नयाँ स्टक एक्सचेञ्ज बारे अध्ययन गरिरहेको समितिको काम कहाँ पुग्यो ?



काठमाडौंं । नयाँ स्टकको लाइसेन्स दिन आवश्यक भए/नभएको बारे अध्ययन गर्न गठन भएको समितिले काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा वर्तमान सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजत्वमा ३ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । समितिले स्टकसँग सरोकार राख्ने सबै निकायसँग राय सुझाव लिइसकेको र प्रतिवेदन बनाउने कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

समितिले सूचना संकलन गर्ने, सरोकारवाला निकायसँग सुझाव लिने क्रम सकेको समितिका संयोजक शिवाकोटीले जानकारी दिए । सबैको सुझाव लिएर ति सुझावलाई समावेश गरेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको उनको भनाइ छ । यही सातामै प्रतिवेदन सरकारले बुझाउने तयारी समितिले गरिरहेको छ ।

नयाँ स्टकलाई लाइसेन्स दिन भन्दै बोर्डका निवर्तमान अध्यक्ष रमेश कुमार हमालले आवेदन माग गरेका थिए । तीनवटा कम्पनीको आवेदनसमेत परेको थियो । नयाँ स्टकलाई लाइसेन्स दिने बाहनामा चरम आर्थिक चलखेल भएको भन्दै आलोचना भएपछि गत वैशाखमा मन्त्रिपरिषदको बैठकले तत्कालका लागि यो प्रकृया रोक्न भनेको थियो ।

यसअघि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले तत्कालीन सांसद रामकुमारी झाक्रीको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन गरेको थियो । उक्त उपसमितिले नेपाल स्टक एक्सचेन्जलाई सुधार नगरी नयाँ स्टकको लाइसेन्स दिन नहुने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको थियो ।

उक्त उपसमितिले स्टक एक्सचेन्जमा विदेशी साझेदार भित्र्याउने, संरचनागत सुधार गरेर मात्रै नयाँ स्टक भित्र्याउन सकिने सुझाव दिएको थियो । तर त्यो सुझाव कार्यान्वयन नगरी सिधै नयाँ स्टक ल्याउन लागेपछि चौतर्फी आलोचना भएको थियो । आलोचना बढेपछि सरकारले शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको हो ।


क्लिकमान्डु