अदालतमा विचाराधीन मुद्दा र आचारसंहिता लत्याउँदै निगम महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढ्यो

१० जनाको संक्षिप्त सूची तयार


काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लत्याउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल वायुसेवा निगमका महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढाएका छन् ।

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले संक्षिप्त सूची बनाएर प्रक्रिया अगाडि बढाएका छन् ।

पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा निगमको महाप्रबन्धक छनोट समिति बनेको छ । समितिले गत २७ कात्तिकमै महाप्रबन्धक नियुक्तिको लागि आवेदन मागेको थियो । छनोट समितिले महाप्रबन्धकको नियुक्तिको लागि कार्यविधि बनाएर प्रस्ताव आह्वान गरेको थियो । १६ जना आवेदकले आवेदन दिएसँगै निगमका पूर्वकर्मचारी अच्युतराज पहाडीले विज्ञलाई छेक्न खोजेको भन्दै ६५ वर्षे उमेरहद नराख्न भन्दै सर्वोच्चमा रिट निवेदन दिएका छन् ।

पहाडीको रिटका कारण हालसम्म रोकिएको महाप्रबन्धक नियुक्तिमा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउने भन्दै ३० पुसमा पेशी तोकेको थियो । उक्त दिन हेर्न नभ्याइएको कारण अब उक्त मुद्दाको पेशी आगामी फागुन ४ को लागि तोकिएको छ । उक्त दिन अन्तिम फैसला नै आउने भएकोले सो समयसम्म पर्खनुपर्ने बुझाइ कानून व्यवसायीको छ ।

कानून व्यवसायी हरि बस्नेतका अनुसार अन्तिम फैसला आउने भएपछि र यही रिटकै कारण हालसम्म रोकिएको महाप्रबन्धक नियुक्ति अन्तिम फैसलासम्म कुर्नुपर्ने बताए । उनका अनुसार महाप्रबन्धक नियुक्ति अगाडि बढाउँदा सर्वोच्चबाट रिट निवेदकलाई पनि समावेश गरेर जानु वा विज्ञलाई नरोक्ने गरी माथिल्लो उमेरहद नलगाउने भन्ने फैसला आयो भने के हुन्छ ?
अधिवक्ता बस्नेतका अनुसार निगमको महाप्रबन्धक नियुक्तिमा पावर डेलिगेट गरेर रिडेलिगेट भएको छ । त्यसो गर्न नमिल्ने अवस्था देखिएको छ । तर यसको मुद्दामा अग्राधिकारको पेशी नै तोकिसकिएकोले सम्बन्धित कार्यालयले नै बुझ्नुपर्ने विषय भएको पनि अधिवक्ता बस्नेतले बताए ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले पनि अन्तिम फैसलाकै मिति तय भइसकेपछि यसको प्रक्रियामा हतार गरेर संक्षिप्त सूची सार्वजनिक गरिहाल्नुपर्ने थिएन । यसअघि मुद्दामा अदालतको अवहेलना लाग्ने अवस्था हुन सक्छ । सम्बन्धित कानून व्यवसायीले व्याख्या गरेर यसलाई टुंगो लगाउन सक्ने पनि उनको भनाइ छ ।

छनोट समितिका एक सदस्यले भने अन्तिम फैसला कुर्न गरेको आग्रहलाई पर्यटन सचिव निरौलाले मन्त्रालयलाई जानकारी नभएको, रोक्नुपर्ने आदेश नदिएको र निर्वाचन आचारसंहितासमेत नलाग्ने भन्दै अगाडि बढाउने निर्णय गरेको बताए । ती सदस्यले केही समय रोक्नुपर्ने गरी दिएको सुझावलाई पर्यटन सचिवले बेवास्ता गरेको पनि बताए ।

पर्यटन मन्त्रालयले भने शुक्रबार साँझ नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ । मन्त्रालयले १६ जना आवेदकमध्येबाट १० जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको संक्षिप्त सूचीमा उपेन्द्रबहादुर कार्की, टंकनिधि दाहाल, डा. दीपकप्रसाद बास्तोला, दीपुराज ज्वारचन, डा. भीमबहादुर चन्द, योगराज कँडेल शर्मा, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, संजयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत छन् । यी आवेदकहरूलाई माघ १४ गते र १५ गते बिहान ८ बजे र ३ बजे आफ्नो प्रस्तुतीकरणसहित अन्तर्वार्ताको लागि बोलाएको छ ।

पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वको छनोट समितिले आवश्यक प्रक्रिया पूरा गर्ने र अन्तिम तीन जनाको सूची तयार पारेर मन्त्रिपरिषद्लाई दिनेछ । मन्त्रिपरिषद्ले निर्वाचन आयोगको स्वीकृति लिएर आचारसंहिता लागेको अवस्थामा पनि नियुक्त गर्न पाउने भएकोले छनोट चरणको काम पूरा गर्न खोजेको पर्यटन मन्त्रालयकै एक उच्च अधिकारीले बताए ।