
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बिहिबार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको लागि छलफल गर्न बोर्ड बैठक बोलाएपनि त्यसमा निर्णायक छलफल भने हुन सकेन । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वनको लागि छलफल गर्ने र आवशयक निर्णय गर्ने भन्दै बिहिबार साँझ धितोपत्र बोर्डको सञ्चालक समिति बैठक बसेको थियो ।
५ पुस २०८१ मा नेपाल सरकार मन्त्रिपरिषद्ले दिएको निर्देशन कार्यान्वयन सन्दर्भमा छलफल गर्ने भन्दै बोर्डले बिहिबार साँझको लागि सञ्चालक समिति बैठक आह्वान गरेको थियो । मन्त्रिपरिषद्ले ५ पुसमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको सन्दर्भमा शिवाकोटीको नेतृत्वको अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
शिवाकोटी नेतृत्वको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सँगै नेपाल स्टक एक्सचेञ्जको पुनरसंरचना पनि सँगसँगै अघि बढाउनुपर्ने निष्कर्ष सहित प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन कार्यान्वयनको लागि आवश्यक सुझाव सहित पेश गर्न भन्दै धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डकै सञ्चालक समितिको नेतृत्वमा अर्को समिति बनाएका थिए ।
शिवाकोटीको प्रतिवेदन कार्यन्वयन गर्नको लागि बोर्डमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोदकुमार भट्टराई नेतृत्वमा कार्ययोजनासहितको सुझाव पेश गर्ने भन्दै समिति गठन गरेका थिए । उक्त समितिले १ महिना अघि नै बोर्ड अध्यक्षलाई कार्ययोजना सहितको प्रतिवेदन बुझाएपनि सञ्चालक समितिमा पेश हुन सकेको थिएन । उक्त समितिले नयाँ स्टक एक्सचेञ्जभन्दा पनि नेप्सेको पुनरसंरचनाको सन्दर्भमा कसरी अघि बढ्न भन्ने विषयमा कार्ययोजना पेश गरेको छ ।
‘नेप्सेको पुनरसंरचना गर्ने विषय सहज छैन । तर नयाँ स्टककको लाइसेन्स पनि दिनुपर्नेछ,’ स्रोतले भन्यो, ‘नेप्सेका पुनरसंचरनाको सन्दर्भमो उक्त प्रतिवेदनको आधारमा सरकारलाई आवश्यक प्रक्रियाको लागि प्रत्राचार गर्ने र नयाँ स्टक एक्सचेञ्जको फाइल खोल्ने तयारी हो ।’
बोर्ड अध्यक्ष श्रेष्ठले बिहिबार नै उक्त निर्णय गर्ने तयारी सहित बैठक बोलाएका थिए । बिहिबार नै निर्णय गर्ने भन्दा पनि उक्त प्रतिवेदनमा अध्ययन गर्नुपर्ने मत सञ्चालकहरुले राखेपछि बिहिबार अध्ययनको लागि प्रतिवेदन दिएर अर्को बैठकमा छलफल गर्ने निर्णय भएको बताइएको छ । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गर्ने सञ्चालक गोकर्ण अवस्थी र विज्ञ सञ्चालक भोलानाथ ढुंगाना अनुपस्थिति रहेको राष्ट्र बैंकबाट प्रतिनिधत्व गर्ने सञ्चालक पनि बैठकको अन्तिमतिर पुगेको बोर्ड स्रोतले क्लिकमान्डुलाई जानकारी दियो ।
मन्त्रिपरिषद्ले कार्यान्वयन गर्ने भने बोर्डमा पठाएको प्रतिवेदनलाई कसरी कार्यन्वयन गर्ने सन्दर्भमा कार्ययोजना सहितको सुझाव बोर्डमा पेश भएको र अर्को बैठकमा छलफल गर्ने निर्णय भएको धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् ।
प्रतिक्रिया