सभामूखको भूमिकामाथि आङदेम्बेले उठाए प्रश्न, संसदको चीरहरण भइराख्दा कुर्सीले जसरी टुलुटुलु हेरेको आरोप

0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले भूपि शेरचनको चर्चित कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ लाई सम्झिँदै सभामूखको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

‘यो चोटिको संसदमा केही रमाइला झाँकीहरू देख्न पाइएको छ । विगतका संसद बैठकहरूमा सत्तापक्ष र प्रतिपक्षबीच वादविवाद र चर्काचर्की हुन्थे । तर यो चोटिको संसद विल्कुलै फरक छ,’ उनले भने, ‘यहाँ सत्तापक्ष अत्यन्त शान्त, उदाहरण दिँदा नराम्रो हुन्छ कि भन्ने डर पनि लाग्या छ, तर पनि भन्न चाहन्छु– ‘मुर्दाशान्ति’ । प्रतिपक्षी आन्दोलित तर सत्तापक्षमा मुर्दाशान्तिको स्थिति छ । अनि सवालजवाफ भइरहेको छ, प्रतिपक्ष र सभामुखबीच । हामी सत्तापक्षसँग वादविवाद र छलफल गरिरहेका छौँ कि भन्ने कन्फ्यूजन भइराखेको छ ।’

उनले सभामुखले संसदको मर्यादालाई कायम राख्ने कोसिस गरेको पनि सो अनुभूति नभएको बताए । ‘हामी निरन्तर सभामुखज्यूसँग लडिरह्यौँ । मैले अहिले पनि बिर्सेको छैन सभामुखले भन्नुभएको, प्रतिपक्षको बेन्चमा हेरेर ‘कति घण्टा चाहियो ? २ घण्टा, तीन घण्टा कति चाहियो ?’ भनेको मैले बिर्सेको छैन । त्यो कति मर्यादित थियो ? तर मलाई सभामुखलाई जस्तो अधिकार छैन रुलिङ गरेर रेकर्डबाट हटाउने । मेरो मर्यादाले मर्यादित चेयरमाथि औँला उठाउन दिँदैन,’ उनले भने ।

उनले संसदको चीरहरण भइराख्दाखेरि सभामुखको कुर्सीले जसरी टुलुटुलु हेर्ने अवस्थामा बनेको भन्दै यस्तो लाचार भएको अनुभूति गरेको उल्लेख गरे ।

‘म जाँदै गर्दा म भूपी शेरचनले भन्नुभएको कविता ‘घुम्ने मेचमाथि…. यो भन्दा पछाडिको शब्द मैले बिर्सेँ, कविता मलाई याद आइराखेको छ,’ उनले भने, ‘म सभामुखज्यूमार्फत अन्तिममा एउटा कुरा भन्दै कुरा टुंग्याउउँछु । सभामुखज्यूमार्फत अत्यन्त लोकप्रिय मतका साथ चुनाव जितेर आउनुभएका मेरा सांसद मित्र डीपी अर्याललाई भन्न चाहन्छु, मैले हिँड्ने बाटोमा यति धेरै काँडाहरू पनि नरोपिदिनुस, के थाहा भोलि त्यही बाटो भएर तपाईँ स्वयम् मलाई भेट्न पनि आउनुपर्ने हुन सक्छ ।’