नीतिगत भ्रष्टाचारको सुइँको पाएपछि प्रधानमन्त्रीको निर्देशनमा रोकियो नयाँ स्टकको प्रक्रिया



काठमाडौं । प्रधानमन्त्रीको ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकिया रोकिएको छ ।

नयाँ स्टकको लाइसेन्स प्रक्रियामा नीतिगत भ्रष्टाचारको सुइँको पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रक्रिया रोकेका हुन् ।

अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफलविपरीत ल्याउन लागिएको जनाउँदै प्रधानमन्त्रीले नयाँ स्टकको लाइसेन्स प्रक्रिया रोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी, अर्थसचिव अर्जुनप्रसाद पोखरेललगायतलाई बोलाएर लिखित निर्देशन दिएका हुन् ।

नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोकिएको आचार्यले बताए ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स प्रक्रिया हिजो नै अघि बढाएको थियो । नयाँ स्टकका लागि तीनवटा कम्पनीले आवेदन दिएका थिए ।


क्लिकमान्डु