सरकारले खोल्यो नयाँ स्टकलाई लाइसेन्स दिने बाटो, प्रक्रिया जहाँ रोकिएको थियो त्यहीँबाट अघि बढ्ने



काठमाडौं । मन्त्रिपरिषदको बैठकले नयाँ धितोपत्र बजार (स्टक एक्स्चेन्ज)लाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने बाटो खोलेको छ । शुक्रबार बसेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया खुला गरेको हो ।

मन्त्रिपरिषदको यो निर्णयसँगै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको हस्तक्षेपपछि रोकिएको नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्नेछ ।

२०८० वैशाखमा दाहाल नेतृत्वको मन्त्रिपरिषदले नयाँ स्टकलाई लाइसेन्स दिने काम अगाडि नबढाउन बोर्ड सञ्चालक समितिलाई निर्देशन दिएको थियो । त्यतिबेला नयाँ स्टकको लाइसेन्स लिन इच्छुक कम्पीबाट प्रस्ताव आह्वान गरी मूल्यांकनको अन्तिम चरणमा थियो । प्रचण्ड सरकारले निर्णय नगरेको भए नयाँ स्टकलाई तुरुन्तै लाइसेन्स दिने तयारी बोर्डको थियो ।

नयाँ स्टकलाई लाइसेन्स दिने वा नदिने भन्ने विषयमा अध्ययन गर्न प्रचण्ड नेतृत्वको मन्त्रिपरिषले नै नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी नेतृत्वमा अध्ययन समित गठन गरेको थियो । सो समितिले हालको धितोपत्र बजार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचनासँगै नयाँ स्टकलाई पनि लाइसेन्स दिनुपर्ने सुझाव दिएको थियो । शिवाकोटी नेतृत्वले दिएको सुझाव अनुसार नै प्रचण्ड सरकारले रोकेको निर्देशन ओली सरकारले फिर्ता लिएको हो ।

अब धितोपत्र बोर्डको कबोल मूल्यांकन समितिले यसअछि प्रक्रिया जहाँ रोकिएको थियो, त्यहीँबाट काम अघि बढाउनेछ ।


क्लिकमान्डु