एमबीएस प्रश्न ‘आउट’: जाँच सुरू भएको ५ मिनेटमै ह्वासअपमा सुलब सरले पठाका थिए प्रश्न

973
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को व्यवस्थापन संकायअन्तर्गत मास्टर्स इन बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको ५ मिनेटमै बाहिरिएको पुष्टि भएको छ ।

साउन ८ गते भएको ‘अर्गनाइजेशनल बिहेभियर’ विषयको प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएको विषयमा अनुसन्धान गर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

‘एमबीएस फस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको ५ मिनेटमै अर्थात् दिउँसो १२:०५ बजे प्रश्नपत्रको पीडीएफ फाइल आएको थियो । उक्त ग्रुपमा १ हजार २३ जना सदस्य रहेका छन्, जसको उद्देश्य ‘एकअर्कालाई सहयोग गरौँ’ भन्ने लेखिएको छ ।

‘सुलभ सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाएको स्कृनसटहरू सार्वजनिक भएका छन् । लगत्तै विद्यार्थीहरूले उत्तर (सोलुसन) समेत माग गरेका थिए । सुलभ सरले केही समयमै प्रश्नका उत्तरहरू फोटो खिचेर पठाउँदै आगामी ‘इकोनोमिक्स’ विषयको प्रश्नपत्र पनि राति ११ बजे नै उपलब्ध गराउने आश्वासन दिएको देखिन्छ । ग्रुपमा विद्यार्थीहरूले ‘हामी जब होल्डर्सका लागि यो बेस्ट ग्रुप भयो’ भन्दै उत्साह व्यक्त गरेको र परीक्षा हलमा ढिलो छिर्ने व्यवस्थाबारे समेत छलफल गरेको पाइएको छ ।

प्रश्नपत्र सार्वजनिक भएको स्क्रिनसट बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोले गरेको प्रारम्भिक अनुसन्धानपछि आइतबार बिहान ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरिएको छ । शिक्षामन्त्रीको सचिवालयका अनुसार प्रहरीले यस विषयमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रश्नपत्र बाहिरिएपछि त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले साइबर ब्युरोलाई पत्राचार गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको थियो । सहायक डीन डा. भरत राईले परीक्षाको मर्यादा र विश्वसनीयतामा गम्भीर प्रश्न उठेको भन्दै अनुसन्धानका लागि अनुरोध गरेका थिए ।

यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले आइतबार प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सह-प्रा.डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सह-प्रा.डा. महेशराज ओझा सदस्य रहेका छन् । समितिलाई ७ कार्यदिनभित्र सत्यतथ्य निरूपण गरी प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रश्नपत्र के कसरी र कसबाट बाहिरिएको हो भन्ने पत्ता लगाई दोषीमाथि कडा कानुनी कारबाहीका लागि सिफारिस गर्न यो समिति गठन गरिएको हो ।’ अहिले यो विषय सामाजिक सञ्जालमा चर्चा र विवादको केन्द्र बनेको छ भने त्रिविको परीक्षा प्रणालीमाथि फेरि एकपटक प्रश्न उठेको छ ।