बागमति किनारमा शरीरमा पेट्रोल खन्याएर आगो लगाएको घटना: ‘सरी बुढा’ भन्ने सुसाइड नोट फेला



काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ मा ३२ वर्षीया कमला आचार्यले पेट्रोल खन्याइ आफैँलाई आगो लगाई आत्मदाह गरेकी छिन् । नारायणटारमा परिवारसँग बस्दै आएकी आचार्यले किराँतचोकस्थित बागमती नदी किनारमा पुगेर पेट्रोल छर्की आगो लगाएकी हुन् । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले कमला आचार्यको सुसाइड नोट फेला पारेको छ । सुसाइड नोटमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको फेला नपरेको प्रहरीले जनाएको छ ।

नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा माग्दै लेखेकी छिन्, ‘सरी बुढा ।’ साथै, उनले श्रीमानलाई खबर पुर्‍याउन आग्रह गर्दै उनको फोन नम्बर पनि उल्लेख गरेकी छिन् ।

सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा लेखिएको छ ।

आचार्य दम्पतीले कागेश्वरी मनोहरा नगरपालिका–७ मा ‘के एण्ड ए स्टेशनरी’ सञ्चालन गर्दै आएका थिए। आत्मदाह गर्नुभन्दा केही समयअघि उनले स्टेशनरीबाट केही पर रहेको स्थानमा पुगेर यो घटना घटाएकी हुन् ।

१२ बजे पेट्रोल छर्केर आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच सवा ११ बजेसम्म च्याटमा कुराकानी भएको पाइएको परहरीले जनाएकव छ । आचार्यका १३ र ३ वर्षका दुई छोरा छन् ।


क्लिकमान्डु