्य पदार्थको अभाव हुन नदिनेसम्मको योजना सुनाएका थिए ।

दुगड ग्रुपले नेपाली बजारमा सेन्चुरी ब्रान्डको विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राइ फ्रुट एन्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९९ मा स्थापना भएको कम्पनीले वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको छ । साथै, कम्पनीको ती वस्तु नेपालमा मात्रै विदेशमा पनि बिक्री गर्दै आएको छ । कम्पनीले सन् २०२२ मा ६ करोड रुपैयाँ लाभांश वितरण गरेको छ । त्यस्तै सन् २०२१ मा १ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ५ करोड रुपैयाँ लाभांश वितरण गरेको थियो ।

कम्पनीले स्न्याक्स, नमकिन, स्पाइसेस र अचार उत्पादनका विभिन्न प्रकारका कच्चा पदार्थ गहुँको पिठो, पाम तेल, पामोलिन, स्पाइसेस, प्याकेजिङजस्ता वस्तु स्वदेशीसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरी खपत गरिरहेको छ ।


क्लिकमान्डु