४ वटै जहाज सी-चेक गर्नु नपर्दा वायुसेवा निगमको व्यापारमा उछाल, साढे २ अर्बले बढ्यो आम्दानी

189
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आम्दानी पछिल्लो १० महिनामा उल्लेख्य वृद्धि भएको छ । निगमले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउन–वैशाख) सम्ममा १४ अर्ब ६९ करोड रुपैयाँ कमाएको छ । निगमले यात्रुलाई बिक्री गरेको हवाई टिकट तथा कार्गो सेवाबाट गरेको यस्तो आम्दानी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २४.९१ प्रतिशतले बढी हो ।

निगमले गत वर्ष ११ अर्ब ७६ करोड रुपैयाँ यात्रु सेवा बिक्रीबाट गरेको व्यापारमा यो वर्ष २ अर्ब ९३ करोड रुपैयाँ थप भएको निगमले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकले देखाएको छ । निगमले यस्तो आम्दानीका लागि चालू आवको १० महिनामा ५ लाख ३६ हजार यात्रुलाई सेवा दिएको छ।

निगमको यस्तो आम्दानी गत आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्ष २०८०/८१ को तुलनामा भने १ अर्ब ३७ करोड रुपैयाँ अर्थात् १० प्रतिशतले घटेको थियो ।

वायुसेवा निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार यो वर्ष निगमको अन्तर्राष्ट्रिय उडानका जहाजले नियमित उडान गरिरहेका छन् । चारवटै जहाज यो वर्ष नियमित सेड्युल्ड मेन्टेनेन्समा गएका छैनन् ।

उनका अनुसार दुई वर्षअगाडिको नियमित मर्मत आगामी असारमा वाइडबडीको हुन्छ भने न्यारोबडी आगामी आर्थिक वर्षमा मात्रै ‘सी-चेक’ मा जानेछ । गत आवको तुलनामा यो वर्ष निगमले दिल्लीमा उडान थप गरेको र उडान व्यवस्थापन मिलाएर यात्रु सेवा संख्या बढाउँदा व्यापार बढेको देखिएको पनि पुनले क्लिकमान्डुलाई जानकारी दिए ।

निगमको यात्रु उडान समेत गत वर्षको तुलनामा चालू आवको वैशाखसम्ममा ८७ हजारले बढेको छ । गत वर्ष निगमले उक्त अवधिमा ४ लाख ४९ हजार यात्रुलाई सेवा दिएको थियो ।

गत आर्थिक वर्षमा निगमको आन्तरिक उडानका जहाज लामो समय थन्किनु र अन्तर्राष्ट्रिय उडानका जहाज पनि मर्मतसम्भारका नाममा पालैपालो लामो समय थन्किनुको असर आम्दानीमा परेको थियो । चालू आवमा गत वर्षको तुलनामा यात्रु सेवा बढ्नु र व्यापारसमेत विस्तार हुनुलाई निगमले सकारात्मक रूपमा लिएको छ । आगामी आर्थिक वर्षमा अहिलेको यात्रु वृद्धिदर र व्यापारलाई अझै उचाइमा पुऱ्याउने रणनीति निगमले लिएको पनि पुनले बताए ।

निगमले गर्ने उडानमा आन्तरिकतर्फ जहाज अभाव भएको र सेवामूलक मात्रै उडान भएकाले जम्मा २१ हजार यात्रुलाई मात्रै सेवा दिएर १० करोड रुपैयाँको मात्रै व्यापार गरेको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा भने सबैभन्दा बढी यात्रु भारतको नयाँदिल्ली उडानमा हुने गरेका छन् । यो गन्तव्यमा गरेको उडानबाट निगमले १ लाख २६ हजार यात्रुलाई पछिल्लो १० महिनामा उडान सेवा दिँदा १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ ।

निगमको आम्दानीको सबैभन्दा आकर्षक गन्तव्य जापान हो । जापानको नारितामा गरेको उडानबाट निगमले पछिल्लो १० महिनामा ४ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गन्तव्यमा साउनदेखि वैशाखसम्म ६४ हजार यात्रुलाई सेवा दिएको पनि निगमले जारी गरेको तथ्याङ्कले देखाएको छ ।

नेपाल वायुसेवा निगमको चालु आव २०८२/८३ को १० महिनाको यात्रु उडान र आम्दानी विवरण

उडानका गन्तव्यहरु१० महिनाको जम्मा यात्रु संख्या१० महिनाको जम्मा आम्दानी (रु.)
आन्तरिक उडान२१,६३८१०९,३३१,२९४
जापान६३,२१९४,८३८,४९६,५८१
दुबाइ७९,७४२२,०९४,२६८,९८७
दिल्ली१२६,६६२१,२६२,२६५,२९२
क्वालालम्पुर३९,५१७८९७,७६१,१२६
दोहा८६,६०५२,३२९,५१४,३०८
बैंकक२७,९४८८१६,२७३,२६०
हङकङ१५,७८९६४४,०६३,८४९
मुम्बै२१,६५५२९३,११०,६२०
बैंगलोर२४,०७१५३५,७१२,५४८
दमाम१९,१५२६१९,१२०,३०८
ग्वान्जाओ१०,०१३२५७,२७६,०२६
जम्मा ५३६,०१११४,६९७,१९४,१९९